गगन थापाको दाबी- सक्कली संघीयता कार्यान्वयनमा ल्याउन संविधान संशोधन
रुपन्देही । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस र एमालेले निश्चित उद्देश्य पूरा गर्नका लागि सरकार बनाएकाले त्यसलाई पूरा गर्ने बताएका छन् । विगतमा पनि नेपाली कांग्रेस र एमाले मिलेर बनाएका सरकारले जे उद्देश्य लिएर सरकार बनाएका थिए त्यसलाई पूरा गरेको बताउँदै उनले वर्तमान सरकार साढे ३ वर्ष नै चल्ने र कुनै पनि उलथपुथल नहुने दाबी गरे ।
मंगलवारदेखि लुम्बिनीमा शुरु भएको नेपाली कांग्रेस रुपन्देहीको ३ दिने आवासीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेकपा एमालेको उपद्रोलाई आफूहरुले रोक्ने र कांग्रेसले चकचक नगर्ने बताउँदै अहिले बनेको सत्ता गठबन्धन पूरा अवधिसम्म नै चल्ने दाबी गरेका हुन् ।
‘नेकपा एमालेको उपद्रो रोक्छौँ, कांग्रेसको चकचक गर्ने बानी पनि छैन । चकचक पनि गर्दैन । यो गठबन्धन साढे ३ वर्षसम्म नै चल्छ,’ महामन्त्री थापाले भने ।
‘कांग्रेस र एमालेको सरकार पहिलो पटक अहिले बनेको त होइन् । यसभन्दा अघि २०४७ सालमा, २०५६ सालमा, २०६२÷६३ सालमा २०७० सालमा दुई दल मिलेर सरकार बनेको प्रसंङ उल्लेखसमेत गर्नुभयो । त्यो बेला जे गर्छौ भनेका थिए । त्यो पूरा भएका छन् । अहिले पनि भनेको कुरा पूरा हुन्छ,’ उनले भने ।
महामन्त्री थापाले संविधान गतिशील दस्तावेज भएकाले समयको आवश्यकताअनुसार संशोधन गर्दै जानुपर्ने भन्दै संविधानलाई चलायमान बनाउन आवश्यक रहेको चर्चा गरे । थापाले अहिलेको संघीयता नक्कली भएको भन्दै संविधान संशोधन गरेर सक्कली संघीयता कार्यान्वयनमा ल्याउने प्रष्ट पारे ।
यस्तै महामन्त्री थापाले कांग्रेस रुपन्देहीले सुरु गरेको प्रशिक्षणको कार्यक्रम अब देशभर नै सुरु हु्ने जनाएका थिए । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य भरतकुमार शाहले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउनुको विकल्प नभएको बताए । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले जनप्रतिनिधिहरु जनताभन्दा ठूलो हुँ भन्ने भावना राख्न नहुने बताए ।
नेपाली कांग्रेसका रुपन्देही सभापति रामकृष्ण खाँणले प्रशिक्षण कार्यक्रमले पार्टीलाई अझै बलियो र गतिशील बनाउने बताए । ३ दिनसम्म चल्ने कार्यक्रममा गोविन्द्र पोखरेल, डा. सुरेश आचार्य, छन्द्रकुमार पहराई र उमेश श्रेष्ठले प्रशिक्षण दिने र कार्यक्रमको समापनको लागि पार्टी उपसभापति पूर्णबहादुर खड्का आउने कार्यक्रम रहेको नेपाली कांग्रेस रुपन्देहीका कोषाध्यक्ष हरिप्रसाद अर्यालले बताए ।