एड्भेन्चरमा युवा मोह- सोखको रूपमा छिरेकाहरू बन्दै छन् व्यवसायी – Nepal Press

एड्भेन्चरमा युवा मोह- सोखको रूपमा छिरेकाहरू बन्दै छन् व्यवसायी

भोजपुर । भनिन्छ युवा उमेरमा उडेको चरा समात्ने जोश हुन्छ । त्यस्तै जोश जाँगरका साथ हाल कतिपय युवा सुखसयल नै त्यागेर एड्भेन्चर (साहसिक क्रियाकलाप) मा रमाइरहेको पाइन्छ । उमेरले २५ पनि नकटेका काभ्रेका अशोक नेपाल स्कुलदेखि नै एड्भेन्चरका पारखी थिए । प्लस टुमा टुरिजम् पढेका उनले स्नातकमा माउन्टेनियरिङ स्टडिज रोजे ।

हाल सेभेन समिट ट्रेक्स प्रा. लि. मा एचआर हेड रहेका उनी एड्भेन्चर लभरका लागि नेपालमा अवसर नै अवसर रहेको बताउँछन् । भित्री मनले चाहेको विषय पढ्दा रमाइलोसँगै जागिरको लागि पनि आफूले तनाव लिन नपरेको उनको भनाइ छ ।

संखुवासभाका सुजन गुरुङ पेशाले अस्पिरेन्ट माउन्टेन गाइड हुन् । गाइड पेशाका साथै उनी माउन्टेनियरिङ स्टडिज चौथो सेमेस्टरमा पढिरहेका छन् । उनले गत स्प्रिङ सिजनमा सगरमाथाको सफल आरोहण समेत गरे । पर्वतारोहण क्षेत्रमा केही सिकेर प्रवेश गर्दा काम, नाम र दाम सबै रहेको उनी बताउँछन् ।

ओखलढुङ्गा रुम्जाटारका अविश गुरुङले फिलिपिन्सबाट पाइलट ट्रेनिङ पूरा गरेपछि हेलिकप्टर उडाउन सुरू गरेको तीन वर्ष भयो । पाइलट ट्रेनिङले जागिर दिलाए पनि उनको औपचारिक पढाइको रहर भने मेटिएको थिएन । विदेशी पर्यटकलाई लिएर अधिकांश समय हिमालतिर उडिरहने उनले स्नातक तह अध्ययन गर्न उपयुक्त विषयको खोजी गर्ने क्रममा ब्याचलर अफ् माउन्टेनियरिङ स्टडिज (बीएमएस) रोजे ।

हेली पाइलट अविश ।

बीएमएसमा पढेका र सिकेका सीपलाई दुर्गम क्षेत्रमा हेलिकप्टर उडान गर्दा आइपर्ने कठिनाइ सामना गर्न धेरै काम लागिरहेको उनी बताउँछन् ।

‘दुर्गममा हेलिकप्टरबाट उद्धार गर्नुपर्ने हुन्छ, त्यस्तो बेला हेलीमा स्ट्रेचर राख्न सम्भव हुन्न तर डोरीबाट स्ट्रेचर बनाएर सजिलै घाइते वा बिरामीको उद्धार गर्न सकिने रहेछ’, उनले आफ्नो अनुभव सुनाए ।

एड्भेन्चर लभरहरूको प्रस्थानबिन्दु वाल क्लाइम्बिङ, हाइकिङ, साइक्लिङजस्ता गतिविधिहरूबाट भइरहेको पाइन्छ । सोखको रूपमा छिरेका युवाहरूले विस्तारै यसैलाई आफ्नो पेशा बनाइरहेका छन् । नेपालमा पर्वतारोहणमा अत्यन्त अनुभवीको बाहुल्य भएको तर उनीहरूलाई सैद्धान्तिक ज्ञान र सीप दिई प्रमाणीकरण गर्ने कार्यमा भने पर्याप्त ध्यान पुग्न नसकिरहेको जानकारहरू बताउँछन् ।

माउन्टेनियरिङ स्टडिजका विद्यार्थीहरु हिमलुङ हिमाल ९७१२६ मी० आरोहणको क्रममा क्याम्प १ बाट क्याम्प २ तर्फ जाँदै।

सैद्धान्तिक र व्यावहारिक ज्ञानको संयोजनबाट पर्वतीय पर्यटनको क्षेत्रमा आवश्यक दक्ष व्यवस्थापकीय जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएर नेपाल सरकारले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत नेपाल माउन्टेन एकेडेमीको स्थापना गरेको छ ।

नेपालमा एड्भेन्चर क्रेजीहरूका लागि धेरै काम गर्न बाँकी रहेकोले अवसर र चुनौती दुवै रहेको नेपाल माउन्टेन एकेडेमीका कार्यकारी निर्देशक अर्जुन राई बताउँछन् ।

उनी भन्छन्, ‘युवाहरूलाई यो क्षेत्रमा व्यवस्थितरूपमा आकर्षित गर्न सरकार र निजी क्षेत्र दुवैको प्रयास सीमित रुपमा मात्र रहेको छ । यसलाई व्यवस्थित गरेर लगानी वृद्धि गर्ने हो भने दक्ष जनशक्ति विकासको अथाह सम्भावना रहेको छ ।’

एकेडेमीले माउन्टेनियरिङमा अध्यापन सुरू गरेपछि यहाँ अध्ययन गरेका विद्यार्थी विभिन्न एक्सपिडिसन कम्पनीको व्यवस्थापन सम्हालिरहेका छन् । पर्वतारोहणसँग सम्बन्धित व्यवसाय पूर्णरूपमा अनुभवमा आधारित रहेर पारिवारिक व्यवसायको रूपमा सञ्चालन भइरहेको अवस्थामा सम्बन्धित विषयको औपचारिक पढाइले व्यवसायलाई नै आधुनिकीकरण गर्न मद्दत पुर्‍याउने सेभेन समिट ट्रेक्स प्रालिका मेनेजर थानेश्वर गुरागाईं बताउँछन् ।

फर्पिङमा रक क्लाइम्बिङको तालिम लिँदै युवा ।

गुरागाईंले भने, ‘मलाई विश्वास छ, यहाँ पढेका विद्यार्थीले व्यवसायलाई अगाडि लैजान धेरै सहज हुनेछ । विद्यार्थीमा सैद्धान्तिक र व्यावहारिक ज्ञान दुवै हुने भएकाले कम्पनीमा कर्मचारीको रूपमा लिँदा व्यवसाय सञ्चालनमा धेरै सहयोग पुगिरहेको उनको अनुभव छ ।’

सरकारी तवरबाट भइरहेको प्रयासको रुपमा नेपाल माउन्टेन एकेडेमीले नेपालको आवश्यकतालाई मध्यनजर गरी हाल बीएमएस कार्यक्रम सञ्चालन गरिरहेको छ ।

बीएमएसमा ‘ट्रेकिङ एन्ड पिक क्लाइम्बिङ म्यानेजमेन्ट, सेफ्टी एन्ड सेकुरिटी अपरेसन्स, माउन्टेन सेफ्टी प्रोटोकल्स, माउन्टेनियरिङ प्लानिङ, हाई अल्टिच्युड हस्पिटालिटी लगायत विषयहरू पढाइन्छ ।

(राजन भोजपुरका पत्रकार हुन् ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *