नाम बिगारेको भन्दै खड्काले सभामुखलाई २ पटक भन्न लाए आफ्नो नाम (भिडिओ)
काठमाडौं । नेपाली काँग्रेसका सांसद नारायण खड्काले सभामुख देवराज घिमिरेलाई आफ्नो नाम पुनः पढ्न आग्रह गरेका छन् । प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा भाग लिने क्रममा समामुख घिमिरेले खड्काको नाम नारायणप्रसाद खड्का भनेर उद्घोष गरेपछि उनले आफ्नो नाम पुनः पढ्न आग्रह गरेका थिए ।
सभाामुख घिमिरेले भने, ‘माननीय सदस्य डा.नारायणप्रसाद खड्कालाई प्रश्न सोध्न अनुमति दिन्छु ।’ खड्काले प्रश्न सोध्नुको साटो सभामुखलाई भने, ‘सम्माननीय सभामुख महोदय नाम फेरि पढ्नुपर्यो । त्यहाँ प्रसाद लेखिएको छ र ?’
त्यसपछि प्रतिनिधि सभा हाँसोमय बन्यो । सभामुख घिमिरेले पनि नाम दोहोर्याएर पढे । सभामुखले हाँस्दै भने, ‘नारायण खड्का’ । त्यसपछि धन्यवाद दिँदै सांसद खड्काले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा प्रश्न राखेका छन् ।
प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमको सुरुमा धुव्रबहादुर प्रधानले प्रश्न राख्ने कार्यतालिका रहे पनि उनको नाम दुई पटकसम्म सभामुखले बोलाउँदा बैठकमा नभएपछि खड्काले पहिलो प्रश्न राख्ने मौका पाएका हुन् ।
सभामुख घिमिरेले यस अघि पनि कतिपय सांसदको नाम बोलाउने क्रममा अल्मलिएर प्रसाद, कुमार थपिदिने गरेका छन् । कतिपय सांसदले यसमा केही प्रतिक्रिया नदिए पनि कतिपय सांसदले भने आफ्नो नाम बिगारेको भन्दै आपत्ति जनाउँदै आएका छन् ।
यतिमात्रै नभएर कतिपय अवस्थामा एउटा सांसदलाई बोलाउँदा अर्को सांसदले उठेर बोलेका उदाहरण पनि रहेका छन् ।