‘म्यान अफ दि इयर २०२४’को अडिसन खुला
काठमाडौं । पुरूषहरूको सौन्दर्य तथा बौद्धिकता जाँच गर्ने प्रतियोगिता ‘म्यान अफ दि इयर २०२४’को अडिसन खुला भएको छ । आयोजक कम्पनी ’यू क्यान फ्लाई फेशन प्राली’ले उक्त प्रतियोगिताको अडिसन आह्वान गरेको हो ।
नेपालको सवैभन्दा ठूलो भनिएको उक्त पुरूष फेसन प्रतियोगिता पहिलो पटक हुन लागेको हो । देशव्यापी रूपमा खुला अडिसनपछि छनोट भएका अन्तिम प्रतियोगीले फाइनल स्पर्धामा भाग लिने आयोजकले जनाएको छ ।
नेपालका प्रमुख शहरहरू काठमाडौं, चितवन, पोखरा, बुटवल, मोरङको विराटचोक र विराटनगरमा आडिसन स्थान तोकिएको छ । सहभागी हुन चाहनेहरूको लागि इसेवा एपमार्फत आवेदन खुला गरिएको छ ।
यहि अगष्ट ३१ बाट अडिसन सुरू हुँदा पहिलो अडिसन काठमाडौंमा हुनेछ भने सेप्टेम्बर ५ मा चितवन, सेप्टेम्बर ७ मा पोखरा, सेप्टेम्बर ८ मा बुटवल र सेप्टेम्बर १० मा काठमाडौंमा दोस्रो अडिसन हुनेछ । यस्तै मोरङको विराटचोकमा सेप्टेम्बर १२ र विराटनगरमा सेप्टेम्बर १४ लाई अडिसन मिति तोकिएको छ ।
यो प्रतियोगीताको व्राण्ड एम्बास्डर तथा बोर्ड सदस्यको रूपमा स्टाइलिस्ट एक्टर अनुपबिक्रम शाही छन् भने एभेन्ट मेन्टर तथा कोरियोग्राफरमा अभिनेता प्रशान्त ताम्राकार छन् । मोडलिङ र फेसनको दुनियाँमा भविष्य खोजिरहेका युवाहरूलाई स्थान दिने र उनिहरूको कला तथा क्षमता प्रस्फुटन गराउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाकी प्रवन्ध निर्देशक स्वीकृति प्याकुरेलले बताइन् ।
अडिसनबाट अन्तिम छनोटमा परेकाहरूबीच यो प्रतियोगिताको फाइनल नोभेम्बर २८ मा काठमाडौंमा हुनेछ । ’म्यान अफ दि इयर २०२४’का विजेताले नगद ७ लाख रूपैयाँ पुरस्कार प्राप्त गर्नेछन् भने आगामी नोभेम्बरमा थाइल्यान्डमा आयोजना हुने ’म्यान अफ दि वर्ल्ड २०२४’को लागि नेपालको प्रतिनिधित्व गर्ने आयोजक संस्थाका संस्थापक संसद शाहले बताए । प्रतियोगिताको इभेन्ट कोर्डिनेसनमा मञ्जिल श्रेष्ठ छन् ।