आचार्य कृष्ण दमाईले जनै फेरे…
५-६ वर्षदेखि सामुदायिक विद्यालयमा पढाइरहेका र पत्रकारिता गरिरहेका छन् दमाई
काठमाडौं । संस्कृतमा आचार्यसम्मको अध्ययन गरेका कृष्ण दमाई केही दिनअगाडि पशुपति कोटी होमको व्यासासनमा बसेर चर्चामा आए । अहिले फेरि उनी एउटा अन्तरवार्तामा धरधरी रोएको भिडिओ भाइरल भइरहेको छ ।
भाइरल अन्तरवार्तामा कृष्णले आफूलाई दुई छाक टार्न समस्या भइरहेको बताएका छन् । उनी रुँदै भन्छन्, ‘बिहान खाए बेलुका के खाने भन्ने समस्या छ ।’
यो अन्तरवार्ता ३-४ दिन अगाडिको हो । अन्तरवार्तामा आफ्नो पीडालाई यथार्थरुपमा व्यक्त गर्दा भावुक बनेको दमाईले नेपाल प्रेससँग बताए ।
‘मैले झूट बोलेको होइन, मलाई अहिले पनि छाक टार्न समस्या नै छ,’ उनले भने ।
दमाई पेशाले पत्रकार र शिक्षक हुन् । पढाइसकेपश्चात् सामानान्तररुपमा अध्यापन र शिक्षण पेशा अंगालेका थिए । उनी जनक्रान्ति नामक दैनिक पत्रिकामा आबद्ध छन् भने एउटा सामुदायिक विद्यालयमा पढाइरहेका छन् । विद्यालयमा निजी स्रोतबाट गएकाले तलब थोरै छ ।
दमाईले दुई महिना अगाडि मात्रै विद्यालय पढाउन थालेको बताए । यद्यपि, अन्तरवार्ता लिने पत्रकार खगेन्द्र जैसीका अनुसार उनले ५–६ वर्षदेखि नै पढाइरहेका छन् ।
जैसीले भने, ‘विद्यालयमा पढाउँदै आए पनि उहाँको आर्थिक स्थिति नाजुक नै छ ।’
दमाई एउटा मामुली घरमा बस्दै आएको र जग्गाजमिन खासै नभएको उनले बताए । दमाईको परिवारमा श्रीमती र दुई छोराछोरी छन् ।
संस्कृत अध्ययन गरे तापनि आध्यात्मिक क्षेत्रमा कृष्णलाई खासै अवसर मिलेको छैन । उनको डीग्री संस्कृत साहित्य र भाषामा हो । तर यतिले कर्मकाण्ड र पुराणवाचन गर्न समर्थ भइँदैन ।
पुराणवाचनका लागि छुट्टै कोर्सहरु हुन्छन् । कोटी होममा उनले प्रवचन दिएका थिएनन्, सामान्य सम्बोधन मात्रै गरेका थिए ।
शास्त्रीय योग्यताबिना संस्कृत पढेकै भरमा चर्चाका लागि उनलाई व्यासासनमा राखिएको भन्दै केही धार्मिक गुरुहरू असन्तुष्ट छन् । आमरुपमा भने दलितलाई पहिलो पटक यस्तो अवसर दिइएको भन्दै सह्राहना भएको छ । यसलाई छुवाछुतविरोधी अभियानमा एउटा कोसेढुंगासमेत मानेका छन् कतिपयले ।
नेपालका विभिन्न समुदायभित्र विभिन्न क्रियाकर्ममा आफ्नै पुरोहित राख्ने परम्परा पनि छ । दलित समुदायभित्र पनि दलित पुरोहित हुन्छन् । यद्यपि कृष्ण दमाईले पुरोहितका रूपमा कुनै पनि धार्मिक अनुष्ठान र कर्मकाण्ड गरेको पाइँदैन । त्यसैले कतिपयले उनको क्षमतामा प्रश्न उठाएका छन् ।
हिजो जनै पूर्णिमामा दमाईले आफ्नो सामाजिक सञ्जालमा केही तस्बिर पोस्ट गरे । तस्बिरमा उनी आफ्ना गुरु गणेश रेग्मी र ८ वर्षीय छोरासँग देखिएका छन् । उनले निधारमा चन्दन लगाएका छन् र जनै धारण गरेका छन् ।
दमाईले अछामस्थिति आफ्नै घरमा विधिपूर्वक यज्ञोपवीत ९जनै० धारण गरेका थिए । सुद्रले जनै नलगाउने परम्परा उनले तोडेका हुन् ।
कृष्ण दमाईले जनै लगाएको यो पहिलो पटक भने होइनन् । एक वर्ष अगाडि हरिद्वार जाँदा पहिलो पटक जनै धारण गरेको उनले बताए ।
‘पहिले पनि जनै पूर्णिमाका दिन जनै ल्याइन्थ्यो, तर लगाउने गरिएको थिएन,’ उनले भने, ‘हरिद्वार गएर धारण गरेपछि भने निरन्तर लगाइरहेको छु ।’
उनले आफ्नो छोराको व्रतबन्ध गराइदिने योजनासमेत बनाएका छन् ।
अनी यि काङेसी नेतालाई नि यिनले अम्रिका नै लाने त होला नि ? अनी फेरी उहिहाल!! तर शुभकामना छ् दोश्रो त्यस्तो नहोस ।।