दुई दिनदेखि विद्यार्थी घेराबन्दीमा रहेका संस्कृत विश्वविद्यालयका निमित्त प्रमुखको उद्धार, प्रहरीसँगको झडपमा स्ववियु सभापति घाइते
फागुनदेखि प्रशासन र असारदेखि केन्द्रीय कार्यालय बन्द रहेकोमा अहिलेसम्म खुल्न सकेन
रुपन्देही । दुई दिनदेखि विश्वविद्यालयमै विद्यार्थीको नजरबन्दमा रहेका नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय क्याम्पसका निमित्त क्याम्पस प्रमुख डा. देवराज क्षेत्रीलाई उद्धार गर्न गएको प्रहरी र विद्यार्थीबीच झडप भएको छ । झडपमा यसको वार्तामा बसिरहेका स्ववियु सभापति हेमन्त बन्जाडेसहितका विद्यार्थी घाइते भएका छन् ।
फागुन २९ गते स्ववियुले विभिन्न माग राखेर विश्वविद्यालयको प्रशासन, लेखा र क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाएपछि अहिलेसम्म यहाँबाट हुने सेवा प्रभावित भएका छन् ।
मंगलबार आफ्ना माग पूरा गराउन विद्यार्थीहरूले निमित्त क्याम्पस प्रमुख डा. देवराज क्षेत्रीलाई विश्वविद्यालय परिसरमै थुनेका थिए । क्षेत्रीले काठमाडौंमा रहेका क्याम्पस प्रमुख डा. रामचन्द्र अधिकारीलाई जसरी पनि दाङ आउन र यो विषय समाधान गर्न आग्रह गरेर फोन गरे भने विद्यार्थीहरूले पनि क्याम्पस प्रमुख नै वार्तामा बसेर समस्या समाधान गर्नुपर्ने शर्त राखेपछि बुधवार बिहानै उनी विश्वविद्यालय फर्केका थिए ।
बुधवार दिउसोदेखि बसेको वार्ता मौखिक सहमति गर्दै अघि बढिरहेको र तर वार्ता बाहिर रहेका विद्यार्थीले त्यो सहमति हुन नदिएको क्याम्पस प्रमुख अधिकारीको भनाइ छ । रातीसम्म विद्यार्थी र क्याम्पस प्रशासनबीच वार्ता भइरहेको र बाहिर विद्यार्थीको ठूलो समूहले घेरेपछि जिल्ला प्रशासनले उनीहरुलाई बाहिर निकाल्न प्रहरी पठाएको थियो । राती साढे ११ बजे क्याम्पस प्रमुख अधिकारीसहितका व्यक्तिलाई प्रहरीले बल प्रयोग गरेर बाहिर निकाली घरमा पुराएपछि त्यहाँ रहेको प्रहरी र विद्यार्थीबीच झडप भएको हो ।
विद्यार्थीले क्याम्पस प्रमुखले प्रहरी बोलाएको र विद्यार्थीमाथि दमन गरेका आरोप लगाएका छन् तर क्याम्पस प्रमुख अधिकारीले प्रमुख जिल्ला अधिकारीले आफूहरूलाई उद्धारका लागि प्रहरी पठाएको सूचना बिहीबार मात्रै जानकारी पाएको दाबी गरे ।
राती ११ः४० मा प्रहरीले बल प्रयोग गरेपछि स्ववियु सभापति हेमन्त बन्जाडेसहितका विद्यार्थी घाइते भएका छन् । घाइते बन्जाडेको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनको टाउकोमा ठूलो चोट लागेको छ ।
विद्यार्थी अवधेश चोबेका अनुसार विद्यार्थीहरू वार्तामा बसिरहेको बेला बल प्रयोग भएको र यस्तो घटना भएको हो । उनले वार्तामा बसेका विद्यार्थीभन्दा बाहिर धर्ना दिएका विद्यार्थी र जिल्लाबाट आएको प्रहरीबीच विवाद बढेपछि यस्तो घटना भएको बताए ।
विश्वविद्यालय केन्द्रीय आयुर्वेद विद्यापीठमा आठौँ ब्याचका विद्यार्थीहरूले आफूहरु अध्ययन सकेकाले तत्काल इन्टनसीपमा जान पाउनुपर्ने लगायतका विभिन्न विषय राखेर शान्तिपूर्ण आन्दोलन गरिरहेका थिए । विद्यार्थी नारायण घर्तीले वार्ता जारी रहेको बेला क्याम्पस प्रमुखको दबाबले प्रहरी प्रशासनबाट दमन भएको र विद्यार्थीमाथि गरिने यस्तो दमन खेदजनक रहेकाले तत्काल विद्यार्थीको माग सम्बोधन गर्न माग गरेका छन् ।
क्याम्पस प्रमुख अधिकारीले बुधवार राती विवादको विषय क्याम्पस प्रमुख र स्ववियुबीचको नभएर बाहिरका विद्यार्थीको दबाबमा भएको र छिटै बसेर समाधान गरिने जनाए ।
फागुन २९ मा प्रशासनमा लागेको ताला अहिलेसम्म खुलेको छैन भने असार २ गतेदेखि केन्द्रीय कार्यालयमा ताला लागेको छ । त्यसयता यहाँका भिसी डा. यादवप्रसाद लामिछाने र रजिष्टार माधव अधिकारीबीचको विवादले अहिलेसम्म रोकिएको छ । पछि भिसीले रजिष्टारलाई निलम्बन गरे, त्यो निलम्बन फिर्ता गरे तर अधिकारीले त्यसलाई फिर्ता होइन खारेज हुनुपर्छ भन्दै नमानेपछि अन्तिममा भिसीले नै राजीनामा दिएर बसेका छन् ।
राजनीतिमा चुतियागिरी प्रवृत्तिले प्रवेश पाउदा यसो हुनु स्वाभाविक हो अपराध र राजनीति सगै हुँदै हुदैन