कैलालीमा ५ सय बढी घर डुबानमा, १७ सय बढी प्रभावित – Nepal Press

कैलालीमा ५ सय बढी घर डुबानमा, १७ सय बढी प्रभावित

कैलाली । कैलालीमा परिरहेको भीषण वर्षाले यहाँको जनजीवन प्रभावित भएको छ । भजनी, जोशीपुर, जानकी, घोडाघोडी कैलारी, गौरीगङ्गामाका अधिकांश क्षेत्र जलमग्न भएका छन् ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार अहिलेसम्म कैलालीमा ५ सय बाढी घर डुबानमा परेका छन् भने १७ सय भन्दा बढी नागरिक प्रभावित भएका छन् ।

भजनीमा ४ सय बढी घर डुबानमा परेको उनले जानकारी दिए । हसुलिया गौरीगङ्गा सुखडमा डुबान भएको छ । कैलारीका केही परिवार वडा कार्यालयमा पसेका छन् । कैलारी ५ वयनपुरमा घरमा पानी पसेपछि निस्कने क्रममा ४२ वर्षीय लोकमाया चौधरीलाई पानीले बगाएको थियो । उनको उद्धार पछि धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।

अहिले पनि कैलालीमा साना ठुला नदीमा पानीको बहाव बढिरहेको छ भने निरन्तर वर्षा भइरहेको छ । बाढीको जोखिम अझै बढ्न सक्ने भन्दै जोखिम क्षेत्रमा रहेको स्थानीयहरूलाई सुरक्षित ठाउँमा आउन जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरिसकेको छ । अहिले स्थानीय पालिका, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा उद्धार कार्य समेत जारी रहेको छ ।

होचो भू–भागमा डुबानको जोखिम रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले पनि नदी क्षेत्र तथा नदीका कारण डुबान हुने भू-भागका नागरिकहरूलाई सतर्क रहन भनेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर