मेयरको नक्कली हस्ताक्षर गरेर चुनढुंगा उत्खनन् गराउने व्यवसायी पक्राउ – Nepal Press

मेयरको नक्कली हस्ताक्षर गरेर चुनढुंगा उत्खनन् गराउने व्यवसायी पक्राउ

वडाअध्यक्षसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएपछि सबै 'फरार'

रुपन्देही । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा मेयरको हस्ताक्षरसहित संचालनको नक्कली कागजपत्र बनाउने एक व्यवसायी पक्राउ परेका छन् । मेयर झविलाल थापाले दिएको उजुरीका आधारमा पक्राउ परेका ती व्यवसायीले वडाध्यक्षसहित ३ जनाको मिलेमतो रहेको बयान दिएपछि उनीहरु तीनै जना फरार छन् ।

भूमिकास्थानमा रहेको चुनढुंगा उत्खनन् अनुमतिपत्र नक्कली प्रकरणमा व्यवसायी पक्राउ परेपछि अर्घाखाँचीमा नयाँ तरंग आएको हो । भूमिकास्थान नगरपालिका–९, पातले खोलामा रहेको चुनढुंगा उत्खनन्को अनुमति पत्र नक्कली रहेको भन्दै नगरपालिका प्रमुख झविलाल थापाले नै प्रहरीमा उजुरी दिएपछि छानबिन गर्न प्रहरीले कम्पनीका प्रतिनिधि नवाफ अलीलाई पक्राउ गरेको हो ।

थापा राष्ट्रिय जनमोर्चाबाट निर्वाचित भएका हुन् । तर उनको निवेदनका आधारमा पक्राउ परेका अलीले जनमोर्चाबाटै निर्वाचित वडाध्यक्ष र अन्य २ जना जनमोर्चाकै नेतालाई पोलेपछि थापालाई यो विषयले तनाव पुर्याएको छ ।

अलीले दिएको बयानका आधारमा चुनढुंगा उत्खनन् अनुमति–पत्र नक्कली प्रकरणमा थप अनुसन्धान गर्न भन्दै तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पक्राउ परेका अलीले बयानका क्रममा आफूलाई नगरको अनुमतिसहितको पत्र दिएको बताएपछि तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

यो प्रकरणमा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन केसी, भूमिकास्थान नगरपालिका– ४ का वडाध्यक्ष बाबुराम पन्थी सुनार र जागृत केसीका नाममा पक्राउ पुर्जी जारी भएपछि मेयर थापालाई तनाव बढाएको हो । केसी, पन्थी, केसी अहिले सम्पर्कविहीन छन् ।

मेयर थापाले आफ्नो नगरको कागजपत्र र हस्ताक्षर नक्कली बनाएको विषयमा आफूले निवेदन दिएको र ती व्यक्ति पक्राउ परेको नेपाल प्रेसलाई बताए ।

‘किर्ते गर्ने पक्राउ परेका हुन् तर उनले मेरै पार्टीका नेताहरु संलग्न रहेको बयान दिएछन्, यो विषय कसरी किन आयो भन्ने पक्कै छानबिन हुनेछ, दोषी नछुटोस्, निर्दोष नफसुन् तर जनमोर्चाकै मात्रै मान्छेको नाम जोडेर गलत प्रचार भएको छ’, उनले भने, ‘वडाध्यक्ष भारतमा उपचारका लागि गएको सुनेको छ, मैले पनि सम्पर्क गर्न सकेको छैन, २८ गते पक्राउ पुर्जी रहेछ उहाँ २४ गते नै पुस्कर भुसाललाई निमित्त दिएर जानुभएको रहेछ ।’

जनमोर्चाका नेताहरूले यो षड्यन्त्र भएको बताएका छन् । ठूला दलहरू मिलेर फसाउन खोजिएको उनीहरूले अभिव्यक्ति दिँदै आएका छन् । आफ्ना मान्छे जोगाउने र अन्य दललाई फसाउने प्रपञ्च भएको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन् ।

जिल्लाका हाइप्रोफाइलको नाम जोडिएपछि यो प्रकरणले चर्चा पाएको छ । नगर प्रमुख झविलालकै पार्टीका जिल्ला अध्यक्षसहित नेताहरूको नाम मुछिएपछि उनलाई नैतिक दबाब परेको छ ।

कपिलवस्तुको कृष्णनगरमा रहेको विजया सिमेन्ट्स प्रालिले २०८० फागुन १४ गते खानी तथा भूगर्भ विभागबाट चुनढुंगा उत्खनन्को अनुमति–पत्र पाएको थियो । गत २०८० मंसिर ५ गते नगरपालिकाले खानी तथा भूगर्भ विभागलाई स्वीकृतिसहितको आशय पत्र पठाएको देखिन्छ, तर नगर प्रमुखले यसलाई किर्ते भन्दै आएका छन् ।

आफूले कुनै प्रकारको पत्र नदिएको र कागजपत्र नक्कली रहेको उजुरी दिएपछि प्रहरीले छानबिन थालेको हो । मेयर थापाको हस्ताक्षरसहितको पत्र खानी विभागमा पुगेपछि खानी विभागले अनुमति–पत्र (लाइसेन्स) प्रदान गरेको थियो । नगरको लेटरप्याड र मेयरको हस्ताक्षर सबै नक्कली रहेको नगरले दाबी गर्दै आएको थियो ।

मेयरको हस्ताक्षर नक्कली नै रहेको पुष्टि भएको छ । काठमाडौंस्थित विधि विज्ञान प्रयोगशालामा गराएको जाँचमा खानी विभागमा पुगेको पत्रको हस्ताक्षर मेयरको नभएको पुष्टि भएको हो । हस्ताक्षर भिडाउँदा नमिलेको विधि विज्ञान प्रयोगशालाले बताएको छ ।

मेयरको दाबी सही भएपछि प्रहरी थप अनुसन्धान अघि बढाएको छ । विजया सिमेन्ट्स प्रालिका प्रतिनिधि नवाफ अलीलाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि प्रहरीमा आफैं आएका थिए ।

कपिलवस्तुको कृष्णनगरस्थित विजया सिमेन्ट्स प्रालिले २०८० फागुन १४ गते खानी तथा भूगर्भ विभागबाट चुनढुंगा उत्खननको अनुमतिपत्र पाएको थियो । पटकपटक प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) गरेको कम्पनीले २०७९ पुस ७ गते भूमिकास्थान–९ का वडाध्यक्ष खेमराज चुँदालीको अध्यक्षतामा प्रभावित क्षेत्रमा सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको थियो, जसमा त्यहाँका एक सय १४ जनाको उपस्थिति रहेको माइन्युटमा देखिन्छ ।

त्यसको भोलिपल्टै पुस ८ गते वडा कार्यालयले काम गर्न मिल्ने गरी आशयपत्र दिएको थियो। नगरपालिकाको कार्यालयले यही २०८० मंसिर ५ गते खानी तथा भूगर्भ विभागलाई आशयपत्र पठाएको देखिन्छ । मंसिर ५ गते नगरपालिकाको लेटरप्याडमा नगर प्रमुख थापाको हस्ताक्षरसहितको पत्र विभागलाई गएको छ ।

खानी तथा भूगर्भ विभागलाई नगरले सिफारिस गरी पठाएको पत्रमा दर्तारचलानी नम्बर ५८५ छ। यता नगरपालिकाको दर्तारचलानी किताबमा ५८५ नम्बरमा संघीय खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयलाई पठाएको पत्र छ ।

अर्को रोचक कुरा के छ भने ५८५ नम्बरमा संघीय खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयलाई पठाएको पत्र सम्बन्धित कार्यालयमा दर्ता छैन । संघीय खानेपानीको कार्यालयमा उक्त व्यहोराको पत्र र त्यो चलानी नम्बरमा कुनै पत्र आएको देखिँदैन । विजया सिमेन्ट्स प्रालिले आफूहरू कानुनी बाटोमा जाने बताएको छ ।

खानी तथा भूगर्भ विभाग, खानी अनुमति तथा प्रशासन शाखा (चनं ९६) ले २०७९ साउन ८ गते वडा नम्बर ९ को सान्डेभा (पातले खोला)मा चुनढुंगा खोजतलास अनुमति क्षेत्र सीमित गरिएको पत्र पठाएपछि उत्पन्न विवाद झन्पछि झन् पेचिलो बनेको छ ।

मेयर थापाले गत २०८० चैत २० गते कम्पनी र नवाफ अलीविरुद्ध प्रहरीमा उजुरी दिएका थिए । अहिले आफ्नै नेताहरू मुछिएपछि उनीमाथि ठुलो दबाब छ । आफैंले दिएको उजुरीमा आफ्नै नेताहरूको नाम आएपछि यो प्रकरणले उनलाई नै पोलेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *