माओवादी सांसद दाहालको प्रश्न- त्रिविमा भएको के हो ? गुण्डागर्दी भए कानूनी प्रक्रियामा जानुपर्यो (भिडिओ)
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले त्रिभुवन विश्वविद्यालयमा अपराधजन्य समस्या, गुण्डागर्दी भए कानूनी प्रक्रियाबाट नियन्त्रण गर्नुपर्ने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै त्रिविका उपकुलपति, रेक्टर र रजिष्ट्रार सुरक्षाको कारण देखाउँदै कार्यालयमा अनुपस्थित भएको भन्दै त्यहाँको सत्य के हो ? जानकारी गराउन सरकारसँग माग गरे ।
उनले भने, ‘यतिबेला त्रिभुवन विश्वविद्यालयमा उपकुलपति, रेक्टर, रजिष्ट्रारहरु सुरक्षाको कारण देखाउँदै कयौँ दिनदेखि कार्यालयमा उपस्थित हुन सक्नुभएको छैन । सत्य के हो ? हामीले थाहा पाउनुपर्छ । त्रिभुवन विश्वविद्यालयमा असुरक्षा हुन्छ भने अन्त सुरक्षा कहाँ दिन सकिन्छ ? सरकार छ कि छैन ? सरकार छ भने त्रिभुवन विश्वविद्यालयमा सुरक्षा दिनुपर्यो । समस्या के हो ?’
उनले राजनीतिक समस्या भए वार्ता र गुण्डागर्दी भए कानूनी प्रक्रियाबाट नियन्त्रण गर्नुपर्ने बताए ।
उनले थपे, ’कुनैपनि हालतमा त्रिभुवन विश्वविद्यालयमा असुरक्षा छ भनेर यस्तो लज्जास्पद कुरा गर्न पनि सुहाउँदैन ।’