बैंकहरुमा पैसा धेरै भएपछि एक वर्षमा राष्ट्र बैंकले उठायो पौने ४७ खर्ब रुपैयाँ – Nepal Press

बैंकहरुमा पैसा धेरै भएपछि एक वर्षमा राष्ट्र बैंकले उठायो पौने ४७ खर्ब रुपैयाँ

काठमाडौं । बैंकहरुमा अधिक तरलता भएपछि राष्ट्र बैंकले एक बर्षमा पौने ४७ खर्ब रुपैयाँ उठाएको छ । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८०र८१ मा बजारबाट पौने ४७ खर्ब रुपैयाँ उठाएको हो ।

राष्ट्र बैंकको तथ्यांक अनुसार गत आर्थिक वर्ष बैंकिङ प्रणालीबाट निक्षेप संकलनको उपकरण प्रयोग गरी ११ खर्ब ५१ अर्ब २५ करोड रुपैयाँ र स्थायी निक्षेप सुविधा (एसडीएफ)मार्फत उक्त ३५ खर्ब २२ अर्ब ३५करोड रुपैयाँ प्रशोचन गरेको हो ।

यी दुई उपकरण मार्फत गत आव बजारबाट ४६ खर्ब ७३ अर्ब ६० करोड रुपैयाँ प्रशोचन गरेको देखिन्छ । बैंकहरुले प्रवाह गर्ने कर्जा निरन्तर संकुचन हुँदा सर्वसाधारणले जम्मा गरेको निक्षेप बैंकहरुमै थुप्रिन पुग्यो ।

चाहिने भन्दा बढी तरलता बैंकहरुमा हुन थालेपछि यसको व्यवस्थापनमा सम्बन्धित बैंकहरुलाई हम्मे हम्मे पर्यो । बैंकहमा अधिक तरलता थुप्रिएपछि राष्ट्र बैंकले यी दुई उपकरण मार्फत धमाधम पैसा खिचेको छ ।

एकातिर तरलता थुप्रने र अर्कोतिर कर्जा प्रवाह हुन नसक्दा बैंकहरुलाई वित्तिय स्थिति सन्तुलन बनाइराख्न सकस परेको छ । तर राष्ट्र बैंकले नियामकीय भुमिका निभाउँदै धमाधम बैंकहरुमा थुप्रिएको रकम तानिरहेको छ ।

अधिक तरलता भएर व्यवस्थापनमा हम्मे हम्मे परेपछि राष्ट्र बैंकले गत फागुनदेखि बैंकहरुले सीधै केन्द्रीय बैंकमा निक्षेप राख्न सकिने गरी एसडीएफ सुविधाको सुरुवात गरेको हो। यो सुविधामार्फत बैंकहरुले हरेक हप्ताको आइतबार र बुधबार सिधै राष्ट्र बैंकमा पैसा राख्न पाउने सुविधा थियो । तर हप्ताको दुई दिनले मात्र तरलता व्यवस्थापनमा सकस भएपछि अर्को एक दिन थप्दै तीन दिन बनाइयो ।

अहिले हरेक हप्ताको आइतबार, बुधबार र बिहीबार गरी ३ दिन बैंकहरुले निक्षेप राष्ट्र बैंकमा जम्मा गर्न पाउने सुविधा दिएको छ । बैंकहरुले स्थायी निक्षेप सुविधाको उपयोग गरिसकेपछि पनि बजारमा अधिक तरलता भएको खण्डमा राष्ट्र बैंकले निक्षेप संकलन औजार प्रयोग गरी आफै निक्षेप प्रशोचन गर्दै आएको छ ।

बैंक तथा वित्तीय संस्थाले पटक पटक गरी स्थायी तरलता सुविधामार्फत १ अर्ब २० करोड र ओभरनाइट तरलता सुविधामार्फत ८ खर्ब ३ अर्ब ५६ करोड गरी कुल ८ खर्ब ४ अर्ब ७६ करोड तरलता उपयोग गरेका छन् । यसकारण यो वर्ष खुद ३८ खर्ब ६८ अर्ब ८४ करोड तरलता प्रशोचन भएको देखिन्छ । अघिल्लो आर्थिक वर्षमा खुला बजार कारोबार र स्थायी तरलता सुविधा लगायतका विभिन्न उपकरणमार्फत खुद ५४ खर्ब ०९ अर्ब ९९ करोड तरलता प्रवाह गरिएको थियो ।

राष्ट्र बैंकले बैंक तथा अधिक तरलता भए उक्त तरलता प्रशोचन गर्छ भने न्युन तरलता भए बजारमा पैसा पठाएर तरलता व्यवस्थापन गर्दै आउने गरेको छ । यसपटक केन्द्रिय बैंक अधिक तरलताको व्यवस्थापनमा लागिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *