बकैया गाउँपालिका र आन्दोलनरत पक्षबीच १० बुँदे सहमति
हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका र आन्दोलनरत दलहरुबीच १० बुँदे सहमति भएपछि कार्यालयमा लगाइएको अनिश्चितकालीन तालाबन्दी खोलिएको छ ।
गाउँपालिकामा बढेको व्यापक अनियमितता बढेको र पटकपटक ध्यानाकर्षण गर्दासमेत गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेबाट सुनुवाइ नभएको भन्दै गाउँपालिका उपाध्यक्ष जितेको माओवादी केन्द्र र एमालेलगायतका दलहरुले गाउँपालिकामा अनिश्चितकालीन तालाबन्दी गरेका थिए ।
उनीहरुले गाउँपालिका अध्यक्ष लामिछानेले आफूखुसी कर्मचारीको सरुवा, शैक्षिक संस्थाका प्रध्यानाध्यापकलाई दबाब दिएर राजीनामा गर्न लगाउने, विद्यालय व्यवस्थापन समितिलाई कुनै जानकारी नदिई शिक्षा प्रमुखले प्रस्ताव गरेकोबाहेक शिक्षकलाई विद्यालय पठाउने काम नगरेको, सरकारी सवारीसाधनको अनियमितता, इन्धनमा घोटालालगायतको विषयमा कुनै कदम नचालेको भन्दै ताला लगाएका थिए ।
सहमतिअनुसार शिक्षासम्बन्धी निर्णय शिक्षा समिति र सामजिक विकास समितिमार्फत कार्यपालिकामा लग्ने, शिक्षा समितिबाट भएको प्रअको राजीनामा फिर्ता गर्ने, सवारीसाधनमा आवश्यकताअनुसार मात्र इन्धन उपलब्ध गराउने भएको छ । त्यस्तै बीमाबाट उपलब्ध निःशुल्क औषधि गाउँपालिकाको सबै स्वास्थ्य केन्द्रमा वितरण गर्ने, स्वास्थ्यमा देखिएको कर्मचारीको समस्या कार्यपालिकाबाट निर्णय गर्ने, वन तथा वातावरण समितिलाई क्रियाशील बनाउने, कर्मचारी नियुक्त गर्दा नियमानुसार गर्ने, राजस्वलाई गाउँपालिका मार्फत कडाइ गर्ने र गाउँपालिकामा आएका गुनासोलाई सम्बन्धित फाँटमा छलफल गरी समाधान गर्ने सहमति भएको गाउँपालिकाले जनाएको छ ।
सहमतिमा गाउँपालिका अध्यक्ष लामिछाने, उपाध्यक्ष भक्तबहादुर खत्रीसहित स्थानीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिको हस्ताक्षर रहेको छ ।