५१ प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न अनेमसंघले थाल्यो नीतिगत बहस – Nepal Press

५१ प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न अनेमसंघले थाल्यो नीतिगत बहस

काठमाडौं । नेकपा एमाले समर्थित अखिल नेपाल महिला संघले आगामी निर्वाचनमा महिलाको ५१ प्रतिशत उम्मेदवारीको विषयलाई नीतिगत रुपमै निर्णयार्थ लैजान बहस सुरु गरेको छ । त्यसका लागि अनेमसंघ प्रचार तथा प्रकाशन विभागले काठमाडौंमा मंगलबार प्रेस चौतारी सम्बद्ध पत्रकारहरुसँग छलफल गरेको छ ।

जनसंख्याको आधाभन्दा बढी रहेकाले महिलालाई राजनीतिक दलले उम्मेदवारका रुपमा ५१ प्रतिशत अघि सार्नुपर्ने माग उठ्दै आएको छ । सो विषयलाई नीतिगत निर्णयसहित पार्टीलाई दबाब दिन संघले बहस सुरु गरेको हो ।

कार्यक्रममा प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले अनेमसंघले ५१ प्रतिशत महिला उम्मेदवार बनाउने विषयमा नीतिगत निर्णय गर्न ढिलो गर्न नहुने बताए ।

उनले भने, ‘महिलालाई ५१ प्रतिशत माग गर्ने कुरामा अनेमसंघले अब ढिलो गर्नुहुँदैन, निर्णय लिएर मैदानमा उत्रिए प्रेस चौतारी अनेमसंघलाई सघाउन तयार छ ।’

कार्यक्रममा प्रचार तथा प्रकाशन विभागका उपप्रमुख सृजना आचार्यले ‘सञ्चारमा महिला’ शीर्षकमा आधारपत्र प्रस्तुत गरेकी थिइन् ।

आधारपत्रमा आफ्नो टिप्पणी राख्दै चौतारीका पूर्वअध्यक्ष राजेन्द्र अर्यालले अनेमसंघले अब महिलाका मुद्दालाई नयाँ ढंगले उठाउनुपर्ने सुझाव दिए ।

सञ्चारिका समूहकी पूर्वअध्यक्ष निर्मला शर्माले महिलाका मुद्दा उठाएरमात्र नहुने भएकाले त्यसलाई नीतिगत रुपमै लागू गर्ने विषयमा अनेमसंघले अग्रणी भूमिका खेल्नुपर्ने सुझाव दिइन् ।

कार्यक्रममा अनेमसंघका अध्यक्ष टुकाभद्र हमालले अनेमसंघले उठाएका मुद्दालाई स्थापित गर्न सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका हुने भएकाले सहकार्य गर्न चौतारीलाई आह्वान गरिन् ।

विभागका प्रमुख कालिका पाठकको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस चौतारी र अनेमसंघका पदाधिकारीलगायत महिला पत्रकारहरुको सहभागिता थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर