घाँसीकुवाको पहिरो हटाउने क्रमजारी, साँझसम्म एकतर्फी यातायात सुचारु गर्ने तयारी
दमौली । पृथ्वीराजमार्गको दमौली मुग्लिङ सडक खण्ड अन्र्तगत व्यास–१२ घाँसीकुवाको पहिरो हटाउने क्रम जारी रहेको छ ।
घाँसीकुवामा बुधबार दिउँसो पौने ५ बजे ठूलो पहिरो गएको थियो । पर्याप्त साधन र जनशक्ति नहुँदा बिहीबार बिहान ९ बजेबाट मात्र पहिरो हटाउन सुरु गरिएको थियो ।
पहिरो हटाउने कार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सडक बिस्तार आयोजनाका जनशक्ति बिहानैदेखि परिचालन भएका छन् । पहिरोसँगै ठूला–ठूला रुख खसेका कारण पहिरो हटाउन निकै कठिन भइरहेको छ ।
रुख हटाउने कार्यमा नेपाली सेनाको विशेष टोली खटिएको छ । त्यस्तै, पहिरो हटाउनका लागि सडक विस्तार आयोजनाको डोजर ट्रिपर प्रयोग गरिएको छ । जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख सन्तोष पौडेलका अनुसार साँझ सम्म एकतर्फी रुपमा यातायात सुचारु गर्ने हिसाबले काम भई रहेको छ ।
डाँडाको माथिल्लो भागबाट ठूलो पहिरो खसेको हुँदा पहिरो हटाउने कार्य जोखिमपूर्ण भएकोले पहिरो हटाउने कार्यमा ढिलाई भएको ट्राफिक प्रमुख पौडेलले बताए । घाँसीकुवामा पहिरो गएसगै जिल्ला प्रहरी कार्यालय तनहुँले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी दीपक रायले एक विज्ञप्ति जारी गरी तालघारे ,रानीगाउँ ,सेराको मार्ग प्रयोग गर्न आग्रह गरिएको छ । पृथ्वीराजमार्ग अवरुद्ध यात्रुहरुलाई मुग्लिङ दमौली खण्डमा यात्रा गर्न निकै कठिन भईरहेको छ ।