लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै – Nepal Press

लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिँदैछन् । साउन ७ गते मुख्यमन्त्रीमा नियुक्त भएका आचार्यले आज बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिँदैछन् । चौथो अधिवेशनको २५ औँ बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिन थालेका हुन् ।

एमालेका २९ र कांग्रेसका २७ गरी ५६ प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका आचार्यले विश्वासको मत पाउने ढुक्क छ ।

एमाले कांग्रेसबाहेक उनलाई साना राजनीतिक दलले समेत विश्वासको मत दिने सूचना दिइसकेका छन् । एमाले प्रमुख सचेतक तुलसी प्रसाद चौधरीले प्रदेश सभामा रहेका बढी भन्दा बढी राजनीतिक दल र सांसदको समर्थन जुटाउने गरी तयारी रहेको बताए ।

मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिन सत्तारुढ दल कांग्रेस, एमालेसहित साना दलले ह्वीप जारी गरेका छन् । एमालेले विश्वासको मत दिन सांसदहरुलाई ह्वीप लगाएको प्रमुख सचेतक चौधरीले बताए ।

यस्तै कांग्रेस दल नेता एवं पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पनि विश्वासको मतको पक्षमा मतदान गर्न उपस्थित हुन सबै सांसदलाई ह्वीप लगएका छन् ।

सरकारलाई समर्थन गरेका जनमत पाटीका दल नेता चन्द्रकेश गुप्ता, लोकतान्त्रिक समाजवादी पाटीका दल नेता सन्तोषकुमार पाण्डेयले मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिने र सांसदलाई हृवीप जारी गरेको जानकारी दिए ।

प्रदेश सभामा सहभागी ११ वटा राजनीतिक दलमध्ये जसपा २, जसपा नेपाल १ र नागरिक उन्मुक्ति पार्टीका ४ सांसदले समर्थन गरेका छन् ।

लुम्बिनी प्रदेशसभामा विपक्षमा माओवादी १०, नेकपा एस, राजमो र स्वतन्त्र १र१ गरी १३ सदस्य रहेका छन् । ४ सांसद रहेको राप्रपाले के गर्ने टुंगो लगाएको छैन । विपक्षमा रहेकाहरूको समेत मत लिने गरी सत्ता साझेदार दलभित्र तयारी छ ।

८७ सांसद रहेको लुम्बिनी प्रदेशसभामा आवश्यक बहुमतको लागि ४४ सांसद संख्या चाहिन्छ ।

मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिने व्यवस्था अनुसार मङ्गलवार दिउँसो १ बजे लुम्बिनी प्रदेशसभामा आचार्यले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।

एमाले संसदीय दलको उपनेता भएको बेला आचार्य मुख्यमन्त्री बनेका थिए अहिले भने दलको नेता बनिसकेका छन् ।

पार्टीले उपनेतालाई मुख्यमन्त्री बनाएपछि दल नेता लीला गिरीले साउन ७ गते नै राजीनामा बुझाएका थिए । मुख्यमन्त्रीको सम्पर्क कार्यालय बुटवलमा एमाले पोलिटब्युरो सदस्य एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालसहितको एमाले संसदीय दलको बैठकमा गिरीले राजीनामा दिएको रिक्त दल नेतामा आचार्यलाई सर्वसम्मत रूपमा चयन गरिएको थियो ।

शंकर पोखरेल मुख्यमन्त्री भएका बेला पहिलो पटक मन्त्री बनेका आचार्यले आन्तरिक मामिला तथा कानुन मन्त्रालय सम्हालेका थिए । करिब एक महिना मात्र मन्त्री बनेका आचार्य दोस्रो पटक लीला गिरीको नेतृत्वमा खानेपानी तथा सहरी विकास मन्त्री बनेका थिए ।

दोस्रो कार्यकाल पनि लामो समय मन्त्री बन्न नपाएका आचार्य गत चैत्र २५ गते जोखबहादुर महराको नेतृत्वमा आन्तरिक मामिला तथा योजना मन्त्री बनेका थिए । यो आर्थिक वर्षको बजेट उनैले ल्याएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर