सामान्य शल्यक्रिया गर्न भरतपुर अस्पताल पुगेकी सम्झनाको कसरी गयो ज्यान ? – Nepal Press

सामान्य शल्यक्रिया गर्न भरतपुर अस्पताल पुगेकी सम्झनाको कसरी गयो ज्यान ?

चितवन । भरतपुर अस्पतालमा उपचारको लागि आएकी एक महिलाको ज्यान गएको छ । पाठेघरमा पलाएको मासुको डल्लो निकाल्नको लागि भरतपुर अस्पताल पुगेकी गैँडाकोट ५ घर भएकी सम्झना काफ्लेको ज्यान गएको हो ।

भदौ ३ गते अस्पताल भर्ना भएकी ३९ वर्षकी काफ्लेको पाठेघरमा सानो मासु पलाएको र सामान्य शल्यक्रिया गरेर मासुको डल्लो निकाल्नुपर्ने उपचारमा संलग्न डाक्टरले बताएका थिए ।

उनका आफन्तका अनुसार सम्झना सामान्य अवस्थामा अस्पताल पुगेकी थिइन् । उनको सामान्य शल्यक्रियाबाट मासु निकाल्न उपचारमा संलग्न डाक्टरले सुझाएका थिए ।

डाक्टरको सुझाव अनुसार हिजो मंगलबार अस्पताल भर्ना भएकी काफ्लेको उपचार भएको थियो । भरतपुर अस्पतालका स्त्री तथा प्रसूती चिकित्सा विभागका प्रमुख वरिष्ठ स्त्री तथा प्रसूती रोग विशेषज्ञ डाक्टर सुनिलमणी पोखरेलका अनुसार सामान्य शल्यक्रिया गर्नुपर्ने भएपनि शल्यक्रिया थाल्नुअघि नै काफ्लेलाई समस्या आएको थियो ।

उपचारमा संलग्न डाक्टरहरुलाई उद्धृत गर्दै विभागीय प्रमुख डाक्टर पोखरेलले ढाड भन्दा तल लठ्याउने औषधि (एनेस्थेसिया) लगाएलगत्तै काफ्लेको मुटुमा समस्या आएको बताए ।

डाक्टर पोखरेलले नेपाल प्रेससँग कुरा गर्दै भने, – उपचार थाल्नुअघि नर्मल अवस्थामा बिरामी रहिछन् । तर, एनेस्थेसिया दिएलगत्तै एक्कासी बिरामीलाई हर्टअट्याक्ट जस्तो आएछ । अप्रेशन सुरु गर्नै पाएका थिएनौँ । तत्कालै बिरामीलाई आइसियूमा सारियो । सुरुमा केही राम्रो जस्तो पनि भएको थियो । तर, राती मुटुले कामै गर्न सकेन ।’

डाक्टर पोखरेलका अनुसार यस्तो खालको एनेस्थेसिया रियाक्सन मुटु सामान्य रहेका व्यक्तिलाई हुनु दुर्लभ घटना हो । दैनिक ५/७ जनालाई एनेस्थेसिया लगाएर शल्यक्रिया गर्दा पनि मुटुमा एक्कासी समस्या हुने अवस्था आफूलाई थाहा नभएको उनले बताए । यस्तो घटना हजारमा एक जनालाई हुन्छ भनिन्छ, उनले भने, – यो पनि त्यस्तै भयो ।

उनका अनुसार पाठेघरमा नचिरीकन दुरबीनको सहायताले पलाएको मासुको डल्लो निकाल्ने तयारी गरिएको थियो । अहिले सामान्य खालको पाठेघरबाट मासु निकाल्ने शल्यक्रिया यसैगरि गरिन्छ । तर, एनेस्थेसियाले रियाक्सन गरेर मुटुमा समस्या भएपछि उपचार प्रकृया सुरु गर्नै नपाएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

तर, परिवारका सदस्यले भने नर्मल अवस्थामा उपचारको लागि आएको बिरामीलाई चिकित्सकको लापरबाहीले गर्दा ज्यान गएको आरोप लगाएका छन् ।

आफन्तले चिकित्सको लापरबाहीको आरोप लगाएपछि चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको समन्वयमा अस्पतालका पदाधिकारी, आफन्त, चिकित्सक लगायतको टोलीको बैठक बसिरहेको छ ।


प्रतिक्रिया

One thought on “सामान्य शल्यक्रिया गर्न भरतपुर अस्पताल पुगेकी सम्झनाको कसरी गयो ज्यान ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर