यस्तो छ सांसद दाहालको भ्रष्टाचारको अन्तर्कथा, पार्टीले हिसाब माग्दा प्रचण्डको घर बनाउन चन्दा दिएको दाबी – Nepal Press

यस्तो छ सांसद दाहालको भ्रष्टाचारको अन्तर्कथा, पार्टीले हिसाब माग्दा प्रचण्डको घर बनाउन चन्दा दिएको दाबी

पार्टी कार्यालय भवन बनाउन साढे ३ करोड व्यक्तिगत खातामा उठाएर २ करोड ३५ लाखको हिसाब गोलमाल गरेको माओवादीको ठहर, सांसद राजन दाहाललाई कारबाहीका लागि प्रदेश र केन्द्रमा सिफारिस

हेटौंडा । पछिल्लो समय युट्युव च्यानलदेखि टेलिभिजन अन्तर्वार्ताहरूमा समेत सुशासनको पक्षधर र भ्रष्टाचारविरोधी अभियन्ताका रूपमा भाइरल बनिरहेका माओवादी सांसद राजन दाहाल आफ्नै पार्टीभित्रको भ्रष्टाचार प्रकरणमा मुछिएका छन् ।

सिन्धुली २ बाट गठबन्धनको उम्मेदवार बनी सांसद निर्वाचित भएका लेखनाथ दाहाल (राजन) माथि नेकपा माओवादी केन्द्रको सिन्धुली जिल्ला समितिले लिखितरूपमै भ्रष्टाचार र आर्थिक अनियमिततामा संलग्न रहेको भनी तल्ला कमिटीमा सर्कुलर पठाएको छ ।

शान्ति प्रक्रियामा माओवादी आएपछि रामेछाप जिल्ला इन्चार्ज बन्दा विपक्षी पार्टीका नेता कार्यकर्तामाथि भौतिक हमला र धनमाल लुटपाट गरेर बाहुबली नेताको छवी बनाएका दाहाल पछिल्लो समय पार्टीभित्रै पनि सोहीरूपमा चित्रण हुन थालेका छन् । नेपाल प्रेसले स्थानीयस्तरमै गएर उनी कसरी अनियमततामा संलग्न रहे भन्ने खोजी गरेको छ ।

पार्टी कार्यालय भवन निर्माणको अन्तर्कथा

दाहाल जिल्ला इन्चार्ज हुँदा ३ वर्ष पहिले कार्यालय भवन बनाउने नाममा अभियान चलाए । कमलामाई नगरपालिका वडानं. ६, २ नं. बजार पुछारमा १२ धुर जग्गा सन्तोष साहबाट ७२ लाखमा खरिद गरियो र पास खर्च २ लाख बराबर आयकरसहित माओवादी केन्द्र सिन्धुलीले तिरेको थियो । उक्त जग्गा पार्टीकै नाममा खरिद गरियो ।

हो यहीँबाट अनियमितताको सुरूवात भएको देखिन्छ । जग्गा नेकपा माओवादी केन्द्र, सिन्धुलीको नाममा किनियो । जब भवन बनाउने तयारी गरियो त्यहाँ भने दाहालले चलाखी गरे । जग्गा पार्टीको नाममा किनिए पनि भवन बनाउने स्रोत उठाउने खाता भने व्यक्तिको नाममा खोलियो । खाता किन व्यक्तिको नाममा खोल्ने पार्टीको नाममा खोल्न मिल्दैन ? भन्दै उनीसँग कार्यकर्ताले प्रश्न गरे । पार्टीको नाममा खाता खोल्दा स्रोत खुलाउन समस्या हुने, त्यो समयमा सवै रकम राज्यले जफत गर्न सक्छ भन्ने जवाफ दिएर उनी पन्छिएको नेताहरूको भनाइ छ ।

यो पनि पढ्नुहोस् : सांसद राजन दाहालमाथि आर्थिक अनियमितता र लेबीमा भ्रष्टाचारको आरोप, पार्टी इन्चार्जले गरे यस्तो सर्कुलर

कार्यकताको यो आवाज सुन्दै नसुनी उनले कमलामाई नगरपालिका वडा नं. ६, १ नम्बर बजारमा रहेको प्रभु बैंकमा खाता खोले । तिनपाटन गाउँपालिका- २ घर भई कमलामाई-५ निवासी उद्दव दाहाल र कमलामाई नगर पालिका-१२ घर भई कमलामाई-६ बस्ने गणेश रत्न भन्ने गणेशबहादुर दर्जीका नाममा संयुक्त खाता खोलियो ।

खाता खोली सकेपछि कार्यकर्ता, व्यापारी र विभिन्न पेसा व्यवसायीलाई उर्दी गरियो र अनिवार्य सहयोग गर्न भनियो । दाहालको यो उर्दीमा जिल्लाका सबै क्षेत्रवाट व्यक्तिगत रुपमा खोलिएको खातामा रकम जम्मा गर्न लगाईयो । सहज दिनेले दिए नदिनेलाई दाहाल आफैँले फोन गरेर रकम जम्मा नगरे देखाई दिन्छु भन्दै धम्क्याएर जम्मा गर्न लगाएको माओवादी कार्यकताले नै बैठकमा कुरा उठाएका थिए ।

उक्त खातामा ३ करोड ३५ लाख बराबर रकम जम्मा भएको दाहालनिकट कार्याकर्ताले बताए । १० लाख वढी रकम व्यक्तिगत खातामा जम्मा हुँदा समेत राष्ट्र वैंकमा अलर्ट जाने र सम्बन्धित खाता धनीले स्रोतको प्रमाण देखाउनु पर्ने अनिवार्य नियम भएपनि यो खातामा निरन्तर ठूलो परिणाममा रकम जम्मा हुँदा पनि न राष्ट्र बैंक, न सम्पत्ति शुद्धीकरण न राष्ट्रिय सर्तकता केन्द्रले नै कुनै चासो दिए ।

प्रचण्डको घर बनाउन राजनको चन्दा ?

दाहालको उक्त समया यतिसम्म दबदबा थियो कि, पार्टीमा उनको आलोचना गर्ने कार्यकतालाई आफ्नो पार्टीभित्रै असुरक्षित महसुस गरेर बाँच्नुपर्ने अवस्थासम्म आइपर्‍यो । अन्य राजनीतिक दल, पत्रकार र नागरिक समाज उनको बारेमा बोल्नसमेत सक्ने अवस्थामा थिएनन् ।

पैसा जम्मा हुनासाथ उनले ४ तले भवनको नक्सा वनाए । भवन २२ लाखमा बनाउने ठेक्का ठेकेदारलाई दिइयो । भवनलाई चाहिने सिमेन्ट मारुती सिमेन्टबाट निःशुल्क ल्याए । बालुवा र गिट्टी स्थानीय व्यापारी र क्रसर उद्योगवाट निः शुल्कै प्राप्त गरे । उनी आफैं क्रसर उद्योगहरूका साझेदारसमेत हुन् । रड उद्योगहरूबाट सहयोग आयो । रंगरोगनका लागि ४ लाख खर्च भएको कार्यकर्ता बताउँछन् ।

उनले जम्मा भएको ३ करोड ३५ लाखमध्येबाट जग्गा खरिदमा ७२ लाख, पास खर्च २ लाख, निर्माणमा ठेक्का २२ लाख र रंगरोगनमा ४ लाख गरी जम्मा १ करोड मात्र खर्च गरेको नाम उल्लेख नगर्ने सर्तमा एक माआवादी नेताले बताए । त्यो हेर्दा उनले २ करोड ३५ लाख बढीको हिसाबनै गोलमाल गरे भन्ने माओावदी नेताको भनाई रहेको छ ।

उनका अनुसार जब पार्टी कार्यकर्ताले हिसाबकिताबको कुरा उठाए तब दाहालले सवै खर्च भएको बाँकी रहेको रकममध्ये केही पैसा प्रचण्ड कमरेडको चितवनमा घर खरिद गर्न पठाएको जवाफ दिए ।

तर, कति रकम दिइयो भन्ने बताएका छैनन् । बाँकी रकम भने श्रीमती दीपा बोहराको जनसेवा फाउण्डेसनमा जम्मा गरिएको मौखिक जवाफ दिएको माओवादी नेताले बताए ।

२ करोड ३५ लाखको अनियमितता

माओवादीको पछिल्लो जिल्ला कमिटी बैठकमा भएको छलफल अनुसार २ करोड ३५ लाख बराबरको अनियमितता देखिन्छ । नेपाल प्रेसले खोजी गर्दा जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा दर्ता भएको संस्था जनसेवा फाउण्डेसनको अध्यक्ष भने दीपा बोहरा दाहाल हुन् । दीपा लेखनाथ दाहाल (राजन) की श्रीमती र हाल सुनकोसी गाउँपालिका अध्यक्षसमेत हुन् ।

दाहालले रकम जम्मा गरेको जनसेवा फाउण्डेशनले रकम प्राप्त गरेको रकमको स्रोत के हो । संस्था दर्ता ऐन २०३४ बमोजिम दर्ता भएका संस्थाले दान दातव्य पाउन समाज कल्याण परिषद्‍बाट स्रोतको पुष्टिसहित निवेदन दिएर अनिवार्य स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ ।

दाहालले पार्टी छलफलमा दिएको हिसाबअनुसार ४०/४५ लाख पैसा कसरी उक्त संस्थामा हालियो नै अचम्मको विषय वनेको छ । नेपाल प्रेसले सम्बन्धित बैंकमा खोजी गर्दा खाताको विवरण दिन नमिल्ने बताइयो ।

कि त दाहाल रकम जम्मा गरिएको कुरा नै झूट बोल्दै छन् । होइन भने सो परिणामको रकम गैर सरकारी संस्थाको नियमन गर्ने निकाय जिल्ला प्रशासन कार्यालय, सिन्धुली र समाज कल्याण परिषदको स्विकृतीबेगर सम्बन्धित बैंकले कसरी जम्मा गर्‍यो त्यो नै प्रश्नको घेरामा छ ।

माओवादीका एक नेताले भने, ‘अहिले माओवादी केन्द्र बागमती प्रदेशको बैठकमा समेत उठेको यो सिन्धुलीको भष्टाचारको विषय राष्ट्रिय बहसमा पुगेको छ । यो रकम पार्टीको खातामा समेत जम्मा नगरी व्यक्तिगत खातामा जम्मा गरेर अनियमितता गरिएको प्रष्ट छ । सुशासनको दुहाई दिने संघीय सांसद लेखनाथ दाहाल (राजन) माथि गम्भीर आरोप लागेको छ । यसबारे उहाँले विगतको जस्तो धाकधम्की होइन यथार्थ जवाफ दिनुपर्छ र हिसाबकिताब बुझाउनुपर्छ ।’

नेकपा माआवादी केन्द्र जिल्ला इन्चार्ज बुद्धिमान माझी (वसन्त) को हस्ताक्षरमा साउन २७ गते जारी आन्तरिक परिपत्रमा लेखनाथ दाहाल (राजन) लाई पटक-पटक अनुरोध र ताकेता गर्दा पनि भवन निर्माणको आयव्यय प्रस्तुत नगरेको उल्लेख छ । उनीमाथि लेबीको रकम समेत हिनामिना गरेको आरोप छ ।

नेकपा माओवादी केन्द्रले दाहालमाथि कारबाहीका लागि भन्दै प्रदेश र केन्द्रीय कार्यालयलाई लेखी पठाएको समेत पठाएको छ । उता दाहालले भने सत्यलाई भ्रमले छोप्ने प्रयास भएको भन्दै आफूले अनियमितता नगरको दाबी गरेका छन् ।

यो पनि पढ्नुहोस्-


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर