शेयर बजारबाट एकै महिनामा उठ्यो सवा ४ अर्ब राजस्व – Nepal Press

शेयर बजारबाट एकै महिनामा उठ्यो सवा ४ अर्ब राजस्व

लगानीकर्ताको सम्पत्ति पनि करिब ११ खर्बले बढ्यो

काठमाडौं । शेयर बजार लगातार उकालो लाग्दा सरकारले वर्षभरिमा उठाउने पुँजीगत लाभकर भन्दा बढी लाभकर एकै महिनामा उठाएको छ ।

सत्ता समीकरण बदलिएसँगै शेयर बजारको अंक समीकरण बदलिएको छ । जसका कारण लगानीकर्तालाई मात्र होइन सरकारलाई पनि फाइदा भएको छ ।

नेप्सेको अंक मात्रै बढेको छैन, बजारमा कारोबार पनि बढेको छ । अहिले दैनिक जसो २३, २४ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भइरहेको छ । अहिलेसम्मकै उच्च कारोबार भनेको पौने ३० अर्ब रुपैयाँसम्म हो ।

शेयर बजारबाट गत एक आर्थिक वर्षभरिमा पनि उठ्न नसकेको राजस्व एकै महिनामा उठेको छ । अर्थमन्त्री विष्णु पौडेलले असार ३१ गते अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेसँगै बजार अघि बढिरहेको छ ।

उसो त बजार सत्ता समीकरण बदलिने र त्यसमा पनि अर्थमन्त्री एमालेको भागमा पर्ने खबरसँगै धेरै लगानीकर्ता अर्थमन्त्रीमा विष्णु पौडेल नै आउँछन् भन्नेमा ढुक्क थिए । लगानीकर्ताको विश्वास बढ्न थालेसँगै कारोबार पनि बढ्दै गयो ।

शेयर बजार अहिले बुल रनमा छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार साउन महिनामा मात्र लगानीकर्ताले सरकारलाई ४ अर्ब २३ करोड ७८ लाख ६१ हजार ८०२ रुपैयाँ पुँजीगत लाभकर बुझाएका छन् ।

सीडीएससीका अनुसार व्यक्तिगत तथा संस्थागत लगानीकर्ता, कर्पोरेट र स्टक डिलरबाट उक्त परिमाणमा लाभकर उठेको हो । जबकि गत वर्षको यसै अवधिमा (आव २०८०/०८१ साउन) ४० करोड ८ लाख ९१ हजार रुपैयाँ मात्र राजस्व उठेको थियो । गत आर्थिक वर्ष (२०८०/८१) भरिमा भने ४ अर्ब १५ करोड ३० लाख ४१ हजार रुपैयाँ पुँजीगत लाभकर लगानीकर्ताले सरकारलाई बुझाएका थिए ।

सिडिएससीका प्रवक्ता सुरेश न्यौपाने कारोबार संख्या र समग्र बजारमा भएको शेयरको मूल्य वृद्धिले पुँजीगत लाभकर बढी भएको बताउँछन् ।

सरकारलाई अर्बमा राजस्व बुझाएको लगानीकर्ताको सम्पत्ति भने खर्बौँले बढेको छ । साउन १ गते (जुलाई १६) बजार पुँजीकरण ३६ खर्ब ६६ खर्ब ६२ करोड ३८ लाख रुपैयाँ थियो ।

त्यसको एक महिनामा (साउन ३१ अर्थात् अगस्ट १५) बढेर बजार पुँजीकरण ४७ खर्ब ६५ अर्ब ९० करोड ९० लाख रुपैयाँ पुग्यो । यो बिचमा लगानीकर्ताको सम्पत्ति १० खर्ब ९९ अर्ब ६७ करोड रुपैयाँले बढेको देखिन्छ ।

शेयर बजारको बढ्दो पुँजीकरणले अहिले नेपालमा सबैभन्दा धेरै लगानी शेयर बजारमै गइरहेको पुष्टि गर्छ ।

यस अघि नेप्से उच्च बिन्दुमा रहँदा शेयर बजारमा मासिक औसत दैनिक कारोबार १२ अर्ब रुपैयाँ पुगेको थियो । अहिले दैनिक औसत २० अर्बको हाराहारीमा कारोबार भइरहेको छ । शेयर कारोबारमा लगानीकर्ताले नाफा कमाउँदा सरकारलाई निश्चित प्रतिशत रकम पुँजीगत लाभकर शीर्षक अन्तर्गत तिर्नुपर्छ ।

एक वर्षभन्दा कम अवधिका (अल्पकालीन) अर्थात् शेयर बजारबाट एक वर्ष वा सोभन्दा कम अवधि शेयर होल्ड गरेर बेच्ने लगानीकर्ताले राज्यलाई ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्छ ।

एक वर्ष वा सोभन्दा बढी अवधि (दीर्घकालीन) होल्ड गरेर बिक्री भएको शेयरको नाफाबाट लगानीकर्ताले राज्यलाई ५ प्रतिशत लाभकर तिर्नुपर्ने व्यवस्था छ । शेयर बजारको कारोबार रकममा आउने उतारचढाव सँगै पुँजीगत लाभकरमा पनि उतारचढाव आइरहेको हुन्छ ।

बजार घट्दा पुँजीगत लाभकर कम उठ्छ भने बढ्दा बढी उठ्ने गर्छ । पूँजीगत लाभ भनेको कुनै पनि पूँजीगत सम्पत्ति वा पूँजीगत दायित्वको निसर्ग गर्दा प्राप्त हुने लाभ ९नोक्सानी भए यस्तो नोक्सानी समायोजन गरी रहेको लाभ वा थप नोक्सानी समेत० लाई जनाउँछ ।

यदि खरिद मूल्यभन्दा बिक्री मूल्य कम भएको शेयरको बिक्री कारोबारमा भने नोक्सानी हुने भएकोले अग्रिम कर कट्टी गर्नु पर्दैन ।

सम्बन्धित करदाताले यस्तो नोक्सानी आय विवरण पेश गर्दा दाबी गर्न पाउँछ र लगानीको अन्य आयमा मिलान गर्न पाउँछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *