माओवादी फुट्दैछ भन्ने भ्रम हटाइसक्यौं, सरकारबारे नसोची पार्टी निर्माणमा लाग्नुपर्छ: प्रचण्ड – Nepal Press

माओवादी फुट्दैछ भन्ने भ्रम हटाइसक्यौं, सरकारबारे नसोची पार्टी निर्माणमा लाग्नुपर्छ: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी स्थायी कमिटीको बैठकपछि पार्टी एकताबद्ध भएर अघि बढेको दाबी गरेका छन् । बागमती प्रदेशस्तरीय परामर्श समितिको बैठकमा उनले पार्टी विभाजनबारे चलाइएको हल्लामा कुनै सत्यता नभएको बताए ।

उनले भने, ‘पार्टी विभाजनको हल्ला चलाइएको थियो । त्यो हामीले स्थायी कमिटी बैठकपछि निराधार रहेको पुष्टि गरिसकेका छौं । अब हामी पार्टी निर्माणको क्रममा एकताबद्ध भएर अघि बढ्नुपर्छ ।’

कांग्रेस-एमाले मिलेर आफू नेतृत्वको सरकार ढाल्नुको कारण जनताले राम्रोसँग बुझेको भन्दै प्रचण्डले जनतामा गएर पार्टी निर्माणको अवसर प्राप्त भएको बताए ।

उनले माओवादी अब जनता र पार्टी केन्द्रित हुने भएकाले सरकारबारे तत्काल नसोच्ने बताए ।

आजबाट सुरु भएको भेलामा अध्यक्ष प्रचण्डले पछिल्ला समसायिक विषयमा केन्द्रित रहेर ब्रिफिङ गरेको बागमती प्रदेश कमिटीका अध्यक्ष सरल सहयात्री पौडेलले बताए ।

उनले भने, ‘उहाँले स्थायी कमिटीमा राखेकै विषयमा केन्द्रित रहेर आफ्नो धारणा राख्नुभयो । उहाँले आफ्नो कुरा राखेपछि केन्द्रीय कमिटीको बैठकमा तयार पार्ने दस्तावेजको लागि नेताहरुले सुझाव दिने क्रम चलिरहेको छ ।’

पार्टीलाई एकताबद्ध बनाएर बलियो पार्टी बनाउनेबारे नेताहरुले बैठकमा सुझाव दिएको उनले बताए ।


प्रतिक्रिया

One thought on “माओवादी फुट्दैछ भन्ने भ्रम हटाइसक्यौं, सरकारबारे नसोची पार्टी निर्माणमा लाग्नुपर्छ: प्रचण्ड

  1. सबैभन्दा बढी सरकार चाहिने नै प्रचण्डलाई हो । मस्ती र ऐश आराम सरकारमा नभई आउदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर