सेयर धितो कर्जामा ठूला लगानीकर्ताको रजगज, सानालाई कसरी हुन्छ सहज ?
बजार बढेसँगै सेयर धितो कर्जा पनि बढ्यो, घरजग्गामा जाने कर्जाको कस्तो छ अवस्था ?
काठमाडौ । सेयर बजार उकालो लागेसँगै सेयर धितो राखेर प्रवाह हुने कर्जा बढेको छ । सेयर धितो कर्जामा ठूला लगानीकर्ताहरुको हालीमुहाली देखिएको छ । उनीहरुले झण्डै आधा खर्ब जति ऋण लिएको देखिन्छ । सेयर धितो राखेर १ करोड रुपैयाँ भन्दा बढी लिनेहरु २५ प्रतिशतले बढेको देखिन्छ । १ करोड भन्दा माथिको कर्जा ५५ अर्ब ९३ करोड रुपैयाँ प्रवाह भएको छ । अघिल्लो वर्ष ४४ अर्ब ७१ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो ।
५० लाख भन्दा माथिको १२ अर्ब ४२ करोड, २५ लाख भन्दा माथिको १४ अर्ब ४२ करोड र २५ लाख भन्दा मुनीको ७ अर्ब ३१ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।
समग्र लगानीकर्ताहरुले एक वर्षमा लिएको सेयर धितो कर्जा १८.१ प्रतिशतले बढेको छ । २०८१ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुबाट ९० अर्ब ९ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । अघिल्लो वर्ष २०८० असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले ७६ अर्ब ३० करोड रुपैयाँ बराबरको सेयर कर्जा प्रवाह गरेका थिए । पछिल्लो समय सेयर बजार बढी रहेको छ । नेप्से परिसूचकसँगै कारोबार रकमले पनि दिनदिनै नयाँ रेकर्ड बनाइरहेको छ ।
सेयर बजारको बढ्दो गतिसँगै सेयरमा ठुलो परिणामको लगानी भित्रिरहेको बैंकहरुले प्रवाह गरेको कर्जाले पुष्टि गरेको छ । केन्द्रिय बैंकले चालु आर्थिक वर्ष (२०८१÷८२) को मौद्रिक नीति मार्फत सेयर बजारमा केही लचिलो नीति समेत लिएको छ । यसले पनि बजार बढ्न सहयोग पुगेको छ । र, अहिलेको सरकार पनि सेयर बजार मैत्री रहेको टिप्पणी समेत भइरहेको छ ।
सेयर विश्लेषक मूक्ति अर्याल सेयर धितो कर्जामा ठूला लगानीकर्ता हाबी भएको बताउँछन् । उनले सेयर बजारमा ठला लगानीकर्ताकै बर्चस्व हुने भएकाले कर्जामा पनि उनीहरूनै हाबी हुने बताए ।
कतिपय अवस्थामा ठुला लगानीकर्ताले डिमाण्ड धेरै गरेको देखाएर सेयरको कृत्रिम मुल्य बढाउँने र आफुले खरिद गर्ने बेला डिमाण्ड नै नगरेर घटाउँने गरेको भन्दै आलोचना समेत हुने गरेको छ ।
घरजग्गामा जाने कर्जा बढ्दा विजनेश कम्प्लेक्सका लागि लिइने कर्जा घट्यो
यता खासै सुधार हुन नसकेको घरजग्गा कारोबारका लागि प्रवाह हुने कर्जा पनि सामान्य बढेको छ । गत आव यो क्षेत्रमा २ खर्ब ६८ अर्ब ११२ करोड रुपैयाँ प्रवाह भएको छ । यो भनेको अघिल्लो वर्षको तुलनामा ७.५ प्रतिशतले बढी हो । अघिल्लो वर्ष २ खर्ब ४९ अर्ब ४४ करोड रुपैयाँ प्रवाह भएको थियो । यसमा २ करोड सम्मको आवासिय घरकर्जा शिर्षकमा प्रवाह हुने कर्जा जोडिएको छैन ।
२ करोडसम्मको आवासिय घरकर्जा बाहेकको अर्को आवासिय घरकर्जा १०.८ प्रतिशतले बढेको छ । आवासीय घरकर्जामा ७२ अर्ब रुपैयाँ प्रवाह भएको छ । यता आम्दानी गर्ने उदेश्यले बनाइने व्यावसायिक भवनका लागि प्रवाह हुने कर्जा भने ह्वातै घटेको छ । कतिपय भएका व्यवसायले पनि व्यापार नहुँदा सटर बन्द गरेरै हिँड्नुपर्ने अवस्था आएको पनि गुनासो देखिन्छ ।
साढे १८ प्रतिशतले घटेको कर्जा प्रवाह व्यावसायीक भवनका लागि ९ अर्ब ४३ करोड प्रवाह भएको देखिन्छ । जबकी अघिल्लो वर्ष यस्तो शीर्षकमा ११ अर्ब ५७ करोड रुपैयाँ प्रवाह भएको देखिन्छ । यस्तै जग्गा खरिद र प्लटिङका लागि ५९ अर्ब ४५ करोड रुपैयाँ कर्जा गएको छ । अघिल्लो वर्ष ४५ अर्ब ३३ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो ।