कमला पुल बनाउन दबाब दिँदै अनसन बसेकाहरूकाे स्वास्थ्य जटिल बन्दै, मुख्यमन्त्रीले बेवास्ता गरेकाे गुनासाे – Nepal Press

कमला पुल बनाउन दबाब दिँदै अनसन बसेकाहरूकाे स्वास्थ्य जटिल बन्दै, मुख्यमन्त्रीले बेवास्ता गरेकाे गुनासाे

जनकपुरधाम । हुलाकी राजमार्ग अन्तर्गत धनुषा–सिरहा जिल्ला जोड्ने कमला नदीमा नयाँ पुल निर्माणको माग राख्दै मधेश भवन अगाडी आमरण अनसन बसेका अभियन्ताहरुहरुको स्वास्थ्य अवस्था बिग्रिदैँ गएको छ ।

नयाँ कमला पुल निर्माण संघर्ष समितिका संयोजक इन्जिनियर प्रविणकुमार यादवको नेतृत्वमा उनीसहित १० जना बुधवारदेखि आमरण अनसन बसेका हुन् । अनसन बसेको आज तेस्रो दिन सबै अनसनकारीको स्वास्थ्य अवस्था बिग्रेको छ ।

स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि चिकित्सक विपिन कुमार यादव अनसनकारीको उपचारमा खटेका छन् ।

‘अनसनकारीको शरिरमा ग्लुकोज र पानी अभाव भएको छ’, चिकित्सक यादवले भने, ‘उनीहरुको शरिरमा इनर्जी लेभल बढाउन आवश्यक छ । त्यो स्लाइन पानीको माध्यमले दिएका छौं ।’

इन्जिनियर यादवको नेतृत्वको टोलीले साउन २७ मा मुख्यमन्त्री सतिश कुमार सिंहलाई कमलामा नयाँ पुल निर्माण गर्नुपर्ने एकसुत्रिय माग राख्दै ७ दिने अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएका थिए ।

अल्टिमेटमको समय सकिदा पनि मुख्यमन्त्री सिंहले कमलामा नयाँ पुल निर्माण गर्ने माग सम्बोधन नगरेपछि आफूहरु आमरन अनसनमा बसेको इन्जिनियर यादवले बताए । उनले भने, ‘हामी मर्न तयार छौं । तर माग पुरा नभएसम्म आमरण अनसन तोड्दैनौं ।’

तर, मुख्यमन्त्री सिंह भने आमरण अनसनलाई ‘स्टन्ट’को संज्ञा दिएका छन् । उनले बुधवार केहि सञ्चारकर्मीलाई बोलाएर टिप्पणी गरे, ‘अभियन्ताहरुको माग सन्दर्भमा प्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्रालयलाई समेत जानकारी गराइसकेको अवस्थामा आमरण अनसन बस्नु स्टन्ट मात्रै हो ।’

मुख्यमन्त्रीले मात्र आमरण अनसनलाई वेवास्ता गरेका छैनन, अन्य मन्त्रीहरु पनि अनसनकारीको अवस्था बुझ्न पुगेका छैनन् ।

अनसनको नेतृत्व गरिरहेका इन्जिनियर यादवले माग सम्बोधन गर्न मुख्यमन्त्री र मन्त्रीहरुले चासो नदेखाएकोमा दुःख व्यक्त गरेका छन् । उनले भने, ‘हामी जनताको समस्या लिएर अनसनमा छौं । तर मुख्यमन्त्री जीलाई स्टन्ट लागिरहेको छ भने हामीलाई भन्नु केहि छैन ।’

सिरहामा बजार बन्द

आमरण अनसनकारीको माग पुरा गर्न मधेश सरकारले चासो नदेखाएको भन्दै नागरिक समाज सिरहाले सिरहा बजार बन्द गराएको छ ‌।

नागरिक समाजको अगुवाइमा यूवाहरुले आजदेखि अनिश्चितकालका लागि बजार बन्द गराएको हो । समाजले भोलीदेखि सडकजाम गर्ने तथा सरकारी कार्यालय र शैक्षिक संस्थाहरु समेत ठप्प पार्ने घोषणा गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर