चक्रे समूहका वडाध्यक्षबाट काटिएका रिगल समूहका युवककी पत्नीको आक्रोश- अपराधीलाई छाडे ज्यान दिन्छौं (भिडियो) – Nepal Press

चक्रे समूहका वडाध्यक्षबाट काटिएका रिगल समूहका युवककी पत्नीको आक्रोश- अपराधीलाई छाडे ज्यान दिन्छौं (भिडियो)

रुपन्देही । बाँके विनौनाका सुलभ मल्ल र सन्दीप विष्टलाई खुकुरी प्रहार गर्ने बाँके राप्ती सोनारी गाउँपालिका- २ का वडाध्यक्ष ज्ञानेन्द्र वलीलाई रिहा गरिए आफूले ज्यान दिने सन्दीपकी पत्नीले चेतावनी दिएकी छन् ।

वडाध्यक्ष वली बाँकेको विनौनाका युवा स्यान्डी भनिने सन्दीप विष्ट र सुलभ मल्ललाई भदौ १ गते राति खुकुरी प्रहार गरेको अभियोगमा पक्राउ परेका थिए । उनी एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् । घाइते दुवै तरुण दल निकट हुन् ।

बाँके प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीका अनुसार घाइतेलाई उपचारका लागि भारतको लखनउ लगिएको छ । उनीहरूको अवस्था गम्भीर रहेको उनले बताए ।

घाइते विष्टकी श्रीमतीले आफ्नो श्रीमानलाई खुकुरी प्रहार गर्ने व्यक्ति धरौटीमा छुटे आफूहरुको समेत ज्यान खतरामा पर्ने बताइन् । वलीले गाउँमा वडाध्यक्ष पदको दुरुपयोग गरेर ठूलो आतंक मच्चाएको बताउँदै उनले राजनीतिक पहुँचमा वडाध्यक्षलाई बाहिर आउने वातावरण बनाए आफूहरुले ज्यान दिने चेतावनी दिइन् ।

‘मेरो श्रीमान काट्नेलाई छुटाइए म ज्यान दिन्छु, यो श्रीमानमाथिको मात्रै आक्रमण होइन, मेरो सानो बच्चा, बुवाआमा, सबै परिवारमाथिको आक्रमण हो’, विष्टकी श्रीमतीले भनिन् ।

उनी हातमा सानो काखे बच्चा लिएर न्यायको अपिल गर्दै अपराधीलाई कारबाहीको माग गर्दै सडकमा आएकी छन् । वडाध्यक्ष वलीको गुण्डा आतंकलाई निरुत्साहित बनाउन पनि उनलाई कारबाही गर्नुपर्नेमा उनले जोड दिइन् ।

अस्पताल पुगेका घाइते मल्लले सामान्य विवादमा वडाध्यक्ष वलीसहित नारायण डाँगी, नवीन, लोके, ऋषि देवकोटालगायत करिब एक दर्जन युवाको समूहले आफूहरुलाई आक्रमण गरेको बताएका छन् ।

वडाध्यक्ष वलीलाई इलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको छ । डीएसपी धर्मबहादुर भण्डारीका अनुसार ज्यान मार्ने उद्योगमा उनको मुद्दा दर्ता भएको छ । त्यस्तै ७ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।

वडाध्यक्ष वली गुन्डा नाइके चक्रे मिलन समूहमा आबद्ध रहेको बाँके प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

One thought on “चक्रे समूहका वडाध्यक्षबाट काटिएका रिगल समूहका युवककी पत्नीको आक्रोश- अपराधीलाई छाडे ज्यान दिन्छौं (भिडियो)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर