त्रिवि पदाधिकारीलाई धम्की दिएको आरोप खेपिरहेका रावलको दाबी- शिक्षालयमा कम्युनिस्टकरण हुँदैछ – Nepal Press

त्रिवि पदाधिकारीलाई धम्की दिएको आरोप खेपिरहेका रावलको दाबी- शिक्षालयमा कम्युनिस्टकरण हुँदैछ

काठमाडौं । समाजशास्त्र विभागको प्रमुख नियुक्तिलाई लिएर त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूलाई धम्की दिएको आरोप खेपिरहेका नेविसंघ त्रिविका नेता योगेन्द्र रावलले शिक्षालयहरूलाई कम्युनिष्टकरण गर्न खोजिएको उल्टो आरोप लगाएका छन् ।

बाजुराका कांग्रेस महासमिति सदस्य समेत रहेका रावलले बिहीबार वक्तव्य जारी गर्दै शिक्षामन्त्री विद्या भट्टराई र त्रिवि शिक्षाध्यक्ष खड्ग केसीको सेटिङमा आफ्ना कार्यकर्ता भर्ती गर्न खोज्दा आफूहरूले रोकेको दाबी गरेका छन् ।

रावलले शिक्षामन्त्री भट्टराईको निर्देशनमा शिक्षाध्यक्ष केसीले प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्व प्रेस सल्लाहकार कुन्दन अर्याललाई बोलाएर ‘लाल पत्रकार’मार्फत खामबन्दी प्रायोजित समाचार प्रवाह गराएको आरोप समेत लगाएका छन् । अर्याल पत्रकारिता विभागका प्राध्यापक हुन् ।

रावलले त्रिविको पाठ्यक्रमबाटै प्रजातान्त्रिक विचारहरूलाई बन्देज गर्ने,शिक्षालयहरूलाई कम्युनिस्टकरणको अभ्यास गर्ने र प्रजातान्त्रिक आस्था राख्ने प्राध्यापक,कर्मचारी र विद्यार्थीहरूमाथि नियोजित ढंगबाट निर्मम संरचनात्मक प्रहार गर्ने गरिएको आरोप समेत लगाएका छन् ।

उनी यसअघि उप प्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट प्रकरणमा अदालतबाट दोषी ठहर भएका थिए । त्यसविरुद्ध उनीहरूको पुनरावेदन मुद्दामा भदौ ९ गतेबाट बहस हुँदैछ ।

यस्तो छ रावलको वक्तव्य,

प्रधानमन्त्री केपि शर्मा ओलि ज्युका पुर्व प्रेश सल्लाहकार कुन्दन अर्याललाई त्रिविका शिक्षाध्यक्ष कमरेड खड्ग केशीले माननीय शिक्षा मन्त्रीको निर्देशनमा आफ्नै कार्यालयमा बोलाई लालाधारी पत्रकारहरुलाई कृत्रिम सुरक्षा थ्रेटको अपवाह फैलाउन खामबन्दी रकम बुझाएपछिका प्रायोजित समाचारहरु नजिकबाट नियालिरहेको छु |
स्मरण रहोस् – सुनियोजित ढंगले विश्वविद्यालयको पाठ्यक्रममै डेमोक्रेटिक बिचारहरुलाई बन्देज गर्ने, शिक्षालयहरुबाट कम्युनिष्टिकरणको अभ्यास गर्न खोज्ने, प्रजातान्त्रिक आस्था राख्ने प्राध्यापक, कर्मचारी र बिद्यार्थीहरु माथी नियोजित ढंगबाट निर्मम संरचनागत प्रहार गर्ने र आफ्नो अक्षमताको ढाकछोप गर्न प्रियताबादी राजनिती गर्ने अनि अमुख शक्तिको निर्देशनमा विश्वविद्यालयको फराकिलो दायरा खुम्च्याउने कुचेष्टा त्रिभुवन विश्वविद्यालयमा सम्भव छैन | यो किमार्थ स्विकार्य छैन |
माननीय शिक्षा मन्त्री र शिक्षाध्यक्ष खड्ग केशिको सेटिङमा आफ्ना कार्यकर्ता भर्तिको कार्य त्रिविमा तत्काल सम्भव नभएपछि लालपत्रकारहरुको झुण्डले फैलाएको भ्रामक समाचारको नेपाली समाजमा कुनै स्थान छैन! हुनुहुदैन |

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर