‘पहिले हाम्रा चेली कोठीमा बेचिन्थे, अहिले ‘लेवर’ मा पठाइन्छन्’ (भिडिओ) – Nepal Press
नेपाल टक

‘पहिले हाम्रा चेली कोठीमा बेचिन्थे, अहिले ‘लेवर’ मा पठाइन्छन्’ (भिडिओ)

नेपाल र क्यानडामा मानव बेचबिखनको अवस्था र नियन्त्रणमा भएगरेका कामबारे अन्वेषक रिता ढुंगेलसँगको अन्तर्वार्ता

काठमाडौं । मानव बेचबिखन नेपालको एक प्रमुख समस्या हो । विभिन्न स्वरुपमा हुने बेचबिखनमा परेर समाजमा पुन:स्थापना चुनौतीसमेत देखिएको छ । यस क्षेत्रमा विभिन्न संघ संस्थाले काम गरिरहेका पनि छन् । जसमा सामाजिक अनुसन्धानहरू अपरिहार्य हुन्छन् ।

पछिल्लो समयमा सहभागीतामूलक क्रियात्मक अनुसन्धान जसमा ‘फोटो भ्वाइस’ जस्ता विधि तथा प्रक्रियाहरुको अवलम्बन गरेर बेचबिखनमा परेकाहरुलाई समाजमा सम्मानित जीवनयापनका लागि प्रयासहरु हुँदै आएका छन् । त्यस्तै, यीलगायतका सामाजिक विषयहरूमा गरिने अनुसन्धानले सरोकारवालालाई कस्तो भूमिका खेल्छ जस्ता विषय नेपाल टकमा उठाइएको छ ।

सामाजिक अभियन्ताका रुपमा विगत दुई दशकभन्दा बढी समय योगदान गर्नुभएकी अनुसन्धानकर्ता एवम् क्यानडाको युनिभर्सिटी अफ फ्रेजर भ्यालीकी उपप्राध्यापक डा. रिता ढुंगेलसँग गरिएको कुराकानी नेपाल टकमा:

– यहाँले नेपालमा सुरु गर्नुभएको अनुसन्धान वा कार्यक्रमले मानव बेचबिखनमा परेकाहरुको जीवनमा के कस्तो परिवर्तन भएको छ ?

भर्खरै ३ महिना भएको छ । यो अनुसन्धान वा कार्यक्रम तीन फेजमा छ । पहिलो फेजमा हामीले ट्राफिकिङ सर्भाभरहरुलाई बोलाएर जेण्डरबेस्ड भाइलेन्स के हो ? एन्टीट्राफिकिङमा काम गर्ने संघ संस्थालाई बोलायौं । एन्टी ट्राफिकिङ इन्टरभेन्सनमै ध्यान दियौं । अवस्था कस्तो भनेर जानकारी लियौं । त्यसपछि सेकेण्ड फेजमा बेचबिखनमा परेका महिलाहरुलाई फोटो भ्वाइस गरेका थियौं । जसले उहाँहरुमा आत्मविश्वास, सकारात्मकता विकास भएको महसुस भएको छ ।

आफूहरुले भोगेका जति पनि कठिनाइहरु छन् । तिनीहरुको समस्या समाधानका लागि आफैंले बोल्नुपर्ने रहेछ । अरु कसैले बोल्ने होइन रहेछ । यो वास्तवमा व्यक्तिगत नभएर सामाजिक समस्या रहेछ । हामी रहरले बेचबिखनमा परेका होइन रहेछौं । यस्ता अनुसन्धान र कार्यक्रमले उहाँहरुमा अब आफू किन लुकेर बस्ने ? मैले आफूले सामना गर्नुपर्ने रहेछ जस्ता क्रिटिकल थिंकिङका कुराहरु पनि आएको महसुस भएको छ ।

यो त वास्तवमा आफूहरुले आफ्नो बेसिक निड पूरा हुन नसक्दा बाध्य भएर बेचिनुपर्ने अवस्था आइपरेको भन्ने बुझाइ बढेकोले उहाँहरुमा पनि क्रिटिकल थिंकिङको वृद्धि भएको जस्तो लागेको छ ।

– भनेपछि यहाँहरुले तीन महिना अगाडि जे गर्नुभयो त्यसले उहाँहरुको जीवनमा केही न केही सकारात्मक रुपान्तरण गर्‍यो ?

त्यसमा पनि एकदमै विश्वस्त भएर भन्न सक्छु हो ।

– हाल नेपालमा मानव बेचबिखनको अवस्था कस्तो रहेको छ ?

मलाई दुःख लाग्छ कि मैले यही क्षेत्रमा कार्य गरेको दुई दशक भइसक्यो । त्यतिबेला पनि यही समस्या थियो । अहिले पनि उही छ । दुई दशकदेखि पनि त्यही किसिमका प्रब्लम भइरहेको छ । अनि कहाँनेर ग्याप भइरहेको छ भन्ने कुरा पत्ता लगाउन नै गाह्रो भइरहेको छ । डाटाको कुरा गर्नुहुन्छ भने ट्रेण्ड त चेन्ज भएको छ ।

पहिला पहिला कोठीमा हाम्रा चेलीहरु बेचबिखनमा पर्नुहुन्थ्यो भने अहिले भने लेबरका लागि पनि बेचबिखनमा पर्ने अवस्थामा पुगेको छ । ह्युमन स्मग्लिङ हो र कुन ह्युमन ट्राफिकिङ हो भनेर छुट्याइएको छैन । यसरी हेर्दा मेरो विचारमा किन स्पष्ट डाटा नदेखिएको हो भने मानिसहरुले आफू आफूले नै मेलमिलाप गरिरहेको अवस्था छ । उहाँहरु दर्ता गर्नै चाहनुहुन्न ।

जतिबेला म अनुसन्धानका लागि भारतको ‘कोठी’हरुमा गएँ । त्यसबेला यदि मैले नेपाली नबोलेको भए कोठीमा सेक्स वर्करका रुपमा काम गरिरहेका बहिनीहरु खुशी छन् भन्ने रिपोर्ट लिएर आउँथेँ । तर जब मैले नेपालीमा बोलेँ । उनीहरुले भनेका थिए, ‘हामी एकदमै दुःखी छौं, उद्धार गर्न आउनुस् है, हामी पर्खिरहन्छौं’, यो कुरा आज पनि मेरो कानमा गुञ्जिन्छ ।

जसले गर्दा डाटा त सत्य तथ्य हुँदैन । अर्को कुरा विभिन्न कारणले पर्दा ट्राफिकिङमा परिरहनु भएको छ । डान्समा जाने, सर्कसमा जाने किनकी जब छैन । उहाँहरु जानुहुन्छ, तर सीमा क्षेत्रमा सक्रिय संघसंस्थाले उद्धार गरेर ल्याउनुहुन्छ । तर किशोरीहरुको अभिभावकले नै हामीले आफैं पैसा कमाउन पठाएको हो ।

किन तपाईंहरुले फर्काएको रोकिदिएको जस्ता विषय उठ्ने गरेका छन् । अब त्यस्ता घटनाको दर्ता त कतै छैन । तसर्थ, हेर्दा बेचबिखन कम भएको देखिएको छ । प्रिभेन्सनमा सरकारी एवम् संस्थागत प्रयासले कम भएको जस्तो देखिएको छ । तर वास्तवमा साँच्चै भएको जस्तो चाहिँ लाग्दैन । किनकी तथ्य उजागार हुन नसकेको जस्तो लाग्छ ।

– यहाँ लामो समयदेखि मानव बेचबिखनविरुद्ध सक्रिय हुनुहुन्छ । यसलाई रोक्न के के गर्न सकिएला तपाईंको अनुभवमा ?

गर्नुपर्ने साँच्चै धेरै छन् । तर प्राथमिकरुपमा केही कुरा गर्न सकिन्छ भने पनि रोक्न वा कम गर्न सकिन्छ जस्तो लाग्छ । जस्तै, जति पनि मानव बेचबिखनविरुद्ध नीतिहरु बन्छन् । जसमा उपयुक्त किसिमका अनुसन्धान र व्यवहारिक पाटोलाई ध्यान दिनुपर्छ । अनुसन्धानको आधारमा कस्तो पोलिसी बनाउनुपर्छ, कस्ता किसिमका प्रोग्राम चाहिएको छ भन्ने विषयमा कार्य भएको जस्तो लाग्दैन । नीति भए पनि प्रभावकारी कार्यान्वयन भएको पनि देखिँदैन ।

हाम्रै कतिपय बहिनीहरुले गुनासो गर्नुहुन्छ कि क्षतिपूर्तिको रुपमा पाउनुपर्ने रकम नपाएको भनेर । अर्को पाटो भनेको एन्टी ह्युमन ट्राफिकिङमा काम गर्ने संघ संस्थाहरु पनि धेरै आइसकेका छन् । तर उनीहरु सबैको शैली उस्तै छ । शेल्टर बनाउने, यति जनालाई यसो गरेको छौं भन्ने उसो गरेको छौं भन्ने ।

त्योभन्दा राम्रो चाहिँ मलाई के लाग्यो भने बेचबिखन रोक्न हामी सबै गम्भीर छौं भने एउटा अनुसन्धानकर्ता, सामाजिक कार्यकर्ता, एउटा नागरिकको आधारमा मलाई के लाग्यो भने संघ संस्थाहरुबीच नै साझोदारी आवश्यक छ । फुट्ने कुराले राम्रो हुन्न ।

कुनै संस्थाले प्रोटेक्सनमा काम गर्ने, अर्कोले प्रिभेन्सनमा लाग्ने, अर्कोले पार्टनरसीपमा ध्यान दिने, अहिले त हामीसँग तीन तहको सरकार छ । त्यसमा कोलाबोरेशन गर्दै गयो भने न्यूनीकरण होला जस्तो लाग्छ ।

त्यस्तै, फण्डरलाई देखाउन पनि अनुसन्धान गर्न आवश्यक छ । तर त्यसका लागि कुनै पनि मेक्यानिज्म नै छैन । हामी प्रोग्राम बनाउँछौं । उताबाट डोनरले पैसा पठाउँछ । अनि फण्ड खर्च गर्न प्रोग्राम गर्छौं । तर पुनर्स्थापनाका विषयमा आवश्यकता के हो भन्नेबारेमा ध्यान दिन आवश्यक हुन्छ जस्तो लाग्छ ।

भिडिओ

यद्यपी, संघसंस्थाहरुले धेरै राम्रो काम गर्नुभएको छ । जस्तै, सीपमुलक तालिम दिनेलगायत कार्यहरु गनुभएको छ । तरपनि कोलाबोरेशन भने नभएको जस्तो महसुस हुन्छ ।

– बेचबिखनमा पर्नुभएकाहरुमा यहाँले के कस्तो समस्या देखिएका छन् ? किनकी सबैजनाको पुनर्स्थापना सहज भएको देखिदैन ।

यी सबैको समस्या भनेको जनचेतनाको कमी नै हो । एकजना बहिनीले आफूलाई घरकै परिवारले नै स्वीकार नगरेको गुनासो गरेकी थिइन् । यसरी परिवारले नै विभेद गर्ने दर्दनाक अवस्था, लान्छना गर्ने अवस्था रहेको छ । अर्को सबैभन्दा मुख्य समस्या नागरिकता देखिएको छ । मकवानपुरका धेरै चेलीहरु सानै उमेरमा बेचबिखनमा पर्नुभयो ।

अनि लामो समयपछि फर्केर आउँदा आमा वा बुबा बितिसकेको अवस्था हुने अनि छोरीको नागरिकता बनाउन कठीन हुने देखिएको छ । एसईई पढ्नु त हुन्छ तर अब माथि पढ्दैनौ किनकी हामीसँग नागरिकता छैन । नागरिकता नभएपछि कतै काम पाइँदैन । त्यसैले, हामी त पढ्दैनौ भन्नुहुन्छ । एउटा मात्रै होइन त्यो केही संख्यामा नै समस्या छ ।

अर्कोतिर उहाँहरु सानैमा जानुपर्ने अवस्था बनेपछि फर्केर आएपछि उहाँहरुको शिक्षा र स्वास्थ्य मुख्य चुनौती बनेको छ । अर्कोतर्फ स्वास्थ्य क्षेत्रकै मानिसहरुले नै एचआईभी भएकी महिलाले पकाएको खानेकुरामा विभेद गरेको घटनासमेत समाजमा विद्यमान छन् ।

एकजना बहिनी आफ्ना अनुभव सुनाउनुभएको थियो कि चिया पकाएर बाँडेरहनुभएकी उनलाई एचआईभी छ भन्ने थाहा भएपछि खुद डाक्टरहरुले नै उनले पकाएको चिया नखाने अवस्था आएको थियो । यो झनै दुःखलाग्दो पक्ष हो । यसमा जनचेतनाको कमी भन्ने कि के भन्ने ? बेचबिखनमा परेका महिलाहरु त्यसमा पनि एचआईभी भएकाहरुलाई त झनै गाह्रो देखिएको छ । हस्पिटलमै त यस्तो भेदभाव हुन्छ भने अरुतिर त कस्तो अवस्था होला ? उहाँहरुलाई जब पाउनै मुश्किल पर्छ ।

– हामीले यस विषयमा केही चर्चा गर्यौं । अब थोरै यहाँको व्यक्तिगत जीवनबारे जान्न मन लाग्यो । नेपालमा विभिन्न क्याम्पसमा पढाउँदै गर्दा अध्ययनका लागि क्यानडा पुग्नुभएको पनि दुई दशक भइसक्यो । र अहिले त्यहाँ उपप्राध्यापक हुनुहुन्छ । क्यानडा पुगेपछि नेपालको झनै माया लागेर आएर हो कि क्या हो ? यसरी अनुसन्धानलगायत कार्य गरिरहनु भएको छ नेपालमा ।

जतिबेला म अनुसन्धानका लागि भारतको ब्रथेलस्हरुमा गएँ । त्यसबेला मैले आफू नेपाली हुँ नभनेको अवस्थामा त्यहाँका बहिनीहरुले आफूहरुले खुशी छौं भनेका थिए । तर जब मैले नेपालीमा बोल्न थालेँ । तब उनीहरुले आफूहरु एकदमै दुःखी छौं र आफूहरुलाई उद्धार गर्न आग्रह गरेका थिए । त्यो कुरा मेरो कानमा अहिले पनि गुञ्जिन्छ ।

त्यहाँ मैले नेपाली भाषामा बोल्नेबित्तिकै बहिनीहरुले आफ्नो यथार्थ भन्न सके । भाषाले कति फरक पार्दोरहेछ । तर म आफू एसिस्टेन्ट रिसर्चरको रुपमा गएको थिएँ । मैले उद्धार गर्न सक्ने अवस्था थिएन । मलाई ति बहिनीहरुले निस्किँदा पनि दिदी हामीलाई लिन कहिले आउने, हामी कुरिरहन्छौं भनेर भनेका थिए । यता त्यहाँको इन्चार्जले म नेपाली भन्ने थाहा पाएपछि तपाईं गइहाल्नुस् भन्यो । अघि भन्नुपर्थ्यो नि भन्यो । त्यो घटना मेरो जीवनमा गहिरो प्रभाव पार्यो । अहिले पनि त्यो भनाइ मेरो कानमा गुञ्जिन्छ ।

म फर्केपछि क्यानडा गएँ । मलाई जतिखेर पनि लागिररहन्थ्यो कि ति बहिनीहरुले भनेको कुरामा काम गर्न पाए हुन्थ्यो भन्ने लाग्यो । अध्ययनलगायतले म यो क्षेत्रमा जान पाएको थिइनँ । तर जब अध्ययन सकेँ । त्यसपछि भने मैले काम गर्ने क्षेत्र यही हुनुपर्छ भनेर म यसरी अनुसन्धान र अभियानमा लागेको हो । मेरो पीएचडीको थेसिस पनि बेचबिखनमा परेका महिलाको पुनर्स्थापनाबारेमा गरेँ । शक्ति समूह, शान्ति फाउण्डेसन, माइती नेपाललगायत संस्थासँग जोडिएर निरन्तर कार्य गरिरहेको छु ।

– आम नागरिकले बुझ्ने गरी वास्तवमा अनुसन्धानको एउटा पाटो सहभागीमुलक क्रियात्मक अनुसन्धान र फोटो भ्वाइस के हो ?

मैले अघिको प्रसंग जोडेर के भन्छु भने मैले यदि नेपाली नबोलेको भए त्यतिखेर बेचबिखनमा परेर कोठीमा सेक्स वर्करमा रुपमा काम गरिरहेका बहिनीहरु खुशी छन् भन्ने रिपोर्ट लिएर आउँथेँ । त्यहाँ रहेका बहिनीहरु खुशी छन् भन्ने मेसेज लिएर आउँथेँ । तर जब नेपाली बोलें । त्यसपछि सत्यतथ्य कुरा बाहिर आयो । भनेपछि एउटा भाषाले चेन्ज लिएर आयो नि ।

यसरी हेर्दा केवल अनुसन्धानले मात्रै साँच्चिकै कुरा दिन्छ भन्ने छैन । अनि मलाई के लाग्यो भने उहाँहरुसँग साँच्चै कुरा लिनुछ । जान्नु छ भने उहाँहरुसँग सम्बन्ध बनाउनुपर्छ । त्यसैले सहभागीमुलक रिसर्च आवश्यक छ भन्ने लाग्यो । अब अहिले त बाइस्ड छु, जे गर्छु पार्टिसिपेटरी एक्सन रिसर्च मात्रै गर्छु । यसरी सम्बन्धित व्यक्तिहरुलाई सहभागी गराएर गरिने विभिन्न विधि नै सहभागीमुलक क्रियात्मक अनुसन्धान हो । यसमा कम्युनिटी डिभलपमेन्टको अवधारणा छ ।

यसमा जसले च्यालेन्जहरु जस्तो किसिमको कठिनाइ महसुस गरिरहनु भएको छ । उहाँहरुलाई एकैठाउँ बोलाउँछौं । त्यसपछि यस्तो अवसर प्रदान गर्छौं कि उहाँहरुले आफ्नै कठिनाइहरु पहिचान गर्नुहुन्छ । फेरि ति कठिनाइहरुलाई कसरी सम्बोधन गर्ने, समाधान गर्ने भन्नेबारे पनि उहाँहरुले नै एउटा स्ट्राटेजी बनाउनुहुन्छ ।

दुःखमात्रै होइन सुख पनि फोटो भ्वाइसमार्फत शेयर हुन्छ । यसरी त्यहाँ एउटा यस्तो किसिमको कम्युनिटी डिभलप हुँदोरहेछ कि मेरो मात्रै त दुःख होइन रहेछ । अरुको पनि अवस्था त्यस्तै रहेछ । कतिको त आफ्नोभन्दा बढी दुःख, पीडा भएको पनि देखिने अवस्था रहन्छ ।

यो स्ट्राटेजी बनाइसके पछि अब एक्सनमा जानुपर्यो । त्यसका लागि उहाँहरुले आफ्ना स्ट्रेन्थहरु हेर्नुहुन्छ । मसँग यो स्ट्रेन्थ छ, अर्कोसँग अर्को, अब हामी यो यो काम गरौं भनेर कामको बाँडफाँट गर्नुहुन्छ । अनि मात्रै हामी एक्सनमा जान्छौं । सामान्य तरिकाले भन्दा आफ्नो च्यालेन्ज आइडेन्टिफाइ गर्नुहुन्छ, त्यो च्यालेन्जलाई कसरी सम्बोधन गर्ने भनेर आफैं स्ट्राटेजी बनाउनुहुन्छ । त्यसपछि उहाँहरु एक्सनमा जानुहुन्छ । एक्सनमा जाँदा गरिने धेरै टुल्समध्ये एउटा हो फोटो भ्वाइस ।

फोटो भ्वाइसलाई रिसर्चको टुलमा युज गरिन्छ । तर हामीले चाहिँ धेरैजसो ह्युमन ट्राफिकिङको केसमा, त्यसको एडभोकेसीमा प्रयोग गरेका छौं । आफू बोल्न नसके पनि फोटो बोल्न सक्छ भन्ने धारणाले हामीले फोटो भ्वाइस राखेका छौं ।

– हिजो सुझाव दिने किसिमका तरिकालाई विस्थापित गर्दै सहभागीमुलक विधि अनुसरण गर्दाको परिवर्तन कस्तो पाउनुभएको छ त ?

हामीले सहभागीमुलक क्रियात्मक अनुसन्धान विधि चाहिँ छाता टर्म भयो । फोटो भ्वाइस भनेको चाहिँ । उहाँहरुले आफ्नो मोबाइल वा मोबाइल छैन भने हामी क्यामेरा दिन्छौं । त्यसपछि उहाँहरुले आफ्नो व्यक्तिगत होइन । तर वस्तुहरुको फोटो उहाँहरुले खिच्नुहुन्छ । आफूलाई लागेको आफ्नो भावनाअनुरुप फोटो खिचेर ल्याउनुहुन्छ ।

कस्तो कस्तो फोटो खिचेर ल्याउने त भन्ने कुराको पनि केही विधि हुन्छ । दुःखमात्रै नभएर सुख, वा मानसिक, शारीरिक अवस्थामा परेका प्रभावहरु, अब सरकारी, संघसंस्थागत निकायबाट के के गर्नुपर्छ जस्ता सामान्य मापदण्ड बनाएका छौं । त्यसरी उहाँहरुले खिचेका फोटोहरुको बारेमा अर्को दिनको वर्कसप हुन्छ । त्यहाँ उहाँहरुले आफैं भन्नुहुन्छ ।

दुःखमात्रै होइन सुख पनि फोटो भ्वाइसमार्फत शेयर हुन्छ । यसरी त्यहाँ एउटा यस्तो किसिमको कम्युनिटी डिभलप हुँदोरहेछ कि मेरो मात्रै त दुःख होइन रहेछ । अरुको पनि अवस्था त्यस्तै रहेछ । कतिको त आफ्नोभन्दा बढी दुःख, पीडा भएको पनि देखिने अवस्था रहन्छ ।

यसरी एकअर्कामा शेयर गर्ने मौका भएको हुँदा उहाँहरुलाई एक्सप्रेसिभ थेरापीको रुपमा हिलिङ प्रोसेसको रुपमा पनि यसले काम गर्दोरहेछ । कतिले त आफूलाई निकै हल्का भएको, सजिलो भएको र यस्तै किसिमको हिलिङ हुने भए त हामी चाँडै नै रिइन्टिग्रेसन हुन्छ होला भन्ने गर्नुभएको छ ।

मेन कुरा फण्डिङ नै छैन । सरकारले नै अनुसन्धानका लागि भने यति भनेर फण्ड छुट्याइदिने हो भने यसको विकास हुनसक्छ । सरकारी निकायबाटै पोलिसी बनाउनुभन्दा अगाडि, प्रोग्राम बनाउनुअघि रिसर्च गर्नुपर्छ, मलाई यस्तो लाग्छ ।

– यहाँले क्यानडामा गरिरहनुभएको कामबारे अलिकति बताइदिनुस् न । अनि क्यानडा र नेपालमा मानव बेचबिखनको अवस्था के रहेछ ?

यहाँ पनि अहिले त डोमेस्टिक ट्राफिकिङ हुने गरेको कारणले एक ठाउँबाट अर्को ठाउँमा ट्राफिकिङ भइरहेको छ । क्यानडमा चाहिँ मैले सुरुमा के ठान्थे भने डेस्टिनेशन कन्ट्रीमात्रै होइन कि अहिले त्यहाँ भित्रै पनि डोमेस्टिक ट्राफिकिङ एकदमै भइरहेको छ ।

त्यहाँको इन्डिजिनस कम्युनिटीका मानिसहरुको अवस्था यस्तो छ । स्पेन, मेक्सिकोलगायतबाट आउने गरेका छन् । उहाँहरुलाई लेबर ट्रफिकिङका रुपमा लिएर आइने देखिन्छ । यो पनि एक किसिमको ट्राफिकिङ नै हो । तर रिन्टिग्रेसनको विषयमा भने ट्राफिकिङमा परेर क्यानडा पुगेका छन् र त्यहाँ नै बस्न चाहन्छन् भने चाहिँ त्यसको सुविधा भने छ ।

– हामीकहाँ धेरै रिसर्च छैन । जे जे गर्नुपर्छ सबै वेस्टर्न रिफेरन्स लिनुपर्ने अवस्था छ भने रिसर्चलाई नेपालमा विकास गर्न के गर्नु पर्ला यहाँको विचारमा ?

राम्रो कुरा गर्नु भयो । किनभने हामी जहिले पनि डिकोलोनाइजिङ अप्रोचको कुरा गर्छौं । त्यो त डिकोलोनाइज्ड नै भएन नि । हामीकहाँ रिसर्च चाहिँ निकै कम हुने गरेको छ । पहिला त युनिभर्सिटीमा केवल कुनै कोर्स पढ्यो सक्यो भन्ने हुन्थ्यो । अहिले केही रिसर्चका काम हुन खोजिएका पनि छन् ।

तर मेन कुरा फण्डिङ नै छैन । सरकारले नै अनुसन्धानका लागि भने यति भनेर फण्ड छुट्याइदिने हो भने यसको विकास हुनसक्छ । सरकारी निकायबाटै पोलिसी बनाउनुभन्दा अगाडि, प्रोग्राम बनाउनुअघि रिसर्च गर्नुपर्छ, मलाई यस्तो लाग्छ । सोसल साइन्टिस्टको हिसाबले पनि मेरो निवेदन नै हो कि सरकारले रिसर्चमा यसरी काम गरोस् भन्ने मेरो अनुरोध पनि हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर