जनार्दन लक्षित माओवादीको सर्कुलर- पार्टीका हरेक कुरा मिडियामा लानु सामान्य मूल्य मान्यताको उल्लंघन – Nepal Press

जनार्दन लक्षित माओवादीको सर्कुलर- पार्टीका हरेक कुरा मिडियामा लानु सामान्य मूल्य मान्यताको उल्लंघन

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी बैठकमा अभिव्यक्त भएका भनाईहरू सञ्चार माध्यमहरूमा सार्वजनिक हुँदा पार्टीलाई गम्भीर क्षति हुने भन्दै नेता कार्यकर्तालाई सचेत गराएको छ ।

हालै बसेको स्थायी कमिटीको बैठकबारे जानकारी गराउँदै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देव गुरुङले पठाएको सर्कुलरमा पार्टी कमिटीमा अन्तर-जनवादको पूर्ण स्वतन्त्रता हुने भएपनि भित्रका हरेक कुरा सार्वजनिकीकरण गर्नु पार्टीको सामान्य मूल्य-मान्यताको समेत गम्भीर उल्लंघन हुन जाने उल्लेख छ ।

बैठकमा उपमहासचिव जनार्दन शर्माले अध्यक्ष प्रचण्डको चर्को आलोचना गर्दै नेतृत्व हस्तान्तरण गर्न लिखितरूपमै प्रस्ताव अघि सारेका थिए । त्यसले माओवादी वृत्तमा ल्याएको तरंग अझै साम्य भएको छैन । शर्माको प्रस्तावहरू छलफल चलिरहेकै क्रममा मिडियामा सार्वजनिक भएपछि प्रचण्डले बैठकमा पनि असन्तुष्टि जनाएका थिए ।

त्यही विषयलाई लक्षित गर्दै सर्कुलरमा भनिएको छ, ‘बैठकमा अभिव्यक्त भएका कतिपय कमरेडहरूका भनाईहरू सञ्चार माध्यमहरूमा सार्वजनिकीकरण हुँदा त्यसले पार्टीलाई गम्भीर क्षति पुर्‍याउँछ । पार्टी कमिटीमा अन्तर-जनवादको पूर्ण स्वतन्त्रता छ र हुनेछ । तर, पार्टी कमिटीभित्रका हरेक कुरा सार्वजनिकीकरण गर्नु पार्टीको सामान्य मूल्य-मान्यताको समेत गम्भीर उल्लंघन हुन जान्छ ।’

आगामी दिनमा त्यस प्रकारका कार्यहरू हुन नदिन सतर्क रहँदै पार्टीको कार्यदिशा, पार्टीको एकता र पार्टी नेतृत्वको पक्षमा एकताबद्ध भएर उभिन आग्रह गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर