नेपाल संगीत उद्योग संघको कार्यालयमा मानव बेचबिखन ब्यूरोद्वारा छापा
काठमाडौं । नेपाल प्रहरीको मानव बेचबिखन ब्यूरोले काठमाडौँको अनामनगरस्थित नेपाल सङ्गीत उद्योग सङ्घको कार्यालयमा आज छापा मारेको छ ।
आज दिउँसो ब्यूरोको टोलीले संघको कार्यालयमा छापा मारी केही कागजात तथा कम्प्युटरको ‘हाडडिक्स’ बरामद गरेको मानव बेचबिखन ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
उनले भने, ‘तीनदेखि सङ्घको कार्यालय बन्द थियो, आज खुलेपछि हाम्रो टोलीले त्यहाँबाट माइनुटबुक, लेटरप्याड र कम्प्युटरको हाडडिक्स बरामद गरी ल्याएका छौँ ।’ नक्कली कागजात बनाएर मानिसलाई विदेश पठाउने गरेको सूचनाका आधारमा ब्यूरोले आज छापा मारेको प्रवक्ता मिश्रले बताए ।
‘नक्कली कागजात बनाएर मानिसलाई विदेश पठाउने गरेको सूचना पाएका छौँ’, उनले भने, ‘सोही विषयमा छानबिन गर्न आज छापा मारेर सङ्गीत उद्योग सङ्घका पदाधिकारीको रोहबरमा कागजपत्र नियन्त्रणमा लिएका छौँ ।’ -रासस