सुदूरपश्चिममा गत ३ वर्षमा भवितव्यमा परी ७९२ जनाको मृत्यु – Nepal Press

सुदूरपश्चिममा गत ३ वर्षमा भवितव्यमा परी ७९२ जनाको मृत्यु

डोटी । सुदूरपश्चिम प्रदेशमा तीन वर्षमा भवितव्यमा परी ७ सय ९२ जनाको ज्यान गएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीले दिएको सूचना अनुसार गत आर्थिक वर्ष (२०८०/०८१) मा भवितव्यमा परी २ सय ४८ जनाले ज्यान गुमाएका छन् । यस्तै आर्थिक बर्ष ०७९/०८० मा दुई सय ८१ र ०७८/०७९ मा दुई सय ६३ जनाको ज्यान गएको छ ।

आर्थिक वर्ष ०७८/०७९ मा कैलालीमा सवैभन्दा बढी ८८ जनाले भवितव्यमा परी ज्यान गुमाएका छन् । सो आर्थिक वर्षमा भवितव्यमा परी बाजुरामा सवैभन्दा कम नौ जनाले ज्यान गुमाएका छन् । कञ्चनपुरमा ५४, दार्चुलामा २५, बझाङमा २४ र अछाममा १८ जनाले भवितव्यमा परी ज्यान गुमाएका छन् । यस्तै, बैतडीमा १८, डडेल्धुरामा १७ र डोटीमा १० जनाको भवितव्यमा ज्यान गयो ।

आार्थिक वर्ष ०७९/०८० मा कैलालीमा ८०, कञ्चनपुरमा ५१, दार्चुलामा ३८ र बैतडीमा ३१ जनाको भवितव्यमा परी ज्यान गएको छ । यस्तै, बझाङमा २२, अछाममा २०, डोटीमा १७, डडेल्धुरामा १३ र बाजुरामा नौ जनाले पनि भवितव्यमै परी ज्यान गुमाए ।

०८०/०८१ मा कैलालीमा ८७, कञ्चनपुरमा ३७, दार्चुलामा २७, बैतडीमा २२ र बझाङमा १९ जनाको ज्यान गएको छ । यस्तै बाजुरामा १७, डडेल्धुरामा १५, डोटीमा १३ र अछाममा ११ जनाले पनि सो अवधीमा भवितव्यमा परी ज्यान गुमाए ।

अरु कसैले कर्तव्य गरी ज्यान नलिएको अवस्थामा कसैलेको ज्यान गए यसलाई भवितव्य शिर्षकमा राख्ने गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीका प्रहरी वरिष्ठ नायव निरीक्षक रामचन्द्र जोशी बताउँछन् ।

‘जस्तो साईकल चलाउँदा चलाउँदै गर्दा लडेर मृत्यु भयो वा नदी/खोला तर्दा बजेर मृत्यु भयो भने यस्ता घटनालाई प्रहरीले भवितव्य शिर्षकमा राख्छ’, जोशीले भने, ‘मान्छेको मृत्यु भयो तर अरु कसैले कर्तव्य गरी मारेको होईन भन्ने घटना यसमा पर्छन् ।’

फुटकर ज्यानमा ४९६

तीन वर्षको अवधीमा फुट्कर ज्यानमा चार सय ९४ जनाको ज्यान गएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

‘फुट्कर ज्यान भन्नाले के कारणले मृत्यु भएको हो भन्ने एकिन नभएको, मान्छे मृत अवस्थामा फेला परेको अवस्था हो’, प्रहरी वरिष्ठ नायव निरीक्षक जोशी भन्छन्, ‘यस्ता घटनाहरुमा पछि अनुसन्धान हुँदा कर्तव्य गरी मारेको भन्ने देखियो भने ज्यान सम्वन्धी कसुरमा मुद्धा चल्छ ।’

आर्थिक वर्ष ०७८/०७९ मा एक सय ७०, ०७९/०८० मा एक सय ६६ र ०८०/०८१ मा एक सय ६० जनाको ज्यान गएको छ । तीन बर्षको अवधीमा कैलालीमा एक सय ७६, कञ्चनपुरमा एक सय ५९, डडेल्धुरा १७, डोटीमा २३, अछाममा १७, बाजुरामा १४, बझाङमा २८, बैतडीमा ४२ र दार्चुलामा २० जनाको फुट्कर ज्यान अन्तर्गत मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *