गोकर्णेश्वर उत्तरबाहिनीस्थित कान्तिभैरव गुरुकुलका बटुकहरू श्रावणी स्नान गर्दै (तस्बिरहरु) – Nepal Press

गोकर्णेश्वर उत्तरबाहिनीस्थित कान्तिभैरव गुरुकुलका बटुकहरू श्रावणी स्नान गर्दै (तस्बिरहरु)

काठमाडौं । आज देशभर हिन्दू धर्मावलम्बीहरूले रक्षाबन्धन तथा जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व धूमधामका साथ मनाउँदै छन्।

श्रावण शुक्ल पूर्णिमाका अवसरमा नव यज्ञोपवीत (जनै) एवं रक्षा सूत्र धारण गरेर सनातन वैदिक धर्मावलम्बीहरूले पवित्र नदी स्नान गरी यो पर्व मनाउँछन्।

सांस्कृतिक एवं धार्मिक मान्यता अनुसार, यस दिन तागाधारीहरूले गुरु पुरोहितबाट मन्त्रिएको नयाँ यज्ञोपवीत र रक्षा सूत्र धारण गर्ने गर्छन्।

यसले नकारात्मक तत्त्वहरूबाट सुरक्षा प्राप्त गर्ने धार्मिक विश्वास रही आएको छ। शास्त्रीय विधान अनुसार, श्रावण शुक्ल चतुर्दशीदेखि तागाधारीहरूले एक छाक मात्र भोजन गरी कपाल मुण्डन गरी चोखोनीतो व्रत बस्छन्।

श्रावण शुक्ल पूर्णिमाको दिन तागाधारीहरू बिहानै पोखरी, ताल, तलाउ, नदी, र कुण्डमा गई गाईको गोबर, खरानी, दतिउन, र सप्तमृत्तिका प्रयोग गरी पवित्र स्नान गर्दछन्। यसलाई श्रावणी स्नान पनि भनिन्छ।

स्नानपछि ऋषिहरूलाई तर्पण गरी मन्त्रिएको नयाँ यज्ञोपवीत धारण गरिन्छ। अरुन्धती सहित आठ ऋषिहरू कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ, र अगस्त्य लाई पूजा र तर्पण गर्ने परम्परा छ, जसले गर्दा यस दिनलाई ऋषितर्पणी पनि भनिन्छ।

जनैलाई ब्रह्मसूत्र अर्थात् ज्ञानको धागो पनि भनिन्छ। वैदिक गुरु परम्पराको महत्त्वलाई सम्मान गर्दै, यस दिनको विशेषता स्पष्ट रूपमा देख्न सकिन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *