ओली र देउवा तप र एटीएम पुस्ता – Nepal Press

ओली र देउवा तप र एटीएम पुस्ता

एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको मित्रमिलन देश, जनता र लोकतन्त्रको लागि अपरिहार्य थियो । यी दुई पार्टीको शीर्ष स्थानमा नेताद्वय पुगेको देख्न नचाहने तत्व फेरि संवेदना उछाल्न सक्रिय छ । नेताद्वयभन्दा बाहिर देशको सर्वोच्च कार्यकारी पद प्रधानमन्त्री र दुवै पार्टीको सर्वोच्च कार्यकारी पद नजाने स्थितिलाई लक्षित गरी हमला मिश्रित विश्लेषणलाई तेज पारिँदै छ ।

ती विश्लेषकमध्ये केही त यस्ता छन् कि केही गरी आजतक गिरिजाप्रसाद कोइराला वा सुशील कोइराला जीवितै रहेर कांग्रेसको सभापति कायमै रहेको भए वा एमाले पार्टीमा माधव नेपाल वा झलनाथ खनाल बहाल नै रहेको भए, जो जित्यो उही सिकन्दर भन्दै थपडी बजाउने परेका छन् । जीवन गुरु मोहनविक्रम सिंह, निर्मल लामा र मोहन वैद्यसँग कपट गरेर माओवादीको पार्टी सत्तामा विगत लगभग चार दशकदेखि सर्वेसर्वा रहे पनि प्रचण्डलाई परिवर्तनको प्रतीक ठान्ने गरिन्छ । मात्र दशक अघिदेखि पार्टीको प्रमुखको रूपमा ओली र देउवाको मौजुदी अपाच्य भएको छ । कसैको स्वाभाविक उन्नति र प्रगतिलाई यथास्थिति ठान्ने यसप्रकारको दृष्टिदोष खोटपूर्ण छ ।

एमालेमा प्रचण्डका पूजारीको निरन्तरता खोज्ने र त्यसमा धक्का लागेपछि एमाले र कांग्रेसजस्ता स्थापित दललाई प्रहार केन्द्रित गर्ने चक्रव्यूह रचिएको छ । एमाले र कांग्रेसजस्ता स्थापित राजनीतिक दललाई धरासायी नपारी नेपाललाई तहसनहस पार्न सकिन्न भन्ने उनीहरूको प्रष्ट निष्कर्ष छ । नेपालका विरोधीसँग राग र धून मिलाउने उनीहरूको लत बसेको छ । गरिब देश, कमजोर लोकतन्त्र, विदेशी चलखेल, राजनीतिक अस्थिरता, अराजकताको खेती र निरन्तर निराशाको व्यापारले मात्र उनीहरूलाई पुगेको छैन ।

आन्तरिक धमिराहरू दुई ठूलो दलको चुनावी टसल, इगो र तिक्ततामा छिना चलाएर विगत लामो समयदेखि मातृभूमिलाई कमजोर पार्न सक्रिय थिए । उनीहरू अरु कसैका लागि रोटी सेक्दै थिए । त्यही स्वार्थमा धक्का लागेपछि उनीहरू रन्थनिएका छन् । उनीहरू अरुका उखु ल्याएर आफ्ना नेपाल माताका गाला चिर्न उद्धत छन् । यस प्रकारको संगठित साजिस र सुनियोजित हमलाको सचेत, संगठित र एकतावद्ध प्रतिवादको दरकार छ ।

उधारो नजान्ने, त्याग, धैर्य, बलिदान र अनुशासन आवश्यक नदेख्ने नगदा नगदी अझ भक्कास एटीएम राजनीतिका पारखीहरू राजनेता उत्पादन गर्ने महाविद्यालय एमाले र कांग्रेसको हुनसम्म खिल्ली उडाउँदै छन् । यी महाविद्यालयमा प्रतिस्पर्धा र पहलकदमीको माध्यमबाट तह तह र पुस्ता पुस्ताको नेतृत्व विकासको नियमित सिलसिला अविछिन्न छ । सस्तो लोकप्रियता, विज्ञापन र खपतका लागि जे जे गरिए पनि ठूला र स्थापित राजनीतिक दलहरूले वैकल्पिक नेतृत्व निर्माणको लागि व्यवहारमा अवलम्वन गरेको शैली भनेकै सहयोगात्मक शैली हो । टीका लगाएर नभई ओली र देउबाको उदय र श्रेष्ठता स्थापित पनि यही संघर्षको भट्टीमा खारिएर भएको हो ।

पञ्चायती दमनचक्रसामु जनताको प्रतिरोधी क्षमता र नेतृत्व तहमा हिम्मतको खडेरी पर्न लागेको बेला वलिदानपूर्ण झापा संघर्षको उठानमा नेतृत्वदायी भूमिका, १४ वर्ष लामो जेलजीवन, मृत्युसँगको लुकामारी, रिस गर्ने जोरिपारी, कमजोर स्वास्थ्य, थपिँदा जिम्मेवारीको मार खेपेर ओलीले युवापुस्तालाई पारेको सजिलो, प्रदान गरेको अनुकूलता र उभिने धरातललाई बिर्सिएर महत्वाकांक्षाको खेतीमा धक्का लागेकै भरमा धारेहात लगाउनु राजनीति होइन, अपराध हो । ओलीको महत्व यतिमै छैन । झापा आन्दोलन, मनमोहन समूह र पुष्पलाल समूहको यथोचित संयोजन र सम्मान गरी जननेता मदन भण्डारीको अगुवाईमा बनेको नेकपा (एमाले) समाप्त पार्ने दुई-दुई वटा साजिस विफल पार्नु, भण्डारीको अवशानपछि बेवारिस बन्ने खतरामा रहेको जनताको बहुदलीय जनवादलाई नेपालको लोकतन्त्रको अभिन्न पक्ष बनाउने वैचारिक कामको कुशल नेतृत्व गर्नु ओलीले दिएका महत्वपूर्ण देन हुन् ।

कम्युनिष्ट पार्टीको लोकतान्त्रीकरणमा, सेनापति काण्डको बेला सत्ता कब्जाको हर्कतबाट एमालेलाई दूर राखेर जनताको बहुदलीय जनवादको प्रचण्डकरणको खतरा टार्नमा, राजाको तानाशाही र माओवादीको अधिनायकवादविरुद्ध एमाले र कांग्रेसको सहकार्यमा, संविधानको निर्माण, घोषणा र नाकाबन्दीको सामनामा, लगभग चार वर्षे शासनकालमा विकास, समृद्धि र मुर्छित सपनाको पुनर्जीवन र मिचिएको भूमिमाथिको देशभक्तिपूर्ण हकदाबीमा ओलीको विराटतम व्यक्तित्वको विस्तिर्णता थाह पाउन सकिन्छ ।

आन्तरिक धमिराहरू दुई ठूलो दलको चुनावी टसल, इगो र तिक्ततामा छिना चलाएर विगत लामो समयदेखि मातृभूमिलाई कमजोर पार्न सक्रिय थिए । उनीहरू अरु कसैका लागि रोटी सेक्दै थिए । त्यही स्वार्थमा धक्का लागेपछि उनीहरू रन्थनिएका छन् । उनीहरू अरुका उखु ल्याएर आफ्ना नेपाल माताका गाला चिर्न उद्धत छन् । यस प्रकारको संगठित साजिस र सुनियोजित हमलाको सचेत, संगठित र एकतावद्ध प्रतिवादको दरकार छ ।

कम्युनिष्ट पार्टीका शीर्ष नेताहरूको साँघुरो घेराले जसलाई चाह्यो त्यसैलाई सबैले सकार्ने परम्पराको सट्टा नेताहरूको कोटरीले रोक्न खोजे पनि सार्वभौम कार्यकर्ताको रोजाईमा परेर कम्युनिष्ट पार्टीको प्रमुख बनेको कीर्तिमान पनि ओलीको नाममा मात्र स्थापित छ । मदन र मनमोहनलाई सघाउने तर नसताउने झापा विद्रोहका नेता मध्येमा ओलीमात्र हुनुहुन्थ्यो । माधव नेपाल र झलनाथ खनाल प्रधानमन्त्री हुनुमा, सीपी मैनाली र चित्रबहादुर केसी उपप्रधानमन्त्री बन्नुमा, चामल र कनिकाको योग मानिने एमाले र माओवादीको एकतापछि बनेको नेकपामा प्रचण्ड द्वितीय अध्यक्ष बन्नुमा ओलीको महान् दिल र चौडा छात्ती जान्न सकिन्छ । यी सबै उज्याला र अब्बल पक्षमाथि पर्दा लगाउने समस्या र साजिस छ । समस्याको गहिराई र षडयन्त्रको पिँध थाह नपाउँदा हामी सही निष्कर्षमा पुग्न सक्दैनौं । कर्मठ, धैर्यवान, आशावादी, सकारात्मक र रचनात्मक हुँदा मात्र हामी साजिसलाई विफल पार्न सकिन्छ ।

एटीएम पुस्तालाई देउवालाई गाली गर्नु सजिलो छ तर देउवाले भोगेको सकसको दशांश भोग्न सक्ने तत्परता छैन । काम गर्न नैनीताल जानुलाई नियति ठान्ने आफ्नो पुस्ताका सुदूरपश्चिमे युवाहरूभन्दा पृथक रहेर राजधानीमा आई, उच्च शिक्षा हासिल गरेर पनि नोकरी नखाई, सकसमा रहेको कांग्रेसका लागि काँध दिनु, जेलजीवन र निर्वासनमा रहेका नेताहरू- बीपी, गणेशमान, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालाको विरासत थाम्ने नयाँ पुस्ताको नेतृत्व गर्नु चानचुने कुरा थिएन ।

देउवाको महत्व कांग्रेसमा यति मात्र छैन । दुःखको बेलाको कोइराला परिवारलाई काँध थाप्नु तर सत्ता र शक्तिले उन्मत्त भएर कोइराला गणेशमान र कृष्णप्रसाद भट्टराईलाई गलहत्याउने कोइराला परिवारलाई दुई पटक सोच्न बाध्य पार्नु देउबाले नेपाली कांग्रेसलाई लगाएको ठूलो गुन थियो । एक थान देउवा नभैदिएको भए कांग्रेसमा कोइराला इतरका कांग्रेसहरूको निरन्तरको अपमान सिलसिलामा पूर्णविराम लाग्न अझै केही दशक कुर्नुपर्ने थियो । कोइराला बन्धुसँग कांग्रेस सभापतिको प्रतिस्पर्धामा हार बेहोरे पनि हिम्मत नहार्नु, विगतमा भिन्न खेमामा रहेका कांग्रेस हस्तीमाथि आग्रह नराख्नु र उनीहरूको टहलका लागि खास खास अवसरको सृजनामा कुनै कसर बाँकी नराख्नु देउवाको श्वेत व्यक्तित्वको सबैभन्दा चम्किलो पार्टी हो ।

जुनसुकै युगमा पनि क्रमिक विकास टिकाउ हुन्छ भने एकाएक हानिएको छलाङ चार दिनको चाँदनी हुन्छ । सामन्ती युगमा साम्राज्यको रक्षाको लागि राजाको लामो कूल परम्पराको अपरिहार्यता हुन्थ्यो भने लोकतान्त्रिक युग चुनौतीहरूको सामना गर्न एमाले, कांग्रेसजस्ता लामो इतिहास र देन भएका राजनीतिक स्कुलिङको दरकार पर्छ । आधुनिक राष्ट्र-राज्यलाई आन्दोलन हाँकेको, देश सञ्चालन र पार्टी सञ्चालन गरेको लामो र गौरवशाली राजनीतिक महाविद्यालय अर्थात् राजनीतिक स्कुलिङरूपी मेरुदण्ड चाहिन्छ । राजनीतिका दीर्घसाधक र उनीहरूको सहकार्य र परिपक्व कदमविना लोकतन्त्र आफैँले केही गर्न सक्दैन । पाकिस्तानी प्रजातन्त्र र बंगलादेशी लोकतन्त्र जन्मदेखि नै रुग्ण हुनुको मोटो कारण यही हो ।

क्रमिक विकासमा सबै काइदामा बस्छन् र काइदामा बस्ता सबैलाई फाइदा हुन्छ । युग उही सामन्ती भए पनि रामको शासनकाल दिगो भयो र राम राज्यको सुगन्ध फैलियो तर कृष्णले हतारमा खडा गरेको द्वारिका डुब्यो भने उनका हितैसी यदुवंशीहरूको शिघ्र विनाश भयो । रावणको जगजगी पनि धेरै टिकेन । कुबेरबाट सुनमय लंका हडपेका, बाली जस्ता महावलीबाट मन्दोदरी छिनेका र रामबाट सीता छिनेर निष्कण्टक विश्वदादा बन्न खोज्ने रावणसँग अन्तमा केही रहेन । हरेक युगका क्रमभंगवालाले हतारमा उटपट्याङ गर्छन् ।

लामो र सुदृढ राजनीतिक संस्कार, थुप्रै राजनीतिक उतारचढाव र शासकीय सुझबुझको विरासत बोकेको दिगो र दरिलो शक्तिले परसम्म हेर्छ । मर्यादाको उल्लंघन गर्दैन । अयोध्या अर्थात योद्धा अर्थात् सेना रहितका रघुवंशीहरू जनताको साथ र समर्थनले जगैदेखि बलिया थिए । फलत: वनबासतिर खेदिए पनि रामको सहज पुन:स्थापना सम्भवन भयो । कृष्णको कर्तव्य परायणताको भर परेर घमण्डले फुलेका, आफू केही नगर्ने यदुवंशी दिगो हुन सकेनन् ।

उतारचढाव, घेराबन्दी, असमझदारी र घातप्रतिघातका बाबजुद एमाले र कांग्रेसको गौरवशाली विगत, आशालाग्दो वर्तमान र उज्जल भविष्य क्रमिक विकास र अखण्ड सुझबुझको सदावहार राज हो भने प्रचण्ड र बाबुराम जोडादेखि रवि लामिछाने र ढाकाराम जोडासम्मको चार दिने चटकको विसर्जन क्रमभंगको क्षणिक ताण्डवको जल्दोबल्दो दृष्टान्त हो । महानदीको उतारचढाव र ताल फुटेर आएको बाढीको क्षणिक उछाल अन्तर थाह पाएर मात्र ओली र देउबाको तपको गहिराइसम्म पुग्न सकिन्छ ।

एटीएम पुस्तालाई देउवालाई गाली गर्नु सजिलो छ तर देउवाले भोगेको सकसको दशांश भोग्न सक्ने तत्परता छैन । काम गर्न नैनीताल जानुलाई नियति ठान्ने आफ्नो पुस्ताका सुदूरपश्चिमे युवाहरूभन्दा पृथक रहेर राजधानीमा आई, उच्च शिक्षा हासिल गरेर पनि नोकरी नखाई, सकसमा रहेको कांग्रेसका लागि काँध दिनु, जेलजीवन र निर्वासनमा रहेका नेताहरू- बीपी, गणेशमान, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालाको विरासत थाम्ने नयाँ पुस्ताको नेतृत्व गर्नु चानचुने कुरा थिएन ।

यी अक्षर लेखिरहँदा मैले मन्त्री पाउनको निम्ति चाकडी गरेको बाक्लै आरोप, निन्दावर्षा र गाली कारखानाको गतिलै सामना गर्नुपर्ने छ । मैले आठ वटा किताब प्रकाशित गरेँ । दुई वटा प्रकाशोन्मुख छन् । तीमध्ये अधिकांश किताबमाथि गुटको ब्राण्ड लगाइएको छ । मैले एमाले माताको रक्षा गर्न, यसको माध्यमबाट देश बनाउन र बचाउन लेखेँ । मन्त्री बन्न त एक जमाना यस्तो थियो, माधव र झलनाथ पक्षका किताब हो र ? प्रशंसा गरेर एक आलेख लेखेको भए मन्त्री बन्ने पक्का थियो । तिहुनचखुवा मन्त्री हुनुभन्दा अटल जन्ती हुनु वेश । मलाई पदलोलुपको आरोप लगाउनेलाई मेरो अन्तरआत्मा छाम्ने फुर्सद छैन ।

‘आफ्नै हातले लेखेको एक हरफ र आफैँले घोटेर लगाएको चन्दनले इन्द्रको समेत शेखी हरण गर्छ ।’ कतै पढेको यो कथन मेरो लेखनीको सदावहार उत्प्रेरक हो । मेरो कलम बाख्रो होइन, जो जहाँ पलायो त्यहीँ चर्न जावस् । मेरो कलम त्यो माली हो जुन बिरुवालाई पानी चाहियो त्यहीँ हजारीभरि पानी बोकेर हाजिर हुने गर्छ । लाभ हेरेर जता बदियो त्यतै ढलियो गर्ने एक युग थियो । म भीडको पछि लागिनँ ।

म सत्यको पक्षमा लाग्छु । सत्य र बल एक ठाउँमा छन् भने कमजोर रोज्ने म बर्बरिक होइन । सत्यको पक्ष लिनु, सत्यलाई स्थापित गर्नु र सत्यको सदावहार सत्ता कायम गर्नु मेरो राजनीति र लेखन दुबैको साध्य हो । मित्र टेकेन्द्र जोशीको भनाईमा माओवादीको भ्यालीब्युरोको बैठकमा २०६५ सालमै ओली र महेश बस्नेत भन्दा मार्न सजिलो र मारिहाल्नु पर्ने दयाल रहेको प्रस्ताव थेग्न नसकिने भनेर फेल भएकाले जीबित छु । त्यसै पनि मैले लेख्ने हरेक अक्षरहरू जोखिमसँगको स्वीकार्यता र जीवनबाटका राजिनामा हुन् । कर्तब्य र दायित्व याचनाका दास होइनन् ।

फेरि प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउबाबाट मैले माया पाउन थालेको उहाँहरू उत्कर्षमा रहेको बेलादेखि होइन । एक कालखण्ड यस्तो थियो, आज जुन एमालेको पार्टीसत्ताको बागडोर ओलीसँग छ, त्यही एमालेको पार्टीसत्ता ओलीमाथि निर्मम थियो भने आज जुन कांग्रेसको बागडोर देउबासँग छ, त्यही कांग्रेसको पार्टीसत्ता देउबामाथि हुनुसम्म निर्मम थियो । लौहपुरुष भएकाले राजनेता ओलीका आँखामा आँशु मैले देखिनँ बेग्लै कुरा हो तर एक अर्थले म उहाँका आँशु पुछ्न नजिकिएको थिएँ ।

२०५८ सालतिर मेरो कलम राजाको निरंकुशता, माओवादी ज्यादती र एमाले-कांग्रेसको पार्टी सत्ताको निरंकुशता लक्षित रह्यो । फलतः एमाले कार्यकर्ताको महासागरबाट छानिएर मैले ओली जस्तो गौरवशाली इतिहास बोकेको, प्रभावशाली र प्रचूर संभावना बोकेको नेताको उहाँकै शब्दमा देशभरकै प्यारो कार्यकर्ता बन्ने सौभाग्य पाएँ । पार्टीसत्ताको निरंकुशता समन्धी मेरा लेखहरू कांग्रेसवृत्तमा पनि पुगे । जुम्ला कांग्रेसका नेता लालबहादुर हमाल र पूर्वप्रदेश प्रमुख देवराज जोशी मार्फत् ती लेखकै कारणले कांग्रेस सभापति देउबासँग २०५८ सालदेखि नै मेरो सहज सम्बन्ध छ ।

अहिले आएर ओली र देउवाको अपरिहार्य मित्र मिलनको मेरो सपना पूरा भएकोमा भानु देउवाजी अहिले छक्क पर्नु भएको छ । २०७६ साल चैत्र ४ गते र तीन वर्षपछि २०८९ साल चैत्र ४ गते दुई पटक म यही एजेण्डा लिएर देउवा निवास पुगेको थिएँ । तत्काल मुभ हुने स्थिति नभए पनि कुरा सुन्ने र राम्रो रेस्पोन्स गर्ने सभापति देउबाको सदाव्यवहार नै आजको वास्तविकताको नर्सरी थियो ।

२०७६ साल फाल्गुन २० गते बसेको तत्कालीन नेकपाको नौ सदस्यीय सचिवालयको बदमास हिस्साले अध्यक्ष ओलीलाई केरकार गर्‍यो र स्पष्टीकरण माग्यो । जवाफमा ओलीले भन्नु भयो- ‘दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न भोलि म अस्पताल भर्ना हुँदैछु ।’ जसको अर्थ थियो- ‘मैले पुनर्जीवन पाइनछु भने मेरो पौरखमाथि, मेरो विरासतमाथि बाघको छालामा स्यालको रजाइँ गर्नू । नत्र मेरो कमजोर स्वास्थ्यमाथि तिमीहरूले थापेको कपटी पासा उल्टिने छ ।’

राजनेता ओलीले पुनर्जीवन पाउनुभयो । मातृभूमिको सौभाग्य फर्केर आयो । एमालेको धिपधिपे दियोमा तेल सकिएको रहेनछ । यो सब देखेर जनसमुदायले हर्षाशु बगाए । एमालेको अटल रहने देखेपछि प्रचण्ड, माधव र झलनाथको अनुहारमा औंसीको अवतरण भयो । यो सबबाट जानकार यो कलमले लेख्यो- ‘बाघले अनेक तरिकाले शिकार गरेझै नेकपा कायम राखेर होस् वा एमाले ब्युँत्याएर किन नहोस् प्रचण्ड, झलनाथ र वामदेव त्रिकोणको व्यवस्थापन इतिहासको माग हो ।’

एक दिन राजेश बज्राचार्यजीको फोन आयो । भन्नु भयो- ‘दयालजी, तपाईको लेख ठूलोबुवाले पढ्नु भयो । डिस्चार्ज भएपछिको पहिलो लेख हो । धेरै कुरा नगर्नु होला । फोन ठूल्बुवालाई दिएँ ल ?’

उताबाट आवाज राम्रो सुनिएन । मैले धेरै चिन्ता नलिन आग्रह गरे । मातृभूमिको सौभाग्य फर्किको छ । तपाईँ उभिदिए पुग्छ । गोल्कोलाई हँसिया चाहिँदैन । कर्कलोलाई बन्चरो चाहिँदैन । यिनीहरूलाई हामी काफी छौं । तपाईँ ढुक्कले आराम गर्नुहोस ।’

२०७६ सालको चैत ४ गते करिब १६ वर्षपछि भानु देउवाजीले सभापति देउवाको समय दिनु भयो । मैले सभापतिजीलाई प्रष्ट भने- ओलीलाई सघाउन प्रचण्ड ओलीसँग टासिएका थिएनन्, सताउन आएका थिए । ओलीको स्वास्थ्यमा सुधार आएपछि उहाँको हिसाब बिग्रिसकेको छ । ओलीले कांग्रेसका हरेक शीर्ष नेतालाई सघाउनु भएको छ । माघ १९ अघि तपाईँलाई, २०४७ सालमा कृष्णप्रसाद भट्टराईलाई, २०६३ सालमा गिरिजाप्रसाद कोइरालालाई, २०७० सालमा सुशील कोइरालालाई । २०७२ सालमा तपाईँहरूले पालोको पैचो तिरेर ओलीलाई सघाएको भए प्रचण्ड यति खेल्न पाउने नै थिएनन् ।

सारा दोष सुशील कोइरालाको टाउकोमा थोपरेर सभापति देउवाले त्यति बेला आफू निर्णायक ठाउँमा नरहेको प्रष्टीकरण दिनुभयो । मैले आग्रह गरेँ । अब तपाईँ र ओली मिल्नुपर्छ । नत्र प्रचण्डले पालैपालो तपाईँ दुवैलाई ताछ्ने छन् ।

२०७७ सालभरि ओली प्रचण्ड, माधव, झलनाथ र वामदेवलाई मान्छे बनाउन लाग्नु भयो । चुनावमा घेराबन्दीमा परेको कांग्रेस एकाएक ओलीसँग मिल्न सम्भव पनि भएन । २०७९ साल मंसिरमा चुनावको परिणाम आयो । खुराफात धेरै चल्ने राजनीतिमा म समानुपातिकमा म आफू पर्नमा कमै केन्द्रित भएँ । जनआन्दोलनका दुई महामित्र कांग्रेस र एमाले नमिली प्रचण्डको शक्ति ऐंठनबाट देश, जनता, लोकतन्त्र र लोकतान्त्रिक व्यवस्थाले मुक्ति पाउने छैन भन्ने मेरो निष्कर्षले स्थान पाउने स्थिति परिपक्व भए पनि इगो र ईच्छाशक्तिको अभावको तगारो कायमै थियो ।

मैले रमेश लेखक, गोविन्द शाह, तप्त विष्ट, राजेन्द्र शाह, कमल बहादुर शाह, पदमबहादुर शाही, नैनसिंह महर, भानु देउवन, प्रकाश देउवन, मीन विश्वकर्मा, गुरु बराललगायतका कांग्रेस नेता मार्फत तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवनलाई भेट्ने प्रयास गरेँ । भरे, भोलि गर्दै २०७९ पुस १० गते अघि मैले समय पाइनँ । कुम ठोकेर जाने र सकिएन भनेर फर्कने क्रम चलिरह्यो ।

देउवालाई ठगेर बालकोट प्रस्थान, बालकोटप्रति बेइमानी गर्दै लुटको धन फुपूको श्राद्ध गर्दै शीर्ष पदहरू सबैलाई बाँढ्ने धुर्त्याइँको पराकाष्टाले गर्दा प्रचण्डदेखि एमाले र कांग्रेसका आम कार्यकर्ता नराम्रोसँग चिडिन पुगे । रणनीतिक पहल गर्ने छरितो टास्क फोर्स बाहेकका आम कांग्रेसजनले आफूलाई द्वन्द्वकालका हर्कत हेरेर कहिलै तातो मान्दैनन् भन्ने सत्य थाहा नपाउनु वा नचाहनु प्रचण्डको आफ्नै निरन्तरको समस्या थियो ।

नजाउँला भनेको ठाउँमा जाने दिन आउँछन्, नखाउँला भनेको ठाउँमा खाने दिन आउँछन् । प्रचण्ड बालकोट पुग्नु पर्ने दिन पनि आयो, २०७९ साल पुस १० गते भएर । स्वाभाविक विकास र कठोर मेहनतबाट प्राप्त नभएको चीज छ भने मानिसले त्यसको महत्व चिन्न सक्दैन । निर्मम समयले एमाले र कांग्रेसलाई छिनेर प्रधानमन्त्रीको पद प्रचण्डको पोल्टामा थमाएकै हो । क्रमिक विकासभन्दा क्रमभंगका पारखी भएकाले प्रचण्डबाट यसको सम्मान र सदुपयोग भएन ।

एमालेलाई ठगेर कांग्रेसको दैलो र एमालेलाई ठगेर कांग्रेसकोमा भैलोको खराब बानी सुधार गर्ने प्रचण्डलाई यहाँनेर सुन्दर अवसर थियो । सुध्रिएपछि म कसरी प्रचण्ड हुन्छु भन्ने अहंकारले प्रचण्डलाई छोडेन । २७५ सीटको प्रतिनिधिसभामा २०० परै राखौं, ७५ को आधा सीट संख्या नभएको माओवादीलाई प्रधानमन्त्री र एकतिहाइ पनि सीट नभएको रास्वपालाई उपप्रधानमन्त्रीको लटरी पर्‍यो । पालैपालो एमाले र कांग्रेसले गरेको उद्धार र उपकारलाई समय छर्दै चिन्न नसक्नु, यसको लागि उनीहरूप्रति इमान्दार, कृतार्थ, अनुग्रहित र आभारी नहुनूको मूल्य चुक्ता गर्न अब प्रचण्डको शेष जीवनले पुग्ने छैन ।

देउवालाई ठगेर बालकोट प्रस्थान, बालकोटप्रति बेइमानी गर्दै लुटको धन फुपूको श्राद्ध गर्दै शीर्ष पदहरू सबैलाई बाँढ्ने धुर्त्याइँको पराकाष्टाले गर्दा प्रचण्डदेखि एमाले र कांग्रेसका आम कार्यकर्ता नराम्रोसँग चिडिन पुगे । रणनीतिक पहल गर्ने छरितो टास्क फोर्स बाहेकका आम कांग्रेसजनले आफूलाई द्वन्द्वकालका हर्कत हेरेर कहिलै तातो मान्दैनन् भन्ने सत्य थाहा नपाउनु वा नचाहनु प्रचण्डको आफ्नै निरन्तरको समस्या थियो ।

सत्यको विजय हुन्छ आफ्ना नेताहरू गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई, गिरिजा प्रसाद कोइराला, सुशील कोइराला, शेरबहादुर देउवाको ओलीले इज्जत गरेको र काँध थापेको र प्रचण्डले पाइला पाइलामा कपट गरेको र तुष साँधेको कांग्रेस कार्यकर्ता समाजलाई थाह थियो । चुनाबी प्रतिस्पर्धा एमालेसँगै भएर पनि कांग्रेसको समर्थनमा ओली प्रधानमन्त्री भएकोमा कांग्रेसजन गदगद हुनुको अन्तर्य यस्तो छ ।

एमाले र कांग्रेसको दरार पुर्नु कम असहज थिएन । संसदमा रमेश लेखक, ज्ञानेन्द्र कार्की, शंकर भण्डारी, रामहरि खतिवडा, देवप्रकाश तिमल्सिना यो दरार पुर्न जहिलै सकारात्मक रहनुभयो । २०८९ चैत्र ४ गते कांग्रेस पति देउबालाई पनि एमाले कांग्रेस सहकार्य आज संभव नभए पनि अपरिहार्य छ भन्न भ्याएको थिएँ ।

साउन ६ गते प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुभयो । प्रतिनिधिसभाको लबीमा गृहमन्त्री रमेश लेखकले मलाई टाढैबाट भन्नुभयो- “तपाईँको सपना साकार भयो नि ?”

कुरो नबुझेर जीवन परियारसँगै उभिनु भएको पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले प्रश्न गर्नुभयो- “के सपना ?”

लेखकले प्रष्ट पार्दै भन्नु भयो- “मैले चुनाव जितेदेखि नै बधाई दिँदै हामी दुई पार्टीको गठबन्धनका लागि मलाई निरन्तर आग्रह गर्ने उहाँ नै हो ।”

भारतमा ठूला पार्टीका दोस्रो वरीयताका नेताहरूले प्रधानमन्त्रीलाई सघाउने गरेको दृष्टान्त छ । नेपालमा सताउनसम्म सताउने खराब राजनीति जब्बर छ । भारतमा सत्तारुढ गठबन्धनका साना दलले त्यहाँ उपप्रधानमन्त्री पनि पाउँदैनन् । नेपालमा प्रधानमन्त्री र उपप्रधानमन्त्रीको च्याँखे थाप्ने सिलसिला छ । प्रचण्ड, माधव र झलनाथले ठूला पार्टीको नेताले गर्ने धैर्य र साना पार्टीका नेताले गर्ने सहज व्यवहार नगर्दा राजनीति धमिलिन गयो । एक हिसाबले नेपालका साना दलहरू सबै एमाले र कांग्रेसका बागीहरूको जमात हुन् ।

बीपी, पुष्पलाल, गणेशमान, मदनले प्रचण्डको जति अवसर नपाए पनि सबैको देन बढी छ र व्यक्तित्व उचै छ । एमाले र कांग्रेसकै कोटामा प्रधानमन्त्री भएका माधव र झलनाथको एमालेप्रतिको निन्दा र समुन्द्रपारबाट आएर अटल कांग्रेसको भाग खोसेर योजना आयोगको उपाक्ष्यक्ष भएका स्वर्णिम वाग्लेको कांग्रेसप्रतिको जलन र धारेहातले एमाले र कांग्रेसलाई सोच्न बाध्य पारे । हरेक क्रियाले त्यति नै अनुपातमा प्रतिक्रिया उत्पन्न गर्छ ।

सधेँ जीवनमा आफ्नो निम्तिमात्र स्वर्णिम अवसर सृजना गर्ने र सदा स्वर्णिम अवसरका पछि कुध्ने स्वर्णिम अवसरवादीहरूले मिल्नै नसक्ने र सितिमिति गठबन्धन गर्न नहुने एमाले र कांग्रेसका लागि पनि एक स्वर्णिम अवसर सिर्जना गरिदिए । शरीरबाट झरेका किर्नाहरूको झुसिलो डकारको जवाफ जरुरी थियो । आस्थाले अवसरमाथि, निष्ठाले कुण्ठामाथि, मिसनले कमिसनमाथि सुनारको सय चोटको सट्टा लोहारको एकै चोटले बदला लिने गर्छ ।

मदन र मनमोहनको अवसान र २०६४ सालमा सम्झिँदा पनि अत्यासलाग्ने सर्मनाक चुनावी पराजय एमालेले बेहोरेको बेला मोदनाथ प्रश्रितले युवापुस्ताका लागि ठाउँ खाली भनेर एमालेको सक्रिय राजनीतिबाट सन्‍न्यास लिनुभयो । ओलीले प्रचण्डको छल, वल र कलको राजनीतिको सामना नगरेको भए एमालेसँगै मातृभूमि नेपाल, नेपाली कांग्रेस, नेपालको लोकतन्त्र र लोकतान्त्रिक व्यवस्थाले पिण्ड खाने पक्का थियो ।

आचार्य चाणक्य भन्छन्- जसरी काटेर, पिटेर, ताडेर तथा पोलेर सुनको परीक्षा हुन्छ, त्यसरी नै त्याग, शील, धैर्य र पराक्रमले सत्पात्रको परीक्षा हुन्छ । महानायकहरू प्रतिकूलतासँग जुधेरै देश, जनता, समाज र मानवजातिको खातिर अद्वितीय छाप र देन छाडेर जान्छन् । हामी कहाँ ‘बुढाहरूले नछोड्ने भए’ भनेर कुण्ठाको बाँसुरी फुक्नेको अभाव छैन । कसैले चोर औंलो ठड्याउँदैमा विस्थापित भैहाल्ने महानायकहरू फर्सी कुभिण्डा होइनन् ।

काठमाडौं, पाल्पा, मकवानपुर र जुम्लाको तुलनामा हरहिसाबले कमजोर गोर्खालाई उठाएर एकीकृत नेपालको निर्माण गर्ने पृथ्वीनारायण शाह आफ्ना समकालीन प्रतिद्वन्द्वी राजाहरू जस्तै वर्षैपिच्छे विवाह गर्नमा अलमलिएको भए आजको नेपाल सम्भव थिएन । दाजु मात्रिकाप्रसाद कोइरालादेखि सहकर्मी डिल्लीरमण रेग्मीबाटका सास्तीलाई वास्ता नगरी अहोरात्र खटेर बीपीले २०१५ सालमै राष्ट्रिय मापदण्डको राजनीतिक दल नेपाली कांग्रेस स्थापित नगरेको भए आजको युग सम्भव थिएन ।

मदन र मनमोहनको अवसान र २०६४ सालमा सम्झिँदा पनि अत्यासलाग्ने सर्मनाक चुनावी पराजय एमालेले बेहोरेको बेला मोदनाथ प्रश्रितले युवापुस्ताका लागि ठाउँ खाली भनेर एमालेको सक्रिय राजनीतिबाट सन्‍न्यास लिनुभयो । ओलीले प्रचण्डको छल, वल र कलको राजनीतिको सामना नगरेको भए एमालेसँगै मातृभूमि नेपाल, नेपाली कांग्रेस, नेपालको लोकतन्त्र र लोकतान्त्रिक व्यवस्थाले पिण्ड खाने पक्का थियो ।

महानायकले दिएका देनहरू देश र जनताका साझा निधिहरू हुन् । निजीकरण नहुने, गर्न नसकिने र नमिल्ने भएकैले राष्ट्रिय देनको महत्व छ । कुनै महानायकले पनि देनहरू उठाएर लिदैन । हामी कहाँ एक अति कृतघ्न, अराजक, अनुशासनहीन र अति महत्वाकांक्षी प्रवृत्ति सलबलाएको छ । बुढाहरूको आदर कदरको संस्कालाई दासत्व भनेर भाष्य निर्माण गरिएको छ । पुस्तान्तरको मुद्दा उछालिँदै छ । चिन्ताको विषय यो छ कि केहीलाई अपवादमा राख्ने हो भने जति सरल, सादगी र प्रतिवद्ध पुरानो वा बीचको पुस्ता छ त्यो स्तरको नयाँ पुस्ता छैन ।

जर्जरकायाका नेताहरूले देशको पोल्टामा उत्सब थमायो । रंगीचंगी युवानेताको निवासमा दैनिक चल्ने उत्सवले लोकतन्त्रलाई कति पक्षघातको शिकार बनाउने हो ? चिन्ता यहाँनेर छ । उधारो नजान्ने, त्यागलाई वाहियात ठान्ने माओवादी, रास्वपा र जीबी राई प्रवृत्तिले हुर्काएको एटीएम राजनीतिको बाछिटा एमाले र कांग्रेसको युवा पुस्ता तरंगित भएको खण्डमा नेपाली लोकतन्त्रको सबैभन्दा कमजोर अंग त्यही हुनेछ । ओल्ड इज गोल्ड । समस्या दर्जनौं परीक्षा उर्तीण गरेको पाको पुस्ता होइन बरु परीक्षित हुन बाँकी नयाँ पुस्ता नै हो ।


प्रतिक्रिया

One thought on “ओली र देउवा तप र एटीएम पुस्ता

  1. २०७६ साल चैत्र ४ गते र तीन वर्षपछि २०८९ साल चैत्र ४ गते दुई पटक म यही एजेण्डा लिएर देउवा निवास पुगेको थिएँ । तत्काल मुभ हुने स्थिति नभए पनि कुरा सुन्ने …….0 के भनेको ? खै ०८९ साल आएको ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *