अवकाशको मुखमा पुगेका २१ प्रहरीले गुहारे अदालत, ३० वर्षे सेवा अवधि हटाउन माग
काठमाडौं । अवकाशको मुखमा पुगेका २१ प्रहरी अधिकृतले सर्वोच्च अदालत गुहारेका छन् । ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै उनीहरूले रिट दायर गरेका हुन् ।
२०५१ सालमा नेपाल प्रहरीको असईबाट सेवा प्रवेश गरेका ९० जना सिनियर प्रहरी अधिकृतले भदौको अन्तिम साता अवकाश पाउँदैछन् । त्यसमा डीआईजीदेखि प्रहरी निरीक्षकसम्मका छन् ।
रिट दायर गर्नेमा एसएसपीहरु दिनेश मैनाली, जीवनकुमार श्रेष्ठ, रेवती ढकाल, बेलबहादुर पान्डे, रवीन्द्र रेग्मीलगायत छन् ।
रिटमा ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश दिने व्यवस्था लागू नगर्न र आफूहरूलाई सेवाबाट अनिवार्य अवकाश हुने भनी दिइएका पत्रहरू रिटको अन्तिम टुंगो नलागेसम्म कार्यान्वयन नगर्न नगराउन पनि अन्तरिम आदेशको माग गरिएको छ ।
यसअघि सरकारले नेपाल प्रहरीमा सेवा अवधि र निवृत्तिभरणको अवधिबारे पुनरावलोकन गर्न समिति गठन गरेको थियो । समितिले प्रतिवेदन पनि बुझाइसकेको छ ।
५ जना एसएसपी, ६ एसपी, ६ डीएसपी र ४ जना प्रहरी निरीक्षकले संयुक्तरूपमा रिट दायर गरेका हुन् । नेपाल प्रहरीमा सेवा अवधि, पदावधि र उमेर हदमध्ये एक कारणले अवकाश पाउने व्यवस्था छ । ३० वर्षे सेवा अधविका कारण झन्डै एक सय जना उच्च प्रहरी अधिकृत घर जाँदै छन् ।