दाङको सिक्टा मावि प्रअ नियुक्तिमा कांग्रेस-माओवादीबीच विवाद – Nepal Press

दाङको सिक्टा मावि प्रअ नियुक्तिमा कांग्रेस-माओवादीबीच विवाद

रुपन्देही । दाङको राजपुर गाउँपालिकास्थित सिक्टा माविमा प्रअ नियुक्तिको विवाद बढ्दै गएपछि माओवादीले आन्दोलन घोषणा गरेको छ ।

गाउँपालिकाले निमित्त प्रधानाध्यापकको कामकाज गर्दै आएका प्राथमिक तहका राहत शिक्षक विष्णु खत्रीलाई हटाई यही साउन ३१ गते शिक्षक भरतबहादुर बस्नेतलाई निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिएको थियो । त्यसपछि माओवादीले विरोध थालेको हो ।

राजपुर गाउँपालिका अध्यक्ष शरदकुमार बुढाथोकीको ठाडो निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पाण्डे र शिक्षा शाखा अधिकृत केशव लम्सालले खत्री प्रअ हुँदाहुँदै वरीयता मिचेर भरतबहादुर बस्नेतलाई निमित्त प्रअको जिम्मेवारी तोकिएको माओवादीको टिप्पणी छ ।

नेपाल तरुण दल राजपुरको समूहले एक्कासी विद्यालयमा छिरेर हुलहुज्जत गर्दै खत्रीलाई हातपात गरेको आरोप माओवादीको छ । माओवादी केन्द्र राजपुर गाउँ कमिटीका अध्यक्ष श्यामबहादुर रोका, इञ्चार्ज चक्रबहादुर खड्का (शिखर) र सचिव विष्णुप्रसाद यादव (इतिहास) ले प्रेस विज्ञप्ति जारी गर्दै यथाशीघ्र शिक्षा ऐनविपरीत लेखिएको पत्र फिर्ता लिन सम्बन्धित निकायलाई माग गरेका छन् ।

साथै पालिका अध्यक्षले गाउँपालिकाका कर्मचारी एमआईएस अप्रेटर अनिलकुमार यादवलाई सचिवलाई कानूनविपरीत काम गराउन खोज्दा नमानेपछि अवदेखि यस कार्यालयमा हाजिरी नगर्न र तत्कालै राजीनामा दिन गरेको निर्देशनको विरोध गर्दै यादवलाई तत्काल काममा लगाउन माओवादीले दबाब दिएको छ ।

त्यसैगरी एकीकृत अखिल नेपाल शिक्षक संगठन राजपुर गाउँपालिकाले गाउँपालिका अध्यक्षको एकल निर्णय वा निर्देशन बमोजिम शिक्षा ऐन विपरित भएका यी गतिविधिको विरोध गरेको छ । इञ्चार्ज रामवरण यादवले सम्बन्धित विद्यालयलाई कुनै जानकारी नदिइ अकस्मात विद्यालयमा नेपाल तरुण दल राजपुरका समूह प्रवेश गरी गरिएको हातपातले विद्यालयको गरिमा र शिक्षकको सुरक्षामाथि प्रश्न उठेको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर