त्रिविभित्र निमित्त आतंक ! निमित्तले पनि दिन थाले निमित्त – Nepal Press

त्रिविभित्र निमित्त आतंक ! निमित्तले पनि दिन थाले निमित्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले नियुक्तिको ६ महिना बित्न लाग्दासम्म रेक्टर र रजिष्ट्रारबाहेक अन्य पद नियुक्त गर्न सकेका छैनन् । डीनका कार्यालयहरू निमित्तको पनि निमित्त भरमा चल्न थालेका छन् ।

त्रिविको संस्थान र संकायमा डीन नियुक्त नहुँदा तलसम्म असर परेको सरोकारवाला बताउँछन् । अधिकांश क्याम्पसमा पनि यतिखेर निमित्त छन् ।

मुलुककै पुरानो र ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्साशास्त्र, इन्जिनियरिङ, कृषि तथा पशुविज्ञान अध्ययन संकाय, विज्ञान तथा प्रविधि संस्थान र वन विज्ञान अध्ययन संस्थान छन् । त्यस्तै मानविकी तथा सामाजिक शास्त्र, कानून, शिक्षा र व्यवस्थापन गरी ४ संकाय र ५ अध्ययन संस्थान छन् ।

विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा प्रा.डा. विनिल अर्याल, व्यवस्थापन संकायमा प्रा.डा. डिल्लीराज शर्मा, कानून संकायमा डा. कृष्णप्रसाद बस्याल र वन विज्ञान अध्ययन संस्थानमा प्रा.डा. वीरबहादुर खनाल क्षेत्री डीन छन् । उनीहरू आगामी पुस ९ मा डीनकाे कार्यकाल सकिँदैछ ।

चिकित्साशास्त्र, कृषि तथा पशुविज्ञान र इन्जिनियरिङ अध्ययन संस्थान निमित्त डीनको भरमा चलिरहेका छन् । मानविकी तथा सामाजिक शास्त्र र शिक्षा संकायमा पनि निमित्त डीन छन् ।

चिकित्साशास्त्रमा प्रा.डा. दिव्यासिंह शाह, इन्जिनियरिङ्ग अध्ययन संस्थानमा प्रा.डा. शशीधर राम जोशी, कृषि तथा पशुविज्ञान अध्ययन संस्थानमा प्रा. भार्गव धिताल, मानविकी तथा सामाजिक शास्त्र संकायमा प्रा.डा. कुसुम शाक्य र शिक्षाशास्त्र संकायमा प्रा.डा. चित्रबहादुर बुढाथोकी डीन थिए । २०७७ साउन १० मा नियुक्त शाक्य, जोशी र बुढाथोकीको चार वर्षे अवधि गत साउन १० मा सकिएको छ । कार्यकाल सकिनुअघि नै उनीहरूलाई अर्को व्यवस्था नभएसम्मको लागि निमित्तको जिम्मेवारी दिइएको छ ।

चिकित्साशास्त्र अध्ययन संस्थानमा साउन २ बाट डीनको कार्यकाल सकिएपछि शाहलाई नै निमित्त डीनको जिम्मेवारी दिइएको छ ।

उपकुलपति बरालले मानविकी तथा सामाजिक शास्त्र संकायमा प्रा.डा. कुशुमशाक्य र शिक्षाशास्त्र संकायमा प्रा.डा. चित्रबहादुर बुढाथोकी, कृषि तथा पशुविकास विज्ञानमा प्रा. डा. कनैयाप्रसाद कुमार र इन्जिनियरिङ्ग अध्ययन संस्थानमा प्रा.डा. विनोदकुमार भट्टराईलाई निमित्तको जिम्मेवारी दिएका छ्न् । साउन १२ गते डा. शशीधरराम जोशीको कार्यकाल सकिएपछि सहायक डीन भट्टराईलाई निमित्त दिइएको हो ।

गत चैतमा कृषि तथा पशु विज्ञानका डीन धितालको कार्यकाल सकिएपछि वैशाख १ देखि प्रा. डा. कनैयाप्रसाद कुमार निमित्त छन् । मानविकी संकायकी कुसुम र शिक्षा संकायका बुढाथोकीको साउन १० मा रिटार्यड भइसकेका छन् ।

निमित्त पनि दिन थाले निमित्त

निमित्तहरू नै केहीको कार्यकाल सकिएको छ । केही बिरामी बिदामा छन् । शाक्य र बुढाथोकीको कार्यकाल सकिसकेको छ भने कनैया कुमार बिरामी भएर भारतमा उपचार गराइराखेका छन् । यस्तै भट्टराई पनि अप्राविधिकलाई निमित्त डीन भन्दै विरोध भइरहेको छ । कृषि तथा पशु विज्ञान संस्थानका निमित्त डिनले निमित्त सहायक डीनलाई काम चलाउ दिएका छन् । कृषिको निमित्त डीन पाएका प्रा.डा. कनैया यतिबेला उपचारका लागि भारतमा छन् । कार्यविधि उल्लंघन गर्दै सहायक डीन किशोर दाहाललाई निमित्तको जिम्मेवारी दिएको भन्दै आलोचना भएको छ ।

वैशाख १ देखि अर्को व्यवस्था नहुन्जेलसम्म निमित्त पाएका कनैयाले उपचार गर्न गएपछि कामचलाउ रूपमा अर्को व्यवस्था नभएसम्म दाहाललाई जिम्मेवारी थमाए । स्रोतका अनुसार कनैयाकुमारले भारतबाटै राजीनामा पठाएका छन् । तर, स्वीकृत नभइसकेकाले उनी नै निमित्त डीन रहने त्रिविका एक पदाधिकारी बताउँछन् ।

घरबाटै काम गर्छन् भीसी

खुल्ला प्रतिस्पर्धाबाट नियुक्ति भएका उपकुलपति बराल विश्वविद्यालय नगएको १५ दिनभन्दा बढी भयो । डेंगुका कारण उनी घरबाटै काम गरिरहेको बताइएको छ । जुम मिटिङमा जोडिएर कार्यकारी परिषद्को निर्णय गरिरहेका छन् ।

लामो समयसम्म निमित्तको भरमा विश्वविद्यालय चलाउन खोजेको भन्दै पूर्वउपकुलपति केदारभक्त माथेमाले स्वास्थ्य अवस्थाले साथ नदिए राजीनामा दिन सुझाए । डीनको नियुक्तिमा भीसीमाथि कुनै राजनीतिक दबाब नभएको स्रोतको भनाइ छ ।

भिसी बरालले खुल्ला प्रतिस्पर्धाबाट नियुक्त गर्ने बताएपनि सर्ट कमिटी बनेको छैन । डीन नियुक्तिका लागि विश्वविद्यालयले सम्बन्धित विज्ञ सम्मिलित सिफारिस समिति बनाउनुपर्छ । भीसीले गठन गरेको सर्ट कमिटीले डीनको नाम सिफारिस गर्छ । तर, त्यसका लागि हालसम्म कुनै प्रक्रिया सुरू गरिएको छैन ।

केही विभाग र क्याम्पसमा समेत अर्को व्यवस्था नभएसम्मको लागि भन्दै निमित्त दिइएको छ ।

पृथ्वीनारायण क्याम्पस पोखरा, वन विज्ञान क्याम्पस पोखरा, नेपालगञ्ज नर्सिङ क्याम्पस, जनप्रशासन क्याम्पस काठमाडौं, मेची बहुमुखी क्याम्पस झापा, रत्नराज्य लक्ष्मी क्याम्पस काठमाडौं, बुटवल बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुख निमित्त दिइएको छ ।

खुला प्रतिस्पर्धाबाट आएका भीसीले सबै राम्रो गरिराखेको छ भन्ने धेरैको भ्रम रहेको नेपाल प्रगतिशील प्राध्यापक संगठनका अध्यक्ष प्रा.डा. वेदराज केसी टिप्पणी गर्छन् ।

‘उनले निमित्तको भरमा विश्वविद्यालयलाई अघि लैजान खोजेका छन् । जुन गलत भइरहेको छ । ६ महिनासम्म पनि विश्वविद्यालय ट्रयाकमा जान नसक्नु दु:खद हो । यो टीमले राम्रो काम गर्न सकेन’, केसीको भनाइ छ ।

निमित्तको भरमा हुँदा विश्वविद्यालय भद्रगोल भएको भन्दै उनी थप्छन्, ‘अस्तव्यस्त हुन्छ । स्थायी भएको मान्छेलाई ४ वर्षको लागि भनेर प्लानिङ गरिएको हुन्छ । निमित्तको भरमा कुन दिन छोड्नुपर्ने हो भन्ने हुन्छ । निमित्तको भरमा विश्वविद्यालय चल्दा त्यसले राम्रो सन्देश दिँदैन । उसले मन लागेर काम गरेको पनि हुँदैन । कार्यक्रमहरू अस्तव्यस्त हुन्छ ।’

यस्तै त्रिविमा पदाधिकारीहरु आएपछि आफनो संगठन निकटलाई च्याप्ने प्रवृत्तिले गर्दा यहाँ स्थायी नियुक्तिमा सँधै समस्या हुने प्रजातान्त्रिक प्राध्यापक संघ सभापति सह प्राध्यापक जगत तिमिल्सिनाले बताए ।

उनले भने,‘डिनको नियुक्तिको लागि प्रकृयामा जाँदा त्यसले पछिसम्म प्रभाव पार्छ । नियुक्ती समयमा भयो भने एउटा प्रकृयामा भयो भने त्यसले विश्वविद्यालयलाई धेरै प्रभाव पार्छ । एउटा स्थायित्व हुन्छ ।’ विश्वविद्यालय बाहिरबाट देख्दा अर्को छ भित्र अर्को छ । राजनीतिक बैचारिकबाटमाथि उठेर निर्णय गर्नुपर्छ । तर यहाँ पदाधिकारीहरु आएपछि आफनो संगठनसँग नजिक भएकाहरुको लागि पद हस्तक्षेप गर्ने अवस्था छ । त्यसले गर्दा धेरै गाह्रो स्थिति ल्याएको छ । यसमा पदाधिकारीहरुले बसेर समाधान गर्नुपर्ने हुन्छ । ’

डिन कार्यालय नै निमित्तको भर पर्दा त्रिविको प्रशासनिक तथा अन्य कार्यसम्पादनमा असहज हुने पूर्वउपकुलपति माथेमा बताउँछन् ।

उनी भन्छन्,‘ डिनको नियुक्तिमा ढिला हुँदा तल्लो तहसम्म प्रभाव पार्छ । तल्लो तहमा विभागीय प्रमुखदेखि क्याम्पस प्रमुखसम्मको नियुक्तिमा असर गर्छ । जसले गर्दा विश्वविद्यालय नै अस्तव्यस्त हुन्छ । प्रशासनिक तथा अन्य कार्यसम्पादनमा समेत प्रभाव पार्छ । निमित्तलाई काम गर्न मन हुँदैन । आज फयाकिने होकी भोलि फयाकिने हो भनेर काम नै गर्दैन । उहाँहरुले काम नगर्दा भोलि त्यसको नजिता नआउन सक्छ ।

के भन्छन् जिम्मेवार ?

त्रिविका रजिष्टार केदार रिजालले ५ वटा संकायमा निमित्त डीनले काम गरिरहेको बताउँदै कुनै पनि डीन रिक्त नभएको बताए ।

उनले भने,‘अर्को व्यवस्था नहुन्जेल भनेर ५ वटा डीनहरूलाई निमित्त दिइएको छ । हामी छिट्टै नियुक्तिको प्रकियामा छौं ।’

उपकुलपति प्रा. डा केशरजंग बरालले पूर्ण नियुक्ति दिने प्रकिया प्रक्रिया सुरू भइसकेको बताए । अहिले निमित्त डीनभन्दा पनि अर्को व्यवस्था नभएसम्मका लागि सबैलाई काम चलाउ नै दिइएको उनले बताए ।

बरालले नेपाल प्रेससँग भने,‘कार्यविधि तयार हुँदैछ । तयार हुनेबित्तिकै नियुक्ति गर्छौं ।’

कार्यविधि नै दुई वटा

यसअघिका उपकुलपति डा. धर्मकान्त बास्कोटाले ज्येष्ठताको आधारमा नियुक्ति गर्ने कार्यविधि बनाएका थिए । उनले सोही आधारमा विभागहरुमा नियुक्त गरेका थिए ।

अहिले भीसी बरालले बास्कोटाले बनाएको कार्यविधि यथावत राखेर अर्को कार्यविधी बनाउन लागेका छन् ।

विभाग, केन्द्रीय क्याम्पसहरुको लागि छुटै कार्यविधि विज्ञापन गर्ने निवदेन लगेर ज्येष्ठता, शैक्षिक योग्यता, कार्यदक्षता क्षमताको आधारमा नियुक्त गर्ने भनेर अर्को कार्यविधि बनाउन लाग हुन् । तर बास्कोटाले बनाएको कार्यविधि सर्वोच्च अदालतले खारेज गरिदिएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर