विश्वविद्यालय पदाधिकारीलाई कसले दियो धम्की ? शिक्षामन्त्रीबाट सार्वजनिकरुपमै सुरक्षा माग – Nepal Press

विश्वविद्यालय पदाधिकारीलाई कसले दियो धम्की ? शिक्षामन्त्रीबाट सार्वजनिकरुपमै सुरक्षा माग

शिक्षामन्त्री र विश्वविद्यालय पदाधिकारीले ‘कृत्रिम सुरक्षा थ्रेट’ फैलाएको नेविसंघ नेताको आरोप, भदौ ९ गतेको मुद्दालाई प्रभावित गर्न खोजेको दाबी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बराल,रेक्टर खड्ग केसी र रजिष्टार केदार रिजालमाथि सुरक्षा चुनौती दिइएको भन्दै शिक्षामन्त्री विद्या भट्टराईले सार्वजकिरुपमै गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएपछि खैलाबैला मच्चिएको छ ।

एउटै क्याबिनेटका मन्त्रीले सार्वजनिकरुपमा सुरक्षा माग गर्नुले प्राज्ञिक क्षेत्रमा त्रास समेत उत्पन्न भएको छ । यसअघि विश्वविद्यालयको तर्फबाट रजिष्टार केदार रिजालले शुक्रवार गृह मन्त्रालयमा पत्र नै लेखेर सुरक्षा माग गरेका थिए ।

शुक्रवारदेखि विश्वविद्यालयका पदाधिकारी कार्यालयमा गएका छैनन् । यद्यपि उपकुलपति बराल डेंगुका कारण कार्यालयमा नगएको बताइएको छ । उनी बुधवारदेखि विश्वविद्यालय जाने बताइएको छ ।

विश्वविद्यालय पदाधिकारीलाई कसले धम्की दियो ? यसबारे औपचारिक रूपमा कोही बोलेका छैनन् । तर पदाधिकारीहरूले समाजशास्त्र विभागका प्रमुखको नियुक्तिलाई लिएर सत्ता गठबन्धनमा आबद्ध नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका नेताहरूले धम्की दिएको बताएका छन् ।

मानविकी तथा सामाजिक शास्त्र संकायकी डिन कुसुम शाक्यले कार्यविधि मिचेर विभागीय प्रमुखमा टीका गौतमको नाम सिफारिस गरेपछि कार्यकारी परिषदले नियुक्तिको निर्णय गरेको छैन । गौतमलाई नियुक्त गर्न नेविसंघका नेताहरूले दबाब दिएको बताइएको छ ।

समाजशास्त्र विभाग प्रमुख युवराज लुइँटेलको कार्यकाल शुक्रवार सकिएको थियो । ज्येष्ठता र वरिष्ठताका आधारमा विभागीय प्रमुख नियुक्त हुने व्यवस्था कार्यविधिमा रहेको र सो अनुसार पासाङ शेर्पाको नियुक्ति हुनुपर्ने विश्वविद्यालय पदाधिकारीहरूको अडान छ ।

डिन शाक्यले पहिलो नम्बरमा रहेका पासाङ शेर्पाको साटो दोस्रो वरियतामा रहेका सहप्राध्यापक टीकाराम गौतमको नाम सिफारिस गरेकी छन् । विभागले भने वरिष्ठताका आधारमा एक नम्बरमा सहप्राध्यापक शेर्पा, दुई नम्बरमा गौतम र तेस्रो नम्बरमा मनहरि ढकालको नाम सिफारिस गरेको थियो ।

नेविसंघका नेता योगेन्द्र रावल, विश्वविद्यालयका सभापति श्यामराज ओझा लगायतको नामै लिएर पदाधिकारीलाई धम्की दिएको आरोप छ । शिक्षामन्त्रीले सार्वजनिकरुपमै गृहमन्त्रीसमक्ष सुरक्षा माग गरेकी छन् । तर नेविसंघ नेता रावल भने एक दिन अगाडि पनि गृहमन्त्री लेखकसँगै थिए ।

गृहमन्त्री रमेश लेखकसँग योगेन्द्र रावललगायतका नेविसंघ त्रिवि इकाईका नेताहरू

रावलले नेपाल प्रेससँग कुरा गर्दै उपप्राध्यापक प्रेम चलाउनेले आफूहरुविरुद्ध चार वर्षदेखि चलाइरहेको मुद्दाको भदौ ९ गतेबाट पुनरावेदनमा बहस हुने भएकाले अदालतलाई प्रभावित पार्न विश्वविद्यालयका पदाधिकारी र शिक्षा मन्त्रीले नै नियोजितरुपमा विषयान्तर गरेको आरोप लगाए ।

रावलले भने- ‘रेक्टर खड्ग केसी सरले पहिलेदेखि नै हामीलाई खेदिरहनुभएको छ । हामीले कसैलाई एक कल फोन गरेका पनि छैनौँ र धम्की दिएको पनि छैन । उहाँहरूले नै बनाएको कार्यविधि अनुसार क्याम्पस प्रमुख प्रतिस्पर्धाबाट नियुक्ति गर्ने भनेपछि सो सरहको विभाग प्रमुख पनि प्रतिस्पर्धाबाट गर्नुहोस् भनेको हो । उहाँहरूले यसअघि विभाग प्रमुख भइसकेका टिकाराम गौतम सरलाई रोक्न त्रिचन्द्र क्याम्पसबाट एमालेको क्याडर पासाङ शेर्पा सरलाई सरुवा गर्नुभएको छ । हामीले यो मिलेन भनेका हौँ, तर विश्वविद्यालयका पदाधिकारीलाई केही भनेका छैनौँ । बरु उपकुलपति सर आजबाट कार्यालय आउने भन्ने सुनेकाले भेटेर कसले थ्रेट थियो भनेर सोध्ने विचार गरेका छौँ ।’

आफूहरुविरुद्ध नियोजितरुपमा अफवाह फैलाइएको आरोप रावलको छ । गृहमन्त्री रमेश लेखक कांग्रेस पार्टीको नेता भएका कारण भेट भइरहने भन्दै अरू कुनै विषयमा कुरा नभएको समेत उनले बताए । आफूहरूले समाजशास्त्र विभागको प्रमुख टीकाराम गौतम नै चाहिन्छ नभनेको तर कार्यविधि अनुसार प्रतिस्पर्धा गराउन आग्रह गरेको बताए ।

त्रिवि समाज शास्त्र विभाग सधैं बाहुबली प्रदर्शन गर्ने अखडा बन्दै आएको छ । यसअघि सोही विभागका उप प्राध्यापक प्रेम चलाउनेमाथि नेविसंघका नेताहरुले सांघातिक आक्रमण गरेको मुद्दा अहिले पनि अदालतमा विचाराधीन छ ।

यसअघि सरकारले विद्यार्थीको मुद्दा फिर्ता लिन खोज्दा विरोध भएको थियो । समाजशास्त्र विभागको प्रमुखमा शेर्पालाई रोकेर गौतमलाई नियुक्त गराउन नेविसंघ नेताहरुको दबाब छ ।

शेर्पा एमालेनिकट हुन् भने गौतम कांग्रेसनिकट हुन् । नियुक्तिको मितिको हिसाबले गौतमभन्दा शेर्पा सिनियर भएकाले त्रिवि पदाधिकारीले बरिष्ठता अनुसार गर्ने अडान लिएका छन् ।

मेरिटका आधारमा नियुक्त भएका पदाधिकारीले कार्यविधी र मेरिटबाहेक दायाँबायाँ नगर्ने अडान लिएपछि टसल बढेको हो । नेविसंघका नेताहरुको धम्कीका कारण शुक्रवारदेखि कार्यालय नगएका पदााधिकारी आज बुधवारबाट हाजिर हुने भएको बताइएको छ ।

यसबीचमा लगातार दुई दिन बिदा परेका कारण पनि उनीहरु बुधवारदेखि कार्यालय आउनेगरी सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर