हामीलाई सर्मिन्दा भएको छ, विजय कृष्ण मुर्तिजीले स्पष्टीकरण दिनुपर्छः पं. कुवेर सुवेदी – Nepal Press

हामीलाई सर्मिन्दा भएको छ, विजय कृष्ण मुर्तिजीले स्पष्टीकरण दिनुपर्छः पं. कुवेर सुवेदी

काठमाडौं । पशुपतिमा एक महिनासम्म आयोजित कोटिहोम गत साता समापन भयो । यद्यपि, यसको विभिन्न कोणबाट चर्चा–परिचर्चाहरू जारी छन् । खासगरि कोटिहोम आयोजक तथा संकल्पकर्ता विजय कृष्ण मुर्ति भनिने विजय भण्डारीमाथि अनेक प्रश्नहरू उठिरहेका छन् ।

यो कोटिहोम आयोजनाप्रति धार्मिक क्षेत्रबाट समेत आलोचना भएको थियो । पञ्चांग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले यो अनुष्ठान धार्मिक विधिसम्मत नभएको र आर्थिक संकलनको ध्येयले मात्र गरिएको आरोप लगाएका थिए । यद्यपि कोटीहोममा भक्तजनको बाक्लो उपस्थिति रह्यो र करोडौं रकमसमेत संकलन भएको छ ।

कथावाचकहरूको साझा संस्था राष्ट्रिय कथा व्यास समाजका अध्यक्ष पं. कुवेर सुवेदीले कोटीहोम आयोजना आफैंमा सकारात्मक रहेको बताए । तर, यसका आयोजकमाथि उठिरहेका प्रश्नका सन्दर्भमा आफूहरू पनि चिन्तित रहेको उनको प्रतिक्रिया छ ।

नेपाल प्रेससँग कुराकानी गर्दै सुवेदीले चौतर्फीरूपमा उठेका प्रश्नहरूबारे आयोजक विजय कृष्ण मुर्तिले नै स्पष्टीकरण दिनुपर्ने बताएका छन् । उनीसँग गरिएको संवादः

– भर्खरै पशुपति मन्दिरमा आयोजना भएको कोटिहोमलाई लिएर विभिन्न प्रश्नहरू उठेका छन् । यस विषयमा राष्ट्रिय कथा व्यास समाजको दृष्टिकोण के हो ?

कोटि होम आयोजना त राम्रै हो । हामीले कुनै पनि धार्मिक यज्ञ अनुष्ठानलाई सकारात्मक नै मान्छौं । यद्यपि, यस्ता अनुष्ठानमा गुरुहरूको आचरण, अनुशासन पहिलेदेखि राम्रो हुनुपर्छ । त्यो धारणा चाहीँ हामी सबैको छ ।

– कोटीहोम आयोजना शास्त्रीय विधिसम्मत भएन भन्ने कुराहरू पनि उठेका थिए, तपाईंलाई के लाग्छ ?

विधिसम्मत भएन भनेर हामीले भनेका छैनौं । फेरि हामीले एकदमै नजिकबाट नियालेको अवस्था पनि होइन । सबै कुराहरूको विश्लेषण गर्न सक्ने अवस्थामा छैनौं ।

– आर्थिक स्रोत संकलनका लागि मात्रै गरिएको हो र महायज्ञको मर्म पालना नभएको आरोप लागेको छ । तपाईंलाई त्यस्तो लागेन ?

त्यो चाहीँ आयोजक पक्षलाई नै सोध्नुपर्छ । हामी निमन्त्रणा आएपछि एक दिन गएका हौं । व्याकग्राउन्ड पक्षहरू थाहा भएन । पञ्चांग निर्णायक समितिबाट विरोध भएको हो । तर, हामीले चाहीँ गरेनौं । योभन्दा अगाडि योगी नरहरीनाथले पनि दक्षिणायनमा पुराण लगाउनुभएको छ । अन्य विधि-विधानहरूको विषयमा राम्रोसँग थाहा भएन । भगवान आफैं पूर्णमदम हुनुहुन्छ । केही नीति-नियम नपुगेका छन् भने विद्वानहरूले हेर्ने कुरा हुन्छ । हामीले मात्रै विश्लेषण गर्न सक्दैनौं । हामीले कथावाचनको क्षेत्रलाई समेट्छौं । यज्ञको क्षेत्रलाई सन्त समाज, नेपाल पञ्चाङ्ग नर्णायक समितिले हेर्छन् । कमी-कमजोरी भएको हुन सक्छ । सबै सय प्रतिशत भयो होला भन्न सकिन्न ।

– मुख्य आयोजक विजय कृष्णमुर्तिका बारेमा अनेकन प्रश्नहरू उठेका छन् । उहाँको व्यक्तिगत छवि र पृष्ठभूमि विवादास्पद देखियो । यसलाई कसरी लिनुहुन्छ ?

हो, एउटाले गर्दा सिंगो धर्मलाई असर गर्छ । आफू योग्य छु कि छैन भनेर आफैँले जाँच्नुपर्छ । धर्मको नामबाट आर्थिक संकलन गर्ने नियत राखिएको हो भने त्यो बेठीक हो । हाम्रो प्राचीन सभ्यता, शक्ति र उर्जालाई नष्ट गर्नु पनि हो । गाना-बजाना बजाएर, रवाफ देखाएर मात्रै पनि कोटिहोम हुँदैन । यज्ञहरू हुँदैनन् । आचार्य भनेको के हो ? पढेर मात्र आचार्य हुँदैन । आचरणले पनि हुने हो ।

अहिले उहाँको विषयमा आएका कुराहरू हामीलाई पनि थाहा थिएन । उहाँले स्पष्टीकरण दिनुपर्ने हुन्छ यसबारेमा खास के हो भनेर । हामी त्यसै पनि सात्विक रहनुपर्छ । अनुशासित रहनुपर्छ । उहाँको खानपानका विषयमा पनि विभिन्न कुरा आएका छन् । उहाँ आफैंले मिडियामा स्पष्टीकरण दिनुपर्‍यो, होइन भने हामीलाई पनि सर्मिन्दा हुन्छ । गल्ती भएको हो भने सहर्ष स्वीकारेर न्यूज च्यानल र सामाजिक सञ्जलमा आएर उहाँले नै बोल्नुपर्‍यो ।

– यो महायज्ञमा कथावाचकहरूमाथि पनि विभिन्न प्रश्नहरू उठे । कथावाचक हुनका लागि केही योग्यता र आचारसंहिता निर्धारण गरिएको छ कि छैन ?

हामीले त्यो आवश्यकता महसुस गरेर भर्खरै कथा व्यासहरूको आचारसंहिता बनाएका छौँ । १५/१६ वटा बुँदाहरू सहितको आचारसंहिता २/३ दिनमा पत्रकार सम्मेलन गरेर जानकारी गराउँछौं ।

हामी आफैं पनि संयमित हुनुपर्ने हो । आफैं अनुशासनमा बस्नुपर्ने हो । शिक्षामात्र नभएर भेषभुषाको कुरा पनि छन् ।

– यस्ता महायज्ञमा उठेको रकमको वितरण प्रणाली कस्तो हुनुपर्छ ? पशुपति कोटीहोममा करोडौं उठेको भनिएको छ, त्यो रकम संकल्पकर्ता विजयकृष्णमुर्तिले एकल तजबिजमा खर्च गर्न सक्छन् ?

भक्तहरूले दिएको दान भेटी भनेको मानव सेवाको लागि हो । उहाँको मातहतमा बालबालिकाहरू छन् भनेर पनि धेरैले सहयोग गर्नुभएको होला । त्यसैले त्यसमा नै खर्च गर्नुपर्ने हुन्छ । पुरस्कार वितरण, व्यक्तिगत आर्थिक सहायतामा खर्च गर्नु शोभनीय हुँदैन ।

– कोटीहोममा कृष्ण दमाइलाई व्यासमा चढाइएको घटनालाई कसरी हेर्नु हुन्छ ? यो खाली विजय भण्डारीले लोकरिझ्याँइका लागि गरेका हुन् वा यो एउटा सांस्कृतिक क्रान्ति नै हो ?

सनातन धर्ममा जातपात भनेर भेदभाव छैन । पढ्न सबैले सक्नुहुन्छ । व्यक्तिगत आचरण र अनुशासनहरू आफ्नो ठाउँमा हुन्छन् । उहाँलाई व्यासमा ल्याउनुले सनातन धर्म विभेदकारी हो भन्ने सोच खण्डित भयो । अहिलेका युवा पुस्ताले यसलाई सकारात्मक सोच्नुभएको छ । तर, यसमा हामी हौसिएर अब उनीहरू पनि यस्तो भए भन्ने कुरातर्फ लाग्नु हुँदैन ।

शास्त्रमा भेदभाव नै छैन । कामी, दमाई भन्ने शास्त्रमा भेटिँदैन । ब्राम्हण, क्षेत्री, वैश्य, सुद्रको वर्ण व्यवस्था छ । तर, कामी दमाई नै सुद्र हुन् भनिएको छैन । साथै, सुद्रले जनै नलगाइकन पनि फल प्राप्त हुन्छ । हामीले प्राप्त गर्ने फल उहाँहरूलाई पनि प्राप्त हुने हो । उहाँहरूले जनै लगाउनु पर्दैन । जनै लगाएर म पनि ब्राम्हण भएँ भन्नु पनि संकुचित मानसिकता हो । त्यो पर्दैन ।

– त्यसो भए सुद्रलाई कथावाचन गर्न पनि शास्त्रले रोक्दैन ?

रोक्दैन । काले राई पनि त राई परिवारमा जन्मिनुभो । वर्णको हिसाबले हेर्ने हो भने त उहाँलाई पनि हामीले मान्ने थिएनौं होला । उहाँको विद्यालाई र आरचणलाई दण्डवत गरेका हौं । ब्राम्हण कुलमा जन्मेर पनि सुद्र हुन सक्छन्, यदि आचरमा बसेनन् भने ।


प्रतिक्रिया

One thought on “हामीलाई सर्मिन्दा भएको छ, विजय कृष्ण मुर्तिजीले स्पष्टीकरण दिनुपर्छः पं. कुवेर सुवेदी

  1. धर्म परिवर्तन गर्नु/गराउनु भन्दा धार्मिक नीति नियमहरु समय अनुसार परिमार्जन हुन चै जरुरी देखिएको छ 🙏

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर