खगराज भन्छन्- केन्द्रको सहकार्यको मर्मअनुसार जान्छौँ, सरकारमा सम्मानजनक उपस्थिति चाहिन्छ – Nepal Press
नेपाल टक

खगराज भन्छन्- केन्द्रको सहकार्यको मर्मअनुसार जान्छौँ, सरकारमा सम्मानजनक उपस्थिति चाहिन्छ

पोखरा । केन्द्रमा सत्ता समीकरण फेरबदलसँग एमाले-कांग्रेस नेतृत्वको सरकार बनेको ४१ दिन पुग्यो । ५ वटा प्रदेशमा एमाले कांग्रेसको सत्ता सहकार्य भइसकेको छ । कोशी र गण्डकीमा भने बाँकी छ ।

पटक पटक दुवै दलका प्रतिनिधिबीच छलफल भए पनि निष्कर्षमा पुगेको छैन । दुवै दलले आ-आफ्नो अडान नछोड्दा कांग्रेस नेतृत्वको सरकारमा एमाले सहभागी भएको छैन । एमाले सरकारमा जान भइरहेको ढिलाइको कारण र अबको रणनीतिलगायतका विषयमा एमाले गण्डकी संसदीय दलका नेता एवम् पूर्वमुख्यमन्त्री खगराज अधिकारीसँगको कुराकानी नेपाल टकमा-

– केन्द्रमा एमाले-कांग्रेसको सरकार बनेको पनि ४०/४२ दिन पुग्यो । अधिकांश प्रदेशमा सरकार फेरिँदा गण्डकीमा चाहिँ अहिलेसम्म किन एमाले सरकारमा गएन ?

हाम्रो छलफल भइराखेको छ । केन्द्रसँग पनि समन्वय छ । यहाँ पनि दुई दलका बीचमा छलफल र समन्वय भइराखेको छ । तर, हाम्रो कुरा भन्दा पनि मुख्यमन्त्रीज्यूले आफ्ना केही सीमाहरू छन् भन्नुभएको छ । र, उहाँको ती कुराहरूको सम्बोधन गर्ने गरी सबै कुरा निष्कर्षमा पुग्न सकेको छैन । ती सम्बोधन योग्य कुराहरू सम्बोधन गर्न हामी तयार छौँ । तर, विलम्ब हुनुमा हाम्रो भन्दा पनि अहिले सरकारमा रहेका साथीहरूको कारणले ढिलो भएको हो ।

– यतिका दिनसम्म तपाईँहरूका मागमा काँग्रेस टसमस भएन । विभिन्न नियुक्तिमा पनि तपाईँहरूसँग समन्वय गरेन । कांग्रेसबाट अपमानित भएको महसुस भएको छैन ?

हामीले यसबारेमा अहिले प्रतिक्रिया दिइहाल्ने तहमा छैनौँ । तर, कुरा के हो भने यो संख्या बहुमतको आधारमा होइन । राष्ट्रिय आवश्यकताका साथ सम्बोधन गरेर जनतामा उत्साह थप्न, निराशालाई चिर्न, विदेश पलायनलाई रोक्न, अर्थतन्त्रलाई सबलीकरण र चलायमान बनाउन, सुशासन कायम गर्न हामी यो निष्कर्षमा पुगेका हौँ । त्यस कारणले यस्तो सानो तिनो कुरामा अड्केर बस्न नपर्ने हो भन्नेछ हाम्रो । उहाँको आफ्नो वर्क आउट नपुगेको होला । हिजो दलको बैठक बस्नुभयो । अब केही कुरा हुन्छ की भन्ने अपेक्षामा छौँ । हाम्रोतर्फबाट ढिलाइ हुनुपर्ने कुरा केही छैन । माथिको सहमतिलाई त्यो मर्मअनुसार यहाँ प्रदेशमा कार्यान्वयन गर्न पूर्ण रूपमा सकारात्मक छौँ ।

– तपाईँहरू सात मन्त्रालयबाट बढाउन हुन्न भन्नुहुन्थ्यो । पछिल्लो समय गण्डकीमा मन्त्रालय बढाउने निश्चित भएको भन्ने सुनिन्छ । अडान छोड्नुभएको हो ?

वास्तवमा जनतामा सम्बोधन के कुराको गर्नुपर्ने छ भने प्रदेश औचित्य र सामार्थका बारेमा हामीले पुष्टि गर्नु छ । थोरै मन्त्रालयबाट पनि चुस्त, दुरुस्त गर्न सकिन्छ भन्ने मेसेज जनतालाई दिन आवश्यकता छ । अर्कोतर्फ मेरो गोरुको बाह्रै टक्का भनेर अडिन त हुँदैन । हाम्रो अडान प्रस्ट छ । यो अडानका काममा सहमतिको बाधक पनि एमाले बन्न भएन । त्यस कारण हामी यसमा सुहाउँदो, बुझिँदोसम्म गर्न हामी तयार छौँ ।

– सरकारमा सहभागी हुनलाई तपाईँहरूको बटम लाइन चाहिँ के हो ?

सम्मानजनक उपस्थिति हो । केन्द्रको सहकार्यको मर्म र भावनाअनुसार हामी जान्छौँ । र, त्योअनुसार हुनुपर्छ भन्ने हाम्रो कुरा हो । त्यसमा हुँदैन भनेर उहाँहरूले भन्नुभएको छैन । तर, व्यवहारमा परिणाम आएन ।

– तपाईंहरूलाई नै विश्वास छैन होला है यो गठबन्धन कहाँसम्म जान्छ भनेर ? कांग्रेस सरकार जोगाउनेलाई फाल्न खोज्दैन । जसका कारण सरकार ढल्यो उसैसँग सरकारमा जानुपर्ने बाध्यता तपाईँहरूसँग भयो नि !

तपाईँहरूले के बुझ्नुपर्‍यो भने हाम्रो सरकार त माओवादीका कारणले पनि ढल्यो । माओवादीले इमानदारिता देखाएन नि त । मुख्य कारण त कांग्रेस हो नि ! हाम्रो सरकार ढाल्ने मुख्य कारण त कांग्रेस हो । त्यस कारण हाम्रो सरकार ढाल्नेसँग नजाने भन्ने त्यो भिन्न परिस्थिति हो । अहिले अर्को परिस्थिति निर्माण भयो । त्यसैले हामी कुनै व्यक्तिका प्रति आग्रह या पूर्वाग्रहमा छैनौं । हामी नीतिका पक्षमा छौँ । र, त्यसले डेलिभरी के दिन्छ जनतालाई ।

यो व्यवस्थाप्रति, संविधानप्रति आस्था कसरी बढाउन सकिन्छ । र मैले अघि भनेका राष्ट्रिय समस्याको सम्बोधन यो प्रदेशको परिपेक्षमा हामी कति मिलाउन सक्छौँ । त्यसलाई नयाँ उत्साह र उचाइका साथ विकास निर्माणमा तीव्रता, आर्थिक गतिविधिमा तीव्रता । यहाँ नियुक्ति सरुवामा ध्यान दिएर विलम्ब गर्ने हो भने हाम्रो लागि त्यो रुचिको विषय होइन ।

– भागबन्डा मिलेपछि फेरि पार्टीभित्र मन्त्री छान्नुपर्ने होला । तपाईँलाई चाहिँ आफ्नो गुटलाई च्याप्नुहुन्छ भन्ने आरोप लागिरहन्छ ? मन्त्री छान्दा पार्टीभित्र छलफल पनि गर्नुहुन्न भनेर पार्टीभित्र कै नेताले आरोप लगाउँछन् । यसपालि चाहिँ एमाले सबैलाई समेटेर सरकारमा जान्छ ?

कुन-कुन सांसदले कहाँकहाँ छलफल गर्नुभएको छ । छलफल गर्ने थलो कहाँ हो । गुट कहाँकहाँ छ उहाँहरूलाई थाहा होला । मलाई गुट पनि थाहा छैन । किनभने हाम्रो पार्टीको नेता केपी ओली । हाम्रो विचार जनताको बहुदलीय जनवाद । कसलाई के गुट बनाउन मन छ । कसले बाहिरबाट प्रतिवाद गर्छन् भनेर भन्छ । त्यसको सुनुवाइ गर्नुपर्ने, त्यस्ता कुरामा ध्यान दिनुपर्ने मलाई रुचि छैन । म चाहिँ पार्टीको नीति, विचार, सिद्धान्त, दृष्टिकोणमा दृढ छु । र व्यवहार म लचिलो छु । कसैप्रति मेरो आग्रह पनि छैन । कसैलाई नबनाई नहुने पनि छैन । त्यसैले कसैले आफूले माग गरेका कुरा नहुने बित्तिकै धार र गुटको कुरा गर्छ भने त्यो आफै जवाफदेही छ । मलाई त्यसमा भन्नु केही छैन ।

– तपाईँ गुट छैन भन्नुहुन्छ । केही समयअघि प्रदेश सांसदहरू दुई समूह बनाएर पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीलाई भेट्न गएको फोटो त हामीले देखेकै हो नि !

खै समूह भएर गएका हुन् कि पायक परेर गएका हुन् । मसँग सल्लाह गरेर कोही गएनन् । मलाई त्योबारेमा जानकारी लिन जरुरी ठानिन् मैले । आफ्नो पार्टी अध्यक्षलाई भेट्न सबैलाई रुचिको विषय भयो । आफ्नो कुरा राखे होलान् । त्यो उनीहरूको कुरा भयो । अनि को किन गयो, को कसलाई भेट्यो मलाई सोध्नुपर्ने आवश्यकता भएन ।

– यसअघि दुई पटकसम्म एमाले बजेट ल्याउने मुखमा सरकारबाट बाहिरिनुपर्‍यो । अहिले कांग्रेस नेतृत्वको सरकारमा जाने तयारीमा छ । सरकारमा एमालेको भूमिका के हुन्छ ?

पहिलो कुरा त प्रदेशले सर्भाइभ कसरी गर्न सक्छ । प्रदेशले आफ्नो आन्तरिक राजस्वलाई कसरी वृद्धि गर्न सक्छ । हामीले अहिले लक्ष्य देख्यौँ सरकारको । ५/६ अर्ब छ । न्यूनतम २० अर्ब बराबरको आन्तरिक राजस्व सङ्कलन गर्न सकेनौँ भने प्रदेश चल्न सक्दैन । त्यसका लागि अब आर्थिक गतिविधिहरू बढ्नुपर्‍यो । होटेल व्यवसायीहरू चल्नुपर्‍यो । विकास निर्माणको काम तीव्र हुनुपर्‍यो । भौतिक पूर्वाधारका कामहरू फटाफट हुनुपर्‍यो । भन्सार नाकाहरू नियमित हुनुपर्‍यो । यसमा हामीले कसरी पूर्वाधार निर्माण गर्छौँ र कसरी स्तर वृद्धि गर्छौँ । र त्यसले राजस्व सङ्कलन कसरी बढी गर्न सक्छौँ । यी सब कुराहरूतर्फ हाम्रो गम्भीर ध्यानाकर्षण छ । त्यस कारणले अब दिन काट्ने काल पर्खने टाइपको भएर हुँदैन । विशिष्ट ढङ्गले काम गर्नुपर्छ । त्यो विशिष्ट ढङ्गले काम गर्नका लागि दुई पार्टीले सहकार्य गर्ने कुराले एउटा सकारात्मक सन्देश सञ्चार गरोस् भन्ने सोच हो ।

– लामो समयदेखि मन्त्रालयले मन्त्री पाएका छैनन्, संसद् पनि गुमनाम जस्तो स्थितिमा छ । दलहरू भागबन्डामा व्यक्त छन् । यस्ता गतिविधिले प्रदेशलाई झन् कमजोर बनाउनतर्फ लैजान्छ कि ! यसको जिम्मेवारी एमालेले लिनुपर्ला कि नपर्ला ?

अहिलेसम्म त पर्दैन । हाम्रो पनि दायित्व के हो भने हामीले कुरा उठाएका छौँ । नियमित संसद् यति लामो समयसम्म नहुनु, विधेयकहरू त्यसै अलपत्र हुनु त्यस्ता कुराले हामीलाई शोभा दिएको छैन । सक्रिय, गतिशील र आफ्नो आवश्यकताअनुसारको कानून निर्माण गर्ने र काममा अगाडि बढ्नुपर्छ भन्ने कुरामा हाम्रो जोड रहन्छ । र हामी तपाईँमार्फत पनि भन्न चाहन्छौँ । सांसदलाई अलिकति सक्रिय बनाऊँ ।
केही समयअघि एमाले-कांग्रेसको वार्ताका लागि समिति पनि गठन भएको थियो । समितिबीच छलफल भइराख्दा पार्टीले विज्ञप्ति निकाल्ने अवस्था किन आयो ?

यो विलम्ब जुन भइराखेको छ । त्यसपछि नियुक्तिहरू सरासर भएकै छन् भन्ने कुरामा चासो राख्यो होला पार्टीले । पार्टीले मलाई त समन्वय गरेन । सार्वजनिक भएपछि थाहा भयो । अहिले आन्तरिकरूपमै आफ्नो कुराहरू राख्दा राम्रो हुन्छ । किनभने हामी सहकार्य गर्ने कुरामै छौँ । त्यस कारणले आफ्नो कुरा जोडदारका रूपमा राख्ने तर, आन्तरिक रूपमा राख्नु उपयुक्त हुन्छ भन्ने कुरामा विश्वास गर्छु मैले ।

– सबै कुरा काठमाडौं पुर्‍याउनु हुन्छ भनेर प्रदेश अध्यक्षको असन्तुष्टि छ भन्ने सुनिन्छ ?

रुष्ट भएको थाहा छैन मलाई । म प्रदेशको मातहतमा काम गर्ने संरचनाभित्रको होइन । आरोप लाउनेले राम्रोसँग बुझेर लगाए हुन्थ्यो । बेलाबेलामा संसदीय दलको बैठकमै प्रदेशको अध्यक्ष, पार्टीको इन्चार्जलाई बोलाउने गरेकै छु । गोकर्ण विष्ट हुँदा पनि किरण गुरुङ, पद्मा अर्याल हुँदा पनि । प्रदेशको अध्यक्षको मातहतको होइन म । त्यो कुरा प्रदेश अध्यक्षलाई पनि थाहा छ । तर, मैले समन्वय गर्ने कुरा गर्छु । र प्रदेशले हाम्रा मन्त्री कसलाई बनाउनी भनेर निर्णय गर्ने होइन ।

पार्टी विधानअनुसार प्रदेश कमिटी चल्छ । संसदीय दलको विधान र पार्टीको संसदीय परम्पराअनुसार संसद्को मूल्य, मान्यता र कानुनअनुसार संसदीय दल चल्छ । त्यसैले के नबुझ्दा हुन्छ भने हिजो ५ वर्ष हाम्रो संसदीय दलले अभ्यास गरिसकेको छ । त्यो संसदीय दल कसरी चल्यो ? अनि यति कुरा पनि जानकारी नभईकन पत्रकारले सोध्ने प्रतिक्रिया दिन रुचि मान्नेहरूका प्रति मैले केही भन्नु छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर