लुम्बिनी प्रदेशसभामा प्रतिवेदनसहित पेश हुँदै स्थानीय सेवा ऐनको विधेयक
रुपन्देही । लुम्बिनी प्रदेशसभाको बैठकमा स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिवेदनसहित पेश हुने भएको छ ।
बुधवार दिउँसो १ बजे बस्ने प्रदेश सभाको चौथो अधिवेशनको २६ औँ बैठकमा प्रदेश मामिला तथा कानून समितिका सभापति दिलकुमारी बुढाले प्रतिवेदन सहितको विधेयक पेश गर्ने कार्यसूची रहेको छ ।
यो विधेयक वैशाख ३० गते प्रदेश सभामा पेश भएको थियो । दफावार छलफलका लागि प्रदेश सभाले प्रदेश मामिला तथा कानून समितिमा पठाएको थियो ।
विधेयकभित्र स्थानीय तहमा कार्यरत महिला कर्मचारीले महिनाको एक दिन महिनावारी बिदा लिन पाउने व्यवस्था राखिएको छ । प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकमा पनि यो विषय राखिएको थियो ।
यस्तै स्थानीय तहका कर्मचारीलाई प्रदेशभित्रका कुनै स्थानीय तहमा मन्त्रालयले सरुवा गर्न सक्ने, स्थानीय तहका कर्मचारी सरुवा भई जाँदा दुवै पालिकाको अनुमति नचाहिने व्यवस्था राखिएको छ । हाल अन्तरपालिका सरुवा हुन खोज्दा दुवै पालिकाको अनुमति चाहिने प्रावधान छ ।
यस्तै मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभामा पेश गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।
मंगलबार मुख्यमन्त्री आचार्यले विश्वासको मत लिएसँगै केही दिन सदन नियमित हुनेछ ।
स्थानीय तहमा कानुन नबनेका कारण लामो समयदेखि त्यहाँ रहेका कर्मचारी सरूवाबढुवा तथा नयाँ कर्मचारी व्यवस्थापनमा झमेला रहेको छ । प्रदेश सभाले प्रदेश निजामती कानुन बनाइसकेको छ ।