के भारतीय बलर मोहम्मद सामी नेपाली टीमसँग अभ्यास गर्दैछन् ?
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीम लिग-२० को आगामी सिरिजको तयारीका लागि भारतमा छ । भारतीय क्रिकेट बोर्डले नेपाली टीमलाई अभ्यासका लागि निम्त्याएको हो ।
नेपाली टीम गत साउन २९ गते भारत प्रस्थान गरेको थियो । बैंगलोरस्थित नेसनल क्रिकेट एकेडेमी (एनसीए) मा नेपाली खेलाडीहरूले प्रशिक्षण गरिरहेका छन् । भारतमा दुई साता प्रशिक्षण गरेर नेपाली टिम क्यानडामा लिग २ खेल्न जाने कार्यक्रम छ ।
एनसीएमा प्रशिक्षण गरिरहेका नेपाली खेलाडीहरूसँग केही दिनअघि भारतका दिग्गज फास्ट बलर मोहम्मद सामीले भेटे । उनले नेपाली खेलाडीहरूलाई ‘टिप्स’ दिइरहेको फोटो नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो पेजमा राखेको थियो ।
भारतका फ्रन्टलाइन बलरका रूपमा रहेका सामी अहिले चोटका कारण राष्ट्रिय टीम बाहिर छन् । चोट निको भएर राष्ट्रिय टिममा कमब्याक गर्ने प्रयासमा उनी सोही एकेडेमीमा सामान्य प्रशिक्षण गरिरहेका छन् । यही क्रममा सामीसँग नेपाली खेलाडीको साक्षात्कार भएको हो ।
सामी नेपाली क्रिकेट टीमसँग अभ्यासरत रहेको दाबी गर्दै केही फोटो/भिडिओ सार्वजनिक भएका छन् । एउटा भिडिओ फुटेजमा नेपाली राष्ट्रिय टिमका ओपनर कुशल भुर्तेल सामीको बल फेस गरिरहेको दाबी गरिएको छ । तर, यो भिडिओ ‘फेक’ भएको बुझियो । क्यान प्रवक्ता छुम्बी लामाले मोहम्मद सामीले नेपाली टिमसँग अभ्यास नगरेको जानकारी दिए ।
‘उहाँ त्यही एकेडेमीमा रहनुभएकाले नेपाली टीमसँग भेट भएको हो, तर सँगै अभ्यास गर्नुभएको छैन,’ उनले भने ।
गत एक दिवसीय विश्वकपमा तहल्का पिटेका सामी अहिले भारतको राष्ट्रिय टिमबाहिर छन् । चोटका कारण उनले टी-२० विश्वकप गुमाए । एकदिवसीय विश्वकपमा सनसनीपूर्ण प्रदर्शन गर्दै उनले ७ खेलमै २४ विकेट लिएका थिए । तर, विश्वकप लगत्तै अभ्यासका क्रममा उनको कुर्कुच्चामा चोट लागेको थियो । त्यसपछि सामीले भारतका लागि कुनै पनि खेल खेल्न सकेका छैनन् ।
भारतले सेप्टेम्बरमा बंगलादेशविरुद्ध आफ्नै गृह मैदानमा टेस्ट सिरिज खेल्दैछ । उक्त सिरिजमा सामी टिममा उपलब्ध हुन सक्ने आशा राखिएको छ ।