संकटमा ईश्वर कता गए ?
संसार वडो विचित्रको छ । पाप गर्नेहरूको धुमधामको उन्नति छ । पाप कर्ममा लिप्त भएकाहरू नै वडो शानका साथमा आफ्नो जीवनलाई उन्नतिको शिखरसम्म लगिरहेका छन् । उनीहरूको जीवन देख्दा लाग्छ- वास्तविक जीवन उनीहरूले नै बाँचेका छन् । जिन्दगीको अधिकतम उपयोग र आनन्द उनीहरूले नै पाएका छन् । सबैको साथ पनि उनीहरूलाई नै छ । लगातारको उन्नति उनीहरूकै देखिन्छ । समाजले पनि उनीहरूलाई नै अझ बढी सम्मान दिन्छ । यता धर्मकर्म गर्नेहरूको अवस्था भने निकै दयनीय छ । अधर्मी र विधर्मीहरूको लगातारको उन्नयनले पनि धर्मनिष्ठहरूको निष्ठा क्रमैसँग घट्दै गइरहेको छ । दान, धर्म तथा यथोचित सत्कर्मतर्फ तत्पर अनि अनुशासनमा बस्नेहरू पनि लोभी, अधर्मी, विधर्मी तथा अनुशासनहीनहरूको बढ्दो उच्छृङ्खल क्रियाकलापका कारणले आफ्नो अस्तित्व जोगाउन नै हम्मेहम्मे पर्ने अवस्थाबाट गुज्रिरहेका छन् । सज्जनहरूको हालत दैनन्दिन दयनीय बन्दै गएको देखिन्छ ।
सबैको त्यस्तो दयनीय हालत त नहोला, तर अधिकतर सत्कर्मतर्फ तत्पर व्यक्तिहरू जीवनमा दुःखी, थकित र जिन्दगीसँग हारेका जस्ता देखिन्छन् । जति नै गरे पनि भाग्यले साथ नदिएको जस्तो तथा कर्मले पनि ठगेको जस्तो प्रतीत हुन जान्छ । जसले जीवनमा सर्वाधिक महत्त्व ईश्वरलाई दियो । जसले ईश्वरको निरन्तर आराधना पनि गर्यो र सत्कर्म पनि निरन्तर गरिराखेकै छ, तर पनि उसको जीवन दुःखी छ । सत्कर्म गर्दा पनि सदैव अपजसमात्रै लागिरहने, संकटका समयमा पनि सहाराविहीन हुनुपर्ने तथा अन्तिम आशा र भरोसाका केन्द्र भनिएका ईश्वर पनि विपरीत भए जस्तो अवस्था देखा परिरहेछ । आखिर भक्तिभावले आराधना गर्दा पनि, कर्म र भक्तिलाई साथसाथै लैजाँदा पनि, सबैको भलाइको लागि काम गर्दागर्दै पनि आस्तिकहरू तथा धार्मिकहरूका जीवनमा संकट पर्दाका समयमा ईश्वरको उपस्थिति किन नभएको ? किन आफ्ना भक्तहरूलाई भगवानले भाग्यभरोसामा छाडेका ? शरणमा परेका भक्तहरू किन मरणको मुखमा परिरहेका छन् ? यी र यस्तै खाले अनेक प्रश्नहरू आस्तिकहरू, धार्मिकहरू र सज्जनहरूका मनमा उठ्नु स्वाभाविक नै हो । प्रस्तुत आलेखमा यिनै विषयहरूका सेरोफेरोमा रहेर केही चिन्तन गरिएको छ ।
सामान्यतया ईश्वरको अस्तित्व र ईश्वरको सत्तालाई स्वीकार गर्नेहरूलाई आस्तिक भनिन्छ । ईश्वरको अस्तित्व र सत्तालाई स्वीकार नगर्नेहरूलाई नास्तिक भन्ने गरिन्छ । आस्तिकहरू ईश्वरलाई सर्वेसर्वा, शक्तिशाली, दयालु, सर्वनियन्त्रक, पापीलाई सजाय दिने र भक्त तथा धर्मात्मालाई रक्षा गर्ने अर्थमा लिने गर्छन् । नास्तिकहरू बाहुबलमा विश्वास गर्छन् । आफैंलाई नै आफ्नो जीवनको सर्वेसर्वा ठान्ने गर्छन् । यी दुईका तुलनामा वर्तमान परिप्रेक्ष्यमा आस्तिकभन्दा नास्तिकहरू शक्तिशाली रहेको देख्न सकिन्छ । सर्वत्र उनीहरूकै वर्चस्व छ । अधार्मिक तत्त्वहरूको बढ्दो उन्नति र धार्मिक तथा आस्तिक वर्गहरूमा भइरहेको घट्दो मनोबलको अवस्थामा आस्तिक तथा धार्मिक व्यक्तिले मान्ने गरेको शक्तिशाली ईश्वर भक्तलाई संकट परेका अवस्थामा किन सहायताका लागि आउँदैनन् ?
दान, धर्म तथा यथोचित सत्कर्मतर्फ तत्पर अनि अनुशासनमा बस्नेहरू पनि लोभी, अधर्मी, विधर्मी तथा अनुशासनहीनहरूको बढ्दो उच्छृङ्खल क्रियाकलापका कारणले आफ्नो अस्तित्व जोगाउन नै हम्मेहम्मे पर्ने अवस्थाबाट गुज्रिरहेका छन् । सज्जनहरूको हालत दैनन्दिन दयनीय बन्दै गएको देखिन्छ ।
हाल बंगलादेशमा हिन्दू मुस्लिम द्वन्द्व चर्कंदैछ । हिन्दू मन्दिरहरू भत्काइएका छन् । शक्तिशाली भनिने ईश्वरकै मन्दिर भत्किँदासमेत त्यसको रक्षार्थ कुनै ईश्वरको प्रादुर्भाव भएको छैन । अल्पसंख्यक हिन्दूहरूको विभत्स हत्या चलिरहेको छ । पुजारी पनि मारिएका छन् । दिनरात ईश्वरकै भक्ति र आराधना गर्ने पुजारीसमेत मारिएको अवस्थामा ती पुजारीलाई बचाउन, अन्य भक्तहरूलाई बचाउन र स्वयम् आफ्नै घर अर्थात् मन्दिरको संरक्षण गर्न किन नसकेको त ? के दुःखी भएका भक्तहरू भक्त नै होइनन् र ? तिनीहरूले ईश्वरको पूजा आराधना गरेका थिएनन् र ? आखिर संकटका अवस्थामा ईश्वर कता हराउन पुगे त ?
यी सबै कुराको उत्तर पाउनुअघि ईश्वरको परिभाषा र हामीले अँगालेको ईश्वरको स्वरूपका बारेमा बुझ्नु जरुरी हुन्छ । ईश्वरको अनुभूति वा ईश्वर हुनुको प्रमाण प्रत्यक्ष सिद्ध गर्न सकिँदैन । चार्वाक आदि दर्शनमा प्रत्यक्षदेखि अन्य प्रमाण स्वीकार नगरिने हुनाले चार्वाक मतका अनुयायीहरूले ईश्वरको अस्तित्व स्वीकार गर्दैनन् । आस्तिक दर्शनहरूमा भने अनुमान प्रमाणले ईश्वरको अस्तित्व सिद्ध हुन जान्छ । त्यो भनेको कस्तो हो भने- कार्यलाई देखेर कारणको परिकल्पना गरिन्छ । धूवाँलाई हेरेर अग्निको अनुमान गरे जस्तै संसारलाई हेरेर संसार बनाउने र ध्वस्त गर्ने एउटा कारण तत्त्वका रूपमा ईश्वरको अस्तित्वलाई स्वीकार गरिन्छ । आस्तिकहरू यही अनुमान प्रमाणका आधारमा ईश्वर छन् र संसार ईश्वरीय सत्तामा चल्ने गर्छ भन्ने कुरामा विश्वास गर्छन् ।
उसो भए ईश्वरको परिभाषा के हो त ? प्राच्य दर्शनहरूमा आफूअनुकूल हुने गरेर दर्शनपिच्छे फरक फरक शब्दावलीको प्रयोग गरेर ईश्वरलाई बुझाउने परिभाषा गरिएको पाइन्छ, तर ती सबैमा हुने एक समानता भने ती सबै अनुमान प्रमाणमा आधारित रहेर नै ईश्वरको अस्तित्वलाई र सत्तालाई स्वीकार गरिएको छ । सबैको सार एकै छ- ईश्वर भनेको सर्वनियन्त्रक, सर्वशक्तिमान, सर्वान्तर्यामी, सर्वव्यापक परम चेतन हो । यी सबै शब्द केवल बुझाउनमात्रै प्रयोग गरिएका हुन् । गीतामा भगवान श्रीकृष्ण भन्नुहुन्छ- नास्त्यन्तो विस्तरस्य मे । अर्थात्, मेरो विस्तारको कुनै अन्त्य छैन । –भगवद् गीता अध्याय १०, श्लोक १९
आखिर भक्तिभावले आराधना गर्दा पनि, कर्म र भक्तिलाई साथसाथै लैजाँदा पनि, सबैको भलाइको लागि काम गर्दागर्दै पनि आस्तिकहरू तथा धार्मिकहरूका जीवनमा संकट पर्दाका समयमा ईश्वरको उपस्थिति किन नभएको ? किन आफ्ना भक्तहरूलाई भगवानले भाग्यभरोसामा छाडेका ? शरणमा परेका भक्तहरू किन मरणको मुखमा परिरहेका छन् ?
यसो भन्नुको मुख्य कारण ईश्वर समग्रताको परिचायक हो । (समग्रताको सन्दर्भमा सबै वस्तुहरूको परिभाषा गर्न सकिन्छ, तर समग्रताको परिभाषा के हुनसक्छ र ? फेरि समग्रताको परिभाषा पनि केका सन्दर्भमा प्रयुक्त हुन सक्छ र ? संसारमा प्राप्त हुने स्रोतसाधनहरूको एक निश्चित सीमा हुन्छ । सीमितबाट असीमितताको परिभाषा नै हुनसक्दैन । यस्तो हुँदा केवल बुझाउन, सम्झाउनमात्रै ईश्वरको सामान्य दृष्टिले परिभाषामात्रै गरिएको बुझ्नुपर्छ ।) यस्तो समग्र र सर्वत्र अनि सर्वशक्तिशाली रहेको ईश्वर किन रक्षार्थका लागि आउन नसकेको ?
ईश्वरको अस्तित्व र सत्तालाई मान्नेहरूको एक मान्यता छ – संकटका समयमा ईश्वरले रक्षा गर्ने गर्छन् । संकटका समयमा आफ्नो रक्षाका लागि भए पनि ईश्वरको भक्ति गरिनुपर्छ । जीवनमा धर्मकर्म गर्नुपर्छ भने जीवनमा पापदेखि सदैव डराउनुपर्छ । श्रीमद्भगवद् गीतामा भनिएको छ-
यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।
परित्राणाय साधूनां विनाशाय च दुष्कृतां धर्मसंस्थापनार्थाय सम्भवामि युगेयुगे ।। -अध्याय ४, श्लोक ७ र ८
अर्थात्, हे भारत (अर्जुन)- जबजब धर्मको हानि र अधर्मको वृद्धि हुन्छ, तबतब नै मैले आफ्नो रूपको रचना गर्दछु । साधु (सज्जन) पुरुषहरूको उद्धार गर्न, पाप कर्म गर्नेहरूको विनाश गर्न र धर्मको समुचित स्थापना गर्न म युगयुगमा प्रकट हुने गर्छु ।
त्यस्तै गरेर विष्णु पुराणलगायतका विभिन्न पुराणहरूमा सत्ययुगमा भक्त प्रह्लादलाई संकट पर्दा भगवानले रक्षा गरेको प्रसङ्ग पुराणहरूमा पाइन्छन्, तर त्यस्तै खाले संकट कलियुगमा आइलाग्दा खै त भगवान आएका ? वर्तमानमा लगातार धर्मको हानि र अधर्मको वृद्धि हुँदा पनि सज्जन पुरुषहरूका रक्षार्थ र दुष्टहरूको विनाशका निमित्त खै त भगवानको उपस्थिति ?
अधार्मिक तत्त्वहरूको बढ्दो उन्नति र धार्मिक तथा आस्तिक वर्गहरूमा भइरहेको घट्दो मनोबलको अवस्थामा आस्तिक तथा धार्मिक व्यक्तिले मान्ने गरेको शक्तिशाली ईश्वर भक्तलाई संकट परेका अवस्थामा किन सहायताका लागि आउँदैनन् ?
‘तुम रक्षक काहू को डरना’ तथा ‘जो सत बार पाठ कर कोइ, छुटई बन्दी महासुख होई’ भन्ने पङ्क्ति हनुमान चालिसामा आउने गर्छ । त्यस्तै अन्य विविध पुराणहरू तथा स्तोत्रहरूमा सम्बन्धित देवतालाई सर्वशक्तिमान् तथा भक्तका रक्षकका रूपमा लिने गरिन्छ र भजनमा गाउने पनि गरिन्छ । समस्त आस्तिकजनमा ईश्वर नै अन्तिम आशा र भरोसाका रूपमा रहेका हुन्छन् । जबजब मानिसको स्वाभाविक बल र बुद्धिको घेराभन्दा माथिल्लो स्तरको संकट आइपर्छ, तब मानिसले भगवान वा ईश्वर नै सम्झने गर्छन् । यो मानिसको स्वाभाविक वृत्ति पनि हो । र, संकटका अवस्थामा भगवानले भक्तको रक्षा गर्छन् भनेर विविध कथाकिस्साहरू धर्मग्रन्थहरूमा आउने गर्छ । कतिपय अवस्थामा सामान्य लौकिक जीवनका गाथाहरूमा पनि यस्ता प्रसङ्ग आउने गर्छन् ।
नेपाली समाजमा एक लोकोक्ति पनि छ- जसले पाप गरेको छ, उसैको फलिफाप छ र जसले पुण्य गरेको छ, उसैको शून्य छ । समाजमै चलेका यस्ता उखानले सामान्य मानिसलाई अधर्मतर्फ प्रेरित गर्ने गरेको छ । यस्ता घटनाहरू समाजमा प्रशस्तै मात्रामा देखिने भएकाले पनि समाजमा आस्तिकहरूको मनोबल र आस्थामा समेत नकारात्मक प्रहार हुँदै आएको बुझ्न सकिन्छ । सत्कर्म तथा धर्मकर्मका क्षेत्रमा सक्रिय भएर लाग्नेहरूको पनि खासै उन्नति हुन नसक्दा भने समाजमा उन्नतिका लागि अधार्मिक वा नास्तिक नै बन्नुपर्ने हो कि भन्ने जस्तो सन्देह पनि पर्न गएको देखिन्छ । तीर्थयात्रा गरेर फर्कंदै गरेका तीर्थयात्रीहरू नै दुर्घटनामा परेर मरिरहेका खबर बेलाबखतमा आइदिँदा पनि यस्तो सन्देहले हुर्कने र बढ्ने मौका पाएको छ ।
भगवद् गीतामै भनिएको पनि छ- ईश्वरः सर्वभूतानां हृद्देशेऽर्जुन तिष्ठति । अर्थात्, हे अर्जुन- समस्त प्राणीका हृदयमा ईश्वर रहन्छन् । -भगवद् गीता अध्याय १८, श्लोक ६१
सबै प्राणीका हृदयमा रहेका ईश्वर किन आफ्नै रक्षार्थ भए पनि उपस्थित हुन सकेनन् ? मुटु नै चिरिनेगरी बंगलादेशमा हालसालै भएका हिंसाका दृश्यहरू लगातार आइराखेका छन् । भक्तहरू बिचल्लीमा छन् भने भक्तहरूले पूजा गर्ने मन्दिर र मन्दिरमा राखिएका मूर्ति पनि आफ्नै रक्षार्थ असमर्थ देखिएका छन् । के ईश्वर एक कल्पनामात्रै हो त ? यदि कल्पना होइन भने आपतमा परेका भक्त र उनीहरूको सम्पत्ति अनि भगवानको आफ्नै घर अर्थात् मन्दिरको रक्षार्थ उपस्थित हुन किन नसकेको ?
ईश्वरको अस्तित्व र सत्तालाई मान्नेहरूको एक मान्यता छ- संकटका समयमा ईश्वरले रक्षा गर्ने गर्छन् । संकटका समयमा आफ्नो रक्षाका लागि भए पनि ईश्वरको भक्ति गरिनुपर्छ । जीवनमा धर्मकर्म गर्नुपर्छ भने जीवनमा पापदेखि सदैव डराउनुपर्छ ।
फेरि विविध पुराणहरू तथा लोककथाहरूमा ईश्वरको भक्ति गर्नेले ईश्वरबाट आपतमा रक्षा र विविध किसिमका सुखभोग गर्ने गरेको तथा ईश्वरको निन्दा गर्ने, सर्वसाधारण र सज्जनहरूलाई दुःख दिने पापीहरूलाई विनाशको मुखमा पुर्याएको, विविध किसिमका दण्डहरू दिएको प्रसङ्ग आउने गर्छ । यस्तो हुँदा ईश्वर पनि चाकरीको चाहना राख्ने, पक्षपाती तथा लोभी हुन् भन्ने ठहरिन जान्छ । चाकरी नै चाहने हो भने पनि चाकरी गर्ने भक्तको रक्षार्थ ईश्वरको उपस्थिति हुनुपर्ने हो, तर त्यस्तो कुनै उपस्थिति भएको पनि देखिँदैन । न त दुष्टहरूलाई सजाय नै दिएको देखिएको छ । पशुपतिनाथको भेटी घोटाला गर्नेहरूलाई त भगवानले केही गर्न सकेका छैनन् । भक्तहरूको हरिबिजोक छ । हरिबिजोक हुनबाट भक्तहरूलाई बचाउनुपर्ने ईश्वरको दायित्व होइन र ?
यी सबै कुरा बुझ्न ईश्वरका बारेमा पनि केही बुझ्नुपर्ने हुन्छ । ईश्वर सर्वव्यापक, सर्वशक्तिशाली, सर्वनियन्त्रक भएर पनि दयामय, करुणामय छन् भन्ने बुझ्नुपर्छ । जति कठोर छन् ईश्वर, त्यति नै करुणामय पनि छन् । परस्परमा यस्ता विरोधी भावहरू सामान्य मनुष्यमा सम्भव नभए पनि यी भावहरू ईश्वरमा सहजै सम्भव हुन्छन् । महादेवको शिरमा अमृतमय चन्द्रमा छन् भने कण्ठमा विष छ । तेस्रो नेत्रमा अग्नि छ भने जटाजूटमा गङ्गा छिन् । गलामा सर्प छ भने महादेव पुत्रको वाहन मूषक छ । महादेवको वाहन साँढे छ भने दुर्गाको वाहन सिंह छ । यस्ता परस्पर विरोधी भावहरू हामीले मान्ने गरेको ईश्वरमै देखिन्छन् । यसका साथै ईश्वर तटस्थ पनि छन् । परस्पर विरोधी भाव र तटस्थताको भाव पनि ईश्वरमै रहन्छन् । अन्यत्र यस्ता विरोधी भावहरू देखिँदैनन् । यस्ता विरोधी भावहरू केवल ईश्वरमा मात्रै लागू हुनसक्छ । त्यसर्थ ईश्वर कुनै मिथ्या कल्पना होइन भनी भन्न सकिन्छ ।
यदि ईश्वर करुणामय नभएको भए जीवको जीवनमा स्वतन्त्रता भन्ने चिजको अभाव हुने थियो । जीवको जीवन परतन्त्रीय हुने हुन्छ । जीवको जीवनको स्वतन्त्रताको भावलाई सुरक्षित राख्न पनि ईश्वर तटस्थ रूपले बस्नुपर्ने हुन्छ । यदि जीवका हरेक संकटमा भगवानले हस्तक्षेप गर्ने हो भने जीवको स्वतन्त्रता हरण हुनुका साथै जीवन कारागारको कैदी जस्तो बन्न पुग्छ । जीवनको जीवनत्व नै हराउन पुग्छ । ईश्वरले जीवलाई पूर्ण स्वतन्त्रता दिएका छन् कि जीव जस्तो चाहन्छ, उस्तो गर्नमा अर्थात् कर्ममा स्वतन्त्र रहन्छ । चाहे ऊ नास्तिक होस् वा आस्तिक, विद्वान होस् वा मूर्ख, हिंस्रक होस् वा दयालु । प्रत्येक जीवको कर्ममा स्वतन्त्रतापूर्वक सहभागी हुने अधिकार छ, तर कर्मको फलमा भने उसको अधिकार छैन ।
सबै प्राणीका हृदयमा रहेका ईश्वर किन आफ्नै रक्षार्थ भए पनि उपस्थित हुन सकेनन् ? मुटु नै चिरिनेगरी बंगलादेशमा हालसालै भएका हिंसाका दृश्यहरू लगातार आइराखेका छन् । भक्तहरू बिचल्लीमा छन् भने भक्तहरूले पूजा गर्ने मन्दिर र मन्दिरमा राखिएका मूर्ति पनि आफ्नै रक्षार्थ असमर्थ देखिएका छन् ।
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन, मा कर्म फ़लहेतुर्भू माते संगोऽस्तकर्मणि ।। -गीता अध्याय २, श्लोक ४७
यदि ईश्वरले जीवको जीवनमा हस्तक्षेप गरिदिने हो भने जीवको कर्म स्वतन्त्रतामा बन्देज लाग्न पुग्छ । संसारको कर्मचक्रको व्यवस्था नै छिन्नभिन्न हुन पुग्छ । चाहे भक्त होस् वा निन्दक, जीवलाई जीवको कर्मको फल दिनु नै ईश्वरको महत्त्वपूर्ण भूमिका हो । तसर्थ पनि ईश्वर जीवको कर्मफल र जीवको दशामा तटस्थ रहने हुन्छन् ।
जीवको कर्तृत्व तथा भोक्तृत्वको भुक्तान ईश्वरबाट नै हुने गर्छ । त्यसैले पनि साक्षात प्रकट भएर ईश्वरले भक्तको रक्षा गर्दैनन् । भगवद् गीतामा ‘यदा यदा हि धर्मस्य…’ भनेर भनिएको भए पनि ईश्वर सबैका हृदयमा बसेका र महाभारतमा श्रीकृष्णले गरे जस्तै निष्कर्म गरेर अवतरित हुने भएकाले पनि साक्षात ईश्वरको उपस्थिति सम्भव नदेखिएको हो । पृथ्वीको भार हरण गर्न ईश्वरको साक्षात अवतार कहिले हुने हो ? त्यसको भने कुनै टुंगो छैन ।
सबै कुरा जीवकै अधीनमा हुने हो भने त नास्तिक बन्नु नै ठीक होला भन्ने लाग्न पनि सक्छ, तर आस्था नै परिवर्तन गरे पनि कर्मफलको भुक्तानबाट मुक्ति भने सम्भव हुँदैन । जीवले गरेको कर्मको फल भोग्नैपर्छ । प्रारब्ध, सञ्चित र आगामी कर्मले उत्पन्न गराउने फल आस्तिक वा नास्तिक बने पनि भुक्तान त गर्नैपर्छ । कर्मफल भुक्तानको अर्को कुनै विकल्प छैन । यदि कर्मफल नै सबै कुरा हो र जीवको जीवनमा ईश्वरको कुनै भूमिका रहँदैन भने ईश्वरको आराधना किन गर्ने त ? ईश्वरको आराधनाको फाइदा के त ? यदि फाइदा नै छैन भने किन ईश्वरलाई पुज्नु त ? प्रश्न स्वाभाविक रूपले नै उठ्ने गर्छ ।
ईश्वर तटस्थ भए पनि ईश्वर प्रत्येक प्राणीका हृदयमा बस्ने भएकाले र ईश्वरलाई मान्नेहरूका भौतिक र अभौतिक जीवन दुवैको जिम्मा ईश्वरले नै लिएका हुन्छन् । सबैले आआफ्नो कर्मफल भोग्ने भएकाले कर्मफल नै व्यक्तिको मुख्य सुरक्षाकवचका रूपमा रहने हुन्छ, तर सर्वशक्तिशाली पनि भएकाले सच्चा भक्तहरू ईश्वरबाट सदैव सुरक्षित पनि रहेका हुन्छन् । व्यक्ति हृदयबाट कस्तो छ ? त्यसको हिसाबकिताब ईश्वरसँग नै हुन्छ । बाहिरी रूपले कसैलाई भक्त देखिन सक्ने भए पनि आन्तरिक रूपले ऊ भक्त हो कि होइन ? यसको निर्णय सामान्य चर्मचक्षुले छुट्याउन गाह्रो पर्न जान्छ । वास्तविक भक्तको हकमा भने गीतामा भगवान श्रीकृष्ण भन्नुहुन्छ-
अनन्याश्चिन्तयन्तो मां ये जनाः पर्युपासते ।
तेषां नित्याभियुक्तानां योगक्षेमं वहाम्यहम् ।।
पिताकै अंश रूपमा पुत्रको जन्म हुन्छ । पुत्र होस् अथवा कुपुत्र होस्, पुत्रको पालन गर्नु पिताको प्रमुख कर्तव्य हो । पिताले आफ्नो कर्तव्य जसै पनि पूरा गर्ने हुन्छन् । यदि पुत्रले पितालाई रिझाउन सकेको खण्डमा पुत्रले आफ्ना पिताबाट इच्छित फल शीघ्र रूपले र प्रेमिल रूपले नै पाउने गर्छ ।
अर्थात्, जो भक्तजन अनन्यभावले ममा स्थित भई म (कृष्ण)लाई निरन्तर चिन्तन गर्दै निष्काम भावले भज्दछन्, ती नित्य निरन्तर मेरो चिन्तन गर्नेहरूको योगक्षेम म स्वयम् बहन गरिदिन्छु । -भगवद् गीता, अध्याय ९, श्लोक २२
यान्ति देवव्रता देवान्पितृन्यान्ति पितृव्रताः ।
भूतानि यान्ति भूतेज्या यान्ति मद्याजिनोऽपि माम् ।।
अर्थात्, देवतालाई पुज्नेहरूले देवतालाई प्राप्त गर्छन् । पितृहरूलाई पुज्नेहरूले पितृलाई प्राप्त गर्छन् । भूतलाई पुज्नेले भूतलाई प्राप्त गर्छन् । मलाई पुज्नेहरूले मलाई नै प्राप्त गर्छन् । -भगवद् गीता, अध्याय ९, श्लोक २५
वास्तवमा भन्ने हो भने ईश्वर र जीवको सम्बन्ध पिता र पुत्रको जस्तो हुन्छ भन्ने प्रश्न स्वाभाविक रूपले नै उठ्ने गर्छ । पिताकै अंश रूपमा पुत्रको जन्म हुन्छ । पुत्र होस् अथवा कुपुत्र होस्, पुत्रको पालन गर्नु पिताको प्रमुख कर्तव्य हो । पिताले आफ्नो कर्तव्य जसै पनि पूरा गर्ने हुन्छन् । यदि पुत्रले पितालाई रिझाउन सकेको खण्डमा पुत्रले आफ्ना पिताबाट इच्छित फल शीघ्र रूपले र प्रेमिल रूपले नै पाउने गर्छ । कुपुत्रले पनि इच्छित फल त प्राप्त गर्छ नै, तर यथा समयमा, यथा तरिकाले मात्रै । पिताको हृदयको फूल सुपुत्र हुन्छ भने काँडा कुपुत्र हुन्छ । प्रलय र विनाशलाई बराबरी स्नेहका साथमा हुर्काउने सामर्थ्य एक पितामै हुन्छ ।
प्राणीहरूको जीवन पनि दुई किसिमको हुन्छ । एक भौतिक र अर्को आध्यात्मिक जीवन । ईश्वरको आराधना गर्ने आस्तिकहरूले पाउने भनेको अर्को कुरा आध्यात्मिक जीवनमा विशेष उन्नति र शान्ति नै हो, जो ईश्वर निन्दकहरूले पाउन सक्दैनन् । प्रेमिल हृदयमा विकासको फूल र सुगन्ध रहने गर्छ भने अप्रेमिल हृदयमा विनाश र त्यसको दुर्गन्ध फैलने गर्छ । यसकारण पनि आस्तिकहरूमा आध्यात्मिक उन्नति र मनको सुख नास्तिकहरूका तुलनामा अधिक देखिन्छ । नास्तिकहरूमा भौतिक उन्नति र सुखको मात्रै प्राचुर्य रहने गर्छ । तसर्थ ईश्वरको आराधना गर्दा आध्यात्मिक लाभ र मानसिक शान्ति दुवै पाइन्छ । आध्यात्मिक लाभ र मानसिक शान्ति चाहनेहरूका लागि ईश्वरको आराधना आवश्यक रहन्छ ।