क्यान ‘एनपीएल’ तिर पल्टियो, नेपाल टी-२० लिगको विवाद कचपल्टियो
क्यान प्रवक्ता भन्छन्- सम्झौता भंग भइसकेकाले एनपीएल गर्न वाधा छैन
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) आयोजना सुरू गर्न लाग्दा नेपाल टी-२० लिगको विवाद भने कचपल्टिएको छ । क्यानले २० महिनाअघि भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसमार्फत गराएको नेपाल टी-२० लिग विजेताले पुरस्कार रकम अझै पाएको छैन ।
प्रतियोगिता सुरूअघि नै सेभन थ्री स्पोर्ट्सका प्रमुख जतिन अहुवालीया रातरात भारततर्फ भागेका थिए । त्यसपछि उनी फर्केनन् । फिक्सिङलगायतको विवादहरू आएपछि सेभन थ्री स्पोट्र्सले एकतर्फीरूपमा क्यानसँगको सम्झौता भंग भएको घोषणा गरेको थियो ।
२०७९ साल पुस ९ देखि २७ सम्म प्रतियोगिता जसोतसो सम्पन्न त भयो, तर कम्पनीले सम्झौताबमोजिम क्यानलाई गर्नुपर्ने भुक्तानी गरेन । प्रतियोगितामा सहभागी फारवेस्ट युनाइटेड र काठमाडौंले पूरा रकम पाएका छैनन् । विजेता लुम्बिनीले पनि पुरस्कार रकम प्राप्त गरेको छैन ।
क्यानले आफ्नो साधारणसभाबाट निर्णय गरेर थ्री स्पोर्ट्ससँग टी २० लिगका लागि सम्झौता गरेको थियो । ८ वर्षका लागि सो कम्पनीलाई साझेदार बनाएवापत उसले कुल ३३ करोड रूपैयाँ क्यानलाई बुझाउनपर्ने सम्झौतामा उल्लेख थियो । पहिलो वर्ष ३ करोड ९० लाख बुझाउनुपर्नेमा १ करोड २० लाख मात्र दिएको क्यानले जनाएको छ ।
गत वर्ष फागुनमा बसेको क्यानको साधारणसभाले सेभन थ्री स्पोर्ट्ससँगको सम्झौता रद्द गर्ने निर्णय गरेको थियो । सो साधारणसभाले सेभेन थ्री स्पोर्ट्सबाट बाँकी रकम भुक्तानीका लागि आवश्यक कानूनी प्रक्रिया अगाडि बढाउन कार्यसमितिलाई निर्देशन दिए पनि क्यानले कुनै प्रक्रिया थालेको छैन ।
विगतमा फ्रेन्चाइज क्रिकेट आयोजना गरेका अनुभवि आमिर अख्तर यो प्रकरणमा क्यानको कमजोरी औंल्याउँछन् ।
उनले प्रश्न गरे, ‘क्यानले सेभेन थ्री स्पोर्टससँग बाँकी रकम माग गरेको खोई ? फ्रेन्चाइजहरुको लगानीको सुरक्षा गर्नुपर्ने काम क्यानको हो की होइन ?’
सम्झौता बमोजिम काम नभएको खण्डमा क्यानले मुद्दा हाल्न सक्ने अख्तरको भनाइ छ ।
उनले थपे, ‘सम्झौतामै क्यानले मुद्धा हाल्न सक्ने भनिएको छ । तर अहिलेसम्म क्यान किन मौन बस्यो ?’
अख्तरले यो प्रतियोगितालाई लिएर क्यानको भूमिकामा प्रश्न उठाउँदै छानबिनका लागि अख्तियारसहित विभिन्न ठाउँमा निवेदनसमेत दिएका थिए । तर त्यो विषयको कुनै निचोड नआई क्यान अर्को प्रतियोगितामा हाम्फालेको उनको टिप्पणी छ ।
नेपाल टी-२० लिगमा फिक्सिङ विवाद हुँदा क्यानको तत्कालीन नेतृत्व पनि मुछिएको थियो । क्यान नेतृत्वले आर्थिक स्वार्थमा परेर नेपाल टी-२० लिगको आयोजना भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई दिएको आरोप लागेको थियो ।
नेपाल टी-२० लिग विवादमा आएको एक वर्षभित्र क्यानमा नयाँ कार्य समिति चयन भयो । अध्यक्षमा चतुरबहादुर चन्द यथावत रहे पनि सचिवमा पूर्वकप्तान पारस खड्का भित्रिएका छन् । अहिले क्यानमा उनको प्रभावशाली भूमिका छ । नयाँ कार्यसमितिमा थुप्रै नयाँ अनुहार आएका छन् ।
क्यानका प्रवक्ता छुम्बी लामाले सेभेन थ्री स्टार्ससँगको सम्झौता क्यानले भंग गरिसकेको हुनाले एनपीएल गर्न कुनै समस्या नरहेको बताए ।
‘विवाद आइसकेपछि हामीले सेभन थ्री स्पोर्ट्ससँगको सम्झौता रद्द गरेका हौं । पुरानो सम्झौता तोडिएकाले क्यानलाई अर्को प्रतियोगिता गर्न कुनै वाधा छैन,’ उनले भने, ‘भुक्तानीको विषयमा पुरानो कार्यसमितिले पनि पक्कै पहल गर्यो होला, खेलाडीहरुको सेवा सुविधाका विषयमा अहिलेको कार्यसमितिले कुनै कसर छोड्दैन ।’
अख्तरले भने नेपाल टी-२० लिगको विवादलाई डिसमिस गर्न प्रतियोगिताको नाम नै फेरेर आयोजना गर्न लागिएको आरोपसमेत लगाएका छन् । ‘नेपाल प्रिमियर लिग’ नाममा सुरूमा आमिरले नै प्रतियोगिताको तयारी गरेका थिए । तर, यो नाममा प्रतियोगिता क्यानलाई मात्र गर्ने अधिकार भएको भन्दै रोक लगाइएपछि उनले नाम परिवर्तन गरेर एभरेस्ट प्रिमियर लिग राखे ।