राजनीतिक दस्तावेज तयार पार्न नसक्दा समाजवादी मोर्चाको बैठक अनिश्चित – Nepal Press

राजनीतिक दस्तावेज तयार पार्न नसक्दा समाजवादी मोर्चाको बैठक अनिश्चित

काठमाडौं । समाजवादी मोर्चा एक महिनासम्म राजनीतिक दस्तावेजनालाई पूर्णता दिन असफल भएको छ । सत्ताबाट बाहिरिएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मोर्चालाई सक्रिय बनाएर राजनीतिक दस्तावेज तयार गर्न कार्यदल बनाएका थिए ।

साउन १ गते बसेको मोर्चाको बैठकले समीक्षात्मक राजनीतिक दस्तावेज तयार गर्न १५ दिनको समय दिएर कार्यदल बनाएको थियो । कार्यदलमा माओवादी केन्द्रबाट देव गुरुङ, नेकपा एकीकृत समाजवादीबाट प्रमेश हमाल, नेपाल कम्युनिष्ट पार्टीबाट खड्ग विश्वकर्मा र नेपाल समाजवादी पार्टीका नेता गंगानारायण श्रेष्ठ छन् ।

कार्यदल गठनको एक महिनासम्म प्रतिवेदन तयार नहुँदा मोर्चाको बैठक बस्न सकेको छैन । दस्तावेजलाई अन्तिम रूप दिनको लागि हिजो बस्ने भनिएको बैठक अन्तिम समयमा स्थगित भयो । आज दिउँसो ३ बजे माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने भनिएपनि निश्चित नभएको माओवादी महासचिव देव गुरुङले बताए ।

उनले भने, ‘हामी दस्तावेजको अन्तिम रूप तयार गर्दैछौं । अहिलेसम्म बैठकबारे निश्चित भइसकेको छैन ।’

माओवादी, नेकपा एस, विप्लव नेतृत्वको नेकपा र महेन्द्र यादव पक्षको नेसपा संलग्न भएको मोर्चाले पार्टी एकतासम्मको लक्ष्य बनाएको छ । सत्ताबाट हटेपछि प्रचण्डले पार्टी एकताको विषयमा नेकपा एसका अध्यक्ष माधव नेपाल र विप्लवसँग पनि पटक-पटक छलफल गरिसकेका छन् । विप्लवले पनि नेकपा एसका नेताहरूसँग छुट्टै वार्ता गरिरहेका छन् ।

प्रचण्डले पार्टी एकताको लागि लचक भएर छलफल चलाए पनि नेपाल र विप्लव भने पर्ख र हेरको अवस्थामा छन् । अहिले चार दल संलग्न भएको मोर्चामा उपेन्द्र यादव नेतृत्वको जसपा नेपालसहित अन्य कम्युनिष्ट घटकलाई पनि सहभागी गराउन पहल भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर