स्थापनाको २८ वर्षपछि सामुदायिक वनले पायो महिला नेतृत्व – Nepal Press

स्थापनाको २८ वर्षपछि सामुदायिक वनले पायो महिला नेतृत्व

चितवन । सामुदायिक वनमा महिला सहभागिता सबैभन्दा राम्रो मानिन्छ । सामुदायिक वन गठन प्रकृयामा नै आधा महिलाको सहभागिता सुनिश्चित भएकोले महिलाको नेतृत्व विकासमा सामुदायिक वनले महत्वपूर्ण भूमिका खेलेको भनिन्छ ।

तर, पूर्वी नवलपरासीको एउटा सामुदायिक वनले स्थापना भएको २८ वर्षपछि बल्ल पहिलोपक महिलाको नेतृत्व पाएको छ । यहाँको नन्दन सामुदायिक वनको नेतृत्व पहिलोपटक महिलाको हातमा पुगेको हो ।

२०५३ सालमा दर्ता भएको नन्दन सामूदायिक वन ४३५.५६ हेक्टर क्षेत्रफलमा फैलिएको छ । सो सामूदायिक वनका एकहजार पाँचसय ९६ जना उपभोक्ताहरु छन् । गैँडाकोट नगरपालिका वडा नम्बर ६, ८ र ९ मा फैलिएकोे नन्दन सामूदयिक वनको अधिवेशन मार्फत अध्यक्ष पदमा हरिमाया अधिकारी चुनिएकी हुन् ।

सामुदायिक वनमा दलको एलायन्सबाट समिति चयन हुने गरेको छ । नन्दन सामुदायिक वनको अधिवेशनमा पनि हरिमाया नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उमेदबार बनेकी थिइन् । उनले प्रतिष्पर्धी पुरुष उम्मेदवार बेलप्रसाद पौडेललाई १ सय ५३ मतले पछि पार्दै अध्यक्ष पदमा निर्वाचित भएकी हुन् ।

त्यसैगरि सामुदायिक वनको आगामी कार्यकालको उपाध्यक्ष पदमा नरजङ्ग राना, सचिवमा कमला शर्मा कोषाध्यक्षमा डिला सुवेदी शर्मा र सहसचिवमा झलकराज शर्मा विजयी भएका छन् । भने, लेखा समिति संयोजकमा माधव प्रसाद न्यौपाने निर्वाचित भएका छन् ।

पूर्वी नवलपुरको गैँडाकोटमा २२ वटा सामुदायिक वनहरु रहेका जनाइएको छ । जसमध्ये चार वटा सामुदायिक वन सितल सामुदायिक वन, शंखदेवी सामुदायिक वन, मजुवा सामुदायिक वन र मुकुन्दसेन सामुदायिक वनमा महिलाको नेतृत्व छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *