साहित्यमा ‘आफू विरुद्ध आफैं’अभियान सुरु – Nepal Press

साहित्यमा ‘आफू विरुद्ध आफैं’अभियान सुरु

काठमाडौं । साहित्यमा निरन्तर क्रियाशील स्रष्टाहरुले ‘आफू विरुद्ध आफैं’अभियान सुरु गरेका छन् । साहित्यिक क्षेत्रमा क्रियाशील स्रष्टाहरूले राजधानीमा एक कार्यक्रमबिच यो अभियानको सुरुवात गरेका हुन् । यो अभियानले तीन वटा उद्देश्य तय गरेको छ ।

समकालीन लेखनका दिशा र प्रवृत्तिगत वैशिष्ट्यबारे विमर्श गर्ने ,लेखनको विषय वस्तु र शिल्प विन्यासमा नवीनताको खोजी गर्ने तथा आफ्नै लेखनको सीमा र शक्तिबारे आत्म समीक्षा गर्ने गरी अभियान सुरु भएको हो । साहित्यकारहरु प्रशंशाको भोका हुन्छन भन्ने मान्यतालाई चिर्दै यो अभियान अघि बढ्ने बताइएको छ ।

सिर्जनात्मक अभियान बारे यसका अभियन्ता साहित्यकार आर।एम डङ्गोलले लक्ष्य र उद्देश्यबारे प्रकाश पारे । ‘यो अभियान कसैप्रति लक्षित छैन, आफ्नै लेखनप्रति लेखकहरू जिम्मेवार हुनपर्छ भन्ने उद्देश्य हो’, कवि डङ्गोलले भने ।

उनका अनुसार यो अभियानको संयोजकमा साहित्यकार नवराज रिजाल रहेका छन् ।अन्य सदस्यहरूमा आरएम डङ्गोल,छविरमण सिलवाल, होमशंकर बास्तोला ,दीपक विहिन,बोधराज पौडेल र प्रतिरोध कार्की रहेका छन् । कार्यक्रममा बास्तोलाले अभियानको उद्देश्य , लक्ष्य र गन्तव्यबारे जानकारी गराउँदै समसामयिक र समकालीन नेपाली साहित्यिक लेखनमा लेखकहरू स्वयम जिम्मेवार हुनु पर्ने धारणा राखे ।

साथै अभियानको पहिलो दिन कवि प्रतिरोध कार्कीको ‘घामको पहाड’कविता सङ्ग्रहमाथि प्रमुख वक्ताको रूपमा साहित्यकार डङ्गोलले समीक्षा गरेका थिए । उनले सङ्ग्रह भित्र रहेका कवितामाथि टिप्पणी गर्दै लेखकलाई भरपुर लेखकीय सुझाव दिएका थिए । त्यसै गरी समीक्षक बोधराज पौडेल होमशंकर बास्तोला, छविरमण सिलवाल, दीपक विहिनले कृतिमाथि टिप्पणी गरेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर