हेटौंडाका व्यवसायीद्वारा एमालेलाई धन्यवाद
हेटौंडा । अस्वभाविक कर वृद्धिविरुद्ध आन्दोलनरत् हेटौंडाका व्यवसायीहरुको सामूहिक बैठकले नेकपा एमाले मकवानपुरलाई धन्यवाद ज्ञापन गरेको छ ।
हेटौंडा उपमहानगरपालिकाले गुपचुपमै कर वृद्धि गरेपछि साउन अन्तिमबाट मकवानपुर उद्योग वाणिज्य संघ (मउवा)को नेतृत्वमा निर्माण व्यवसायी संघ, जिल्ला सहकारी संघ, होटल एसोसिएसनलगायतका संघसंस्था आन्दोलनमा थिए ।
आन्दोलनरत् व्यवसायीसँग उपमहानगरपालिकाले शुक्रबार ८ बुँदे सहमति गरेको छ ।
तत्काललाई आन्दोलन स्थगित गरेका व्यवसायीहरुले आइतबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै सहमति कार्यान्वयनमा तदारुकता देखाउन उपमहानगरलाई आग्रहसँगै नेकपा एमालेलाई धन्यवाद ज्ञापन गरेको जानकारी दिएको छ ।
मउवा संघका अध्यक्ष कृष्णकुमार अग्रवाल गुप्ताले मउवा संघको बैठकबाट एमालेलाई लिखित रुपमै धन्यवाद दिने निर्णय गरेको जानकारी दिए ।
नेकपा एमालेका ४८ जना (बहुमत) नगरसभा सदस्यले विशेष नगरसभा बोलाउन माग गरेपछि उपमहानगरपालिकाले व्यवसायीहरुसँग सहमति गरेको थियो ।
केही दिन अघिसम्म उपमहानगरपालिकाले व्यवसायीको मागअनुसार कर वृद्धिको संशोधन हुन नसक्ने स्पष्ट धारणा राख्दै आएको थियो ।
एमालेका बहुमत सदस्यले विशेष नगरसभा माग गरेको भोली पल्ट नै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र उपमहानगर कमिटीले विज्ञप्ति निकालेर व्यवसायीको आन्दोलनमा सहमति जनाएको देखाउँदै एमालेप्रति राजनीतिक प्रतिशोध पूर्ण अभिव्यक्ति दिएको थियो ।
पत्रकार सम्मेलनमा उपस्थित मउवा संघका कार्यसमिति सदस्य कृष्णराज कोइरालाले मउवा संघको बैठकमा नेकपा एमालेका मकवानपुर अध्यक्ष श्रीघर पोख्रेलसहितका नेताहरुलाई बोलाएरै धन्यवाद ज्ञापन गरेको जानकारी दिए ।
अध्यक्ष अग्रवाललले व्यवसायीहरुको आन्दोलनमा साथ र समर्थन गर्ने सम्पूर्ण राजनीतिक दललाई धन्यवाद दिएका छन् ।
आन्दोलनकारी नै एमाले भएपछि धन्यवाद त दिन परिहाल्यो नि ।