‘कथा वाचक’का लागि १३ बुँदे आचारसंहिता प्रस्तावः मर्यादित वस्त्र र केस, मौन पाठ अमान्य
विवादित विजय भण्डारीलाई राष्ट्रिय कथा व्यास समाजले काँध नथाप्ने
काठमाडौं । धार्मिक कथा वाचनमा विकृति विसंगति बढ्न थालेपछि यसलाई मर्यादित बनाउन १३ बुँदे आचारसंहिता बनाएर लागू गर्ने तयारी गरिएको छ । हिन्दू धर्मशास्त्रका गुरुहरुको साझा संस्था राष्ट्रिय कथाव्यास समाजले यो आचारसंहिता प्रस्ताव गरेको हो ।
नेपालमा धार्मिक कथा वाचकको योग्यता र मापदण्डका विषयमा कुनै त्यस्तो नीतिनियम छैन । कथा वाचकको न्यूनतम औपचारिक अध्ययन कति हुनुपर्ने भन्ने पनि स्पष्ट व्यवस्था छैन । कथा वाचन गर्न औपचारिक अध्ययन दुई खाले छन् । पहिलो संस्कृतमा आचार्य (एमए) गरेकाले कथा वाचन गर्न सक्छन् ।
अर्को छोटो बाटो भनेको ३ देखि ६ महिनाको प्रशिक्षण लिएर पनि कथा भन्न सकिन्छ, तर यसरी सर्टकट तरिकाले कथा वाचक बनेकाहरुलाई धार्मिक क्षेत्रमा त्यति महत्व दिइँदैन ।
कुनै ठाउँबाट स्थानीय आएर नेपाल संस्कृत विश्वविद्यालयमा कथा वाचनका छोटा कार्यक्रम चलाउने प्रस्ताव गरेमा विश्वविद्यालयले त्यस्ता प्रशिक्षण कार्यक्रम चलाइराखेको हुन्छ ।
हालैमात्र पशुपति मन्दिरमा एक महिनासम्म विशाल कोटी होम आयोजना भएपछि धेरैलाई कथा वाचकका विषयमा जिज्ञासा बढेकाे छ । उक्त कोटी होममा थरिथरिका कथा वाचकहरु देखापरेका थिए । कसैले भक्तजनको मन जिते त कोही विवादमा परे । भारतबाट आएकी देवी प्रतिभा र लन्डनबाट आएकी चन्द्रकला सखीको अत्यधिक चर्चा भयो । ९ वर्षीया बालिका अनुराधा पाण्डेले समेत कथा वाचन गरेकी थिइन् ।
देवी प्रतिभाले कथा वाचनका क्रममा दिएका केही अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा निकै आलोचना भयो । चन्द्रकला सखी पनि एक ठाउँमा चिप्लिएपछि ट्रोलको शिकार बनिन् । पूर्वमन्त्रीसमेत रहेकी कथा वाचिका कान्ता भट्टराई पनि विवादबाट जोगिन सकिनन् । यी दृष्टान्तहरुले गर्दा कथा वाचनमा थप संवेदनशीलताको आवश्यकता समाजले महसुस गरेको हो ।
पछिल्लो समय पर्याप्त शास्त्रीय अध्ययन र योग्यताविना जो पनि कथा वाचक बन्ने र कथा वाचनका क्रममा मनगढन्ते गफ दिने प्रवृत्ति बढेपछि समाजले तदारुकता देखाएको एक सदस्यले बताए । तीन-चार दिनमै यो आचारसंहितालाई पारित गरेर सार्वजनिक गर्ने तयारी समाजले गरेको उनको भनाइ छ ।
प्रस्तावित आचारसंहितामा कथा वाचनका लागि व्यासमा बस्ने वक्ताले शास्त्राध्ययन वा सम्बन्धित पुराणको अध्ययन गरेकै हुनुपर्ने अनिवार्य गरिएको छ । कथा अनुष्ठानमा बस्दा केस तथा वस्त्रादीको कुरा मर्यादित हुनुपर्ने आचारसंहितामा उल्लेख छ ।
पुराणादी प्रवचनमा शास्त्रले निर्दिष्ट गरेका विषयमा मनगढन्ते तर्क वा खण्डन प्रस्तुत नगर्ने, आफ्नो व्यक्तिगत धार्मिक, सामाजिक तथा आर्थिक चरित्रलाई पवित्र एवं निस्कलंक राख्नुपर्ने, भजनकीर्तन र झाँकीलाई मर्यादित राख्नुपर्ने, कथालाई ठेक्का वा पैसामा तौलेर भागबन्डा गर्नु नहुने, कथामा मौन पाठ गर्न नहुनेलगायत शर्तहरु आचारसंहितामा उल्लेख गरिएका छन् ।
यस्तो छ प्रस्तावित आचारसंहिता
राष्ट्रिय व्यास समाजको दोस्रो कार्यसमिति गत असारमा गठन भएको हो । हाल यसमा ११ जना सदस्य रहेका छन् । अध्यक्ष पण्डित कुवेर सुवेदी, उपाध्यक्ष पं. बालकृष्ण अर्याल, महासचिव आचार्य राघवप्रसाद उपाध्याय, सचिव पं. सुरज कौण्डिन्य पराजुली तथा कोषाध्यक्ष रामचन्द्र तिमल्सिना रहेका छन् ।
सदस्यहरुमा विदुषी सुधादेवी शास्त्री, पं. मनोज नेपाल, पं. जगन्नाथ सुवेदी, पं. देवभट्ट बराल, पं. मदनराज उपाध्याय र पं. सन्तोष आचार्य छन् ।
पशुपति कोटी होममाथि उठेका विवादहरुलाई पनि समाजले नजिकबाट नियालिरहेको ती सदस्यको भनाइ छ । समाजले कोटी होमलाई आधिकारिक रुपमा समर्थन वा विरोध दुवै गरेको छैन । आयोजकको विवादित पृष्ठभूमिका कारण समर्थन नगरेको हो भने धार्मिक अनुष्ठान भएकाले विरोध गर्न नसकेको हो ।
कोटी होम आयोजक भण्डारीले समाजका अध्यक्ष पं. कुवेर सुवेदीलाई कथा वाचनका लागि आमन्त्रण गरेका थिए । एक दिन कोटी होममा उपस्थित भए पनि उनले कथा वाचन गरेनन् । सामान्य सम्बोधन गरेर फर्किएका थिए । विजय भण्डारीका कर्तुतहरुलाई काँध थाप्ने पक्षमा सुवेदी नरहेको स्रोतको भनाइ छ ।
स्रोतका अनुसार भण्डारीले कोटी होम सुरु हुनुअगावै एक लाख रुपैयाँको चेक समाजलाई दिएर प्रभावमा लिने प्रयास गरेका थिए । समाजले उनको आर्थिक सहायता स्वीकार गरे पनि उनको बचाउमा उत्रिन चाहेन । समितिका सदस्यहरु व्यक्तिगत तवरबाट मात्रै कोटी होममा सहभागी भए ।