संसदीय समितिमा पुष्पराज पुरुषको निवेदन, जीबी राईले ५० करोडको सम्पत्ति हडपेको दाबी – Nepal Press

संसदीय समितिमा पुष्पराज पुरुषको निवेदन, जीबी राईले ५० करोडको सम्पत्ति हडपेको दाबी

काठमाडौं । सहकारी संस्थाहरुको ठगीबारे छानबिनका लागि गठित संसदीय समितिमा आज लामो जटा फैलाउँदै एक ‘सन्त अनुहार’ को इन्ट्री भयो । उनी थिए जीबी राईका भुतपूर्व विजनेस पार्टनर पुष्पराज पुरुष (पौडेल) ।

अहिले सन्तको रुप धारण गरेका भए पनि पुष्पराजको विगतमा एक व्यवसायिक व्यक्ति थिए, जसले आफ्नो व्यवसायिक जीवनमा अनेक हण्डर खाएका छन् । सुरुमा ‘गोलक्वेस्ट’ नामक अन्तर्राष्ट्रिय नेटवर्क कम्पनीबाट ठगीमा परेपछि उनले पीडित संघर्ष समिति बनाएर लडेका थिए ।

तर, पछि हर्बोमा उनीमाथि नै ठगीको आरोप लाग्यो । यद्यपि, अदालतबाट सफाइ पाउन सफल भए । त्यसपछि उनी अध्यात्म र राजनीतिमा लागेका हुन् । हाल राष्ट्रिय प्रजातन्त्र पार्टी मातहतको सनातन धर्म संस्कृति संगठनको अध्यक्ष छन् । उनी आफ्नो थरको ठाउँमा ‘पुरुष’ लेख्ने गर्छन् ।

गितेन्द्रबाबु उर्फ जीबी राईसँग पुष्पराजको सहकार्य भएको हर्बोमा नै हो । राईको व्यवसायिक पृष्ठभूमि खोतल्न समितिले उनलाई निम्त्याएको थियो ।

पुष्पराजले समितिलाई बयान मात्र दिएनन्, आफ्नो एउटा लिखित निवेदन समेत पेश गरे । उक्त निवेदनमा राईमाथि कारबाहीको माग गरेका छन् । आफूहरुसँगको सहकार्यमा जीबी राईले ५० करोड रुपैयाँ बराबरको सम्पत्ति कब्जा गरेको तथा आफूलाई व्यक्तिगत तवरमा १० करोड रुपैयाँ दिनुपर्ने पुष्पराजको मागदाबी छ ।

पुष्पराजको व्यवसायीक यात्रा र जीवीसँगको सम्बन्ध

पुष्पराजका अनुसार गोलक्वेस्टमा धोका खाएपछि उनी आफैंले २०६१ सालमा केही व्यक्तिहरुसँग मिलेर ‘हर्बो इन्टरनेसनल प्राली’ नामक कम्पनी स्थापना गरी नेपालका जडिबुटिजन्य उत्पादन विदेशी बजारमा बेच्न थालेका थिए । यो कम्पनीमा सुरुमा गोकुल श्रेष्ठ अध्यक्ष, तेजबहादुर गुरुङ प्रबन्ध निर्देशक र पुष्पराज कार्यकारी निर्देशक थिए । अनन्तबाबु राई निर्देशक थिए भने उनका भाइ जीवी राई मार्केटिङमा जोडिए ।

सुरुमा कम्पनी राम्रै चलेको थियो । सरकारले नेटवर्क मार्केटिङलाई वैधता दिँदै निर्देशिका पनि जारी गर्यो । हर्बोको व्यापार फस्टायो । त्यही बेला ९९९ शेयरधनी मिलेर १/१ लाख उठाएर ‘हाम्रो ग्रुप अफ कम्पनी’ स्थापना भयो । यो कम्पनीले हर्बोको शेयर किन्ने निर्णय गर्यो । तर अचानक सरकारले बनाएको उक्त निर्देशिका राजेन्द्र महतो वाणिज्यमन्त्री भएको बेला खारेज गरियो । विदेशी कम्पनीको आडमा महतोले उक्त कदम चालेको पुष्पराजको दाबी छ ।

हर्बोलगायत केही कम्पनीले २५/२५ लाख धरौटी राखेर अनुमति लिएका थिए । वाणिज्य मन्त्रीले निर्देशिका खारेज गरेपछि उनीहरु अदालत गए । अदालतले अन्तरिम आदेश दियो र कम्पनी सञ्चालन सुचारु भयो ।

त्यसबेलासम्म हर्बोमा जमिसकेका जीबी राई अचानक कम्पनी छोडेर पोखरा सूर्यदर्शनमा जागिर खान गए । पछि बुझ्दा सूर्यदर्शनका सञ्चालक अमेरिकामा बस्ने ज्ञानबहादुर बम्जनका ज्वाईं रहेछन् । बम्जनले ज्वाईंलाई सहकारीको जिम्मा लगाएर पठाएका थिए ।

त्यसपछि के के भयो ? पुष्पराज पुरुषको वर्णनः

२०६८ सालमा विभिन्न चलखेल गरी हर्बो कम्पनीको पक्षमा दिएको अन्तरिम आदेश खारेज भयो र कानून बनाएर काम गर्न दिनु भन्ने निर्देशनात्मक आदेश भयो । हामीले कम्पनी बन्द गर्न बाध्य भयौं । फेरि अदालत गयौं । अदालतमा अन्तिम निर्णय हुने कुरा थाहा पाएर कान्तिपुर पत्रिकाले लगातार २०/२५ दिनदेखि झुटा न्युज लेखिरहेको थियो ।

मिडियाकै दबाबमा परेपछि नाटकीय हिसाबले सिआईबीले बन्द कार्यालयमा छापा मारेर हामीलाई पक्राउ गरी मुद्दा चलायो । चलिरहेको कम्पनी बन्द भएपछि कारोबार हिसाब-किताब लथालिङ्ग भयो । पछि हामी धरौटीमा छुटेर काम सुरु गर्न लाग्दा कम्पनीका संस्थापक अध्यक्ष गोकुल श्रेष्ठ भाग्न थाल्नु भयो । महिनौंसम्म सम्पर्क नहुने, हिसाब नगर्ने गरेपछि सबै प्रेसर मलाई पर्यो ।

म ६४ सालदेखि नै आश्रम जीवन बिताइरहेको थिएँ । आश्रममा सजिलै भेट हुने भएकोले सबैले मलाई नै दबाब दिन्थे । ममाथि लाञ्छना लगाउँदै अनेक न्यूज बनाइए । कम्पनीको व्यवस्थापन सबै गोकुल श्रेष्ठले हेरेकोले कतिपय मलाई थाहा नभएका कारोबार पनि देखिए । आर्थिक समस्याले घेरेपछि नातागोता चिनेजानेका सबैसँग ऋण माग्न थालेँ । त्यही सिलसिलामा जीबी राईसँग पुनः ठोक्किन पुगेँ ।

सुरुमा मैले उहाँको सहकारीबाट ऋण मात्र लिने मनशायले कुरा गरेँ । बिनाधितो ऋण दिँदा महङ्गो ब्याज तिर्नुपर्ने कुरा आयो । काम चलाउनका लागि ५० लाखजति कम्पनीको कामको लागि पटक-पटक गरेर व्यक्तिगत ऋण लिएँ ।

१ लाखकै महिनाको १५ हजार ब्याज पर्ने भयो भनेपछि सहकारीबाट ऋण दिनु भन्ने प्रस्ताव राखें । सबै हिसाब अमेरिकाबाट जेठान ज्ञानबहादुरले हेर्ने भएकोले मैले सजिलै ऋण दिन मिल्दैन, तर धितोको लागि शेयर दिने भए मैले कुरा राख्छु भनेपछि मैले धितोको लागि शेयर दिने निर्णय गरेँ ।

मिलेर काम गर्ने भन्ने विषयमा थप छलफल हुँदै गयो । जीबी राईसँग मिलेर कम्पनी चलाउने कुरा सुनेर पुरानो सञ्चालक गोकुल श्रेष्ठ पनि आउन थाले । आफूले केही जग्गा दिएर नमिलेको हिसाब मिलाउने प्रस्ताव गरेपछि जीबी राई, म र गोकुल श्रेष्ठको नेतृत्वमा हर्बो ग्रुपअन्तर्गत विभिन्न काम सुरु भयो । जग्गा पास खर्च निकाल्ने लगायत सबै जग्गा हेर्ने विषय गोकुल श्रेष्ठ र जीबी राईकै सल्लाहमा भयो ।

काम गर्दै जाँदा हेटौंडा वडा नं ९ को जग्गा १ करोड ४७ लाख हिसाब गरेर जग्गा खाइदिएपछि सँगै काम गर्न नसकिने बुझेर मैले संगत ग्रुप प्रालि दर्ता गरेँ । त्यसका लागि म सबै कम्पनीबाट अलग भइ जीबी र गोकुलले चलाउने सम्झौता भयो । २०७३/०४/२५ गते जीबी राई र मेरो बीचमा सबै कम्पनीका सम्पत्ति र व्यवस्थापन गर्ने सम्झौता भएको थियो ।

सोही सम्झौता अनुसार २०७३ साल मंसिर १६/१७ गते भएको साधारण सभामा नयाँ सञ्चालक गितेन्द्र बाबु राईको नेतृत्वमा साविक हाम्रो ग्रुप अफ कम्पनी लिमिटेड (हाल गोर्खा ग्रुप अफ कम्पनी) लगायत अन्य कम्पनीहरुको समग्र नेतृत्व साधारण सभाबाटै छानिएको हो । गोरखा ग्रुप अफ कम्पनी लिमिटेड पनि फाइदामा गएर शेयर बोनस पनि बाँडिएको थियो । नपुग रकमको लागि गोकुल श्रेष्ठको नेतृत्वमा जग्गा लिएको र उक्त जग्गा ल्याउन पास रकम गितेन्द्रबाबु राईले पैसा दिएका हुन् ।

उक्त समयसम्म आउँदा सबै कम्पनीको हित र संरक्षणको लागि गोकुल श्रेष्ठ र जिवी राईसँग मेरो विभिन्न सम्झौता भएका थिए । सोही अनुसार कम्पनीहरु मैले हस्तान्तरण गरेको थिएँ । तर, सम्झौता अनुसार काम भएन । ८/९ सय शेयरधनी भएको लिमिटेड कम्पनी पनि व्यक्तिगत प्रालि जस्तोगरी चल्न सुरु भयो । मैले सम्पर्क गर्न खोज्दा कोही पनि सञ्चालक सदस्य सम्पर्कमा आउन छोडे ।

अचानक २०७४ सालमा धारण सभा गरिने कुरा सुनेँ । तर मलाई आधिकारिक निम्ता आएन । साधारणसभामा झुटा आरोपहरु लगाएर गितेन्द्रबाबु राई लगायतले बोलेको भिडियो देखियो । अनेक झुटा कुरामा मलगायत केही सञ्चालकलाई मात्र दोष दिने र आफ्ना समर्थक जोगाएर पुलिस केस गरेको पाइयो ।

समाधानको लागि साधारण सभामा छलफल गर्ने सेयरधनीलाई सत्यतथ्य जान्न मौका दिने गरिएको थिएन । जग्गा ल्याउन पैसा दिने गितेन्द्र बाबु राई र जग्गा ल्याउने गोकुल श्रेष्ठ एकै कम्पनीमा सञ्चालक समितिमा थिए । उनीहरुको बीचमा के-के भयो भन्ने जानकारी नगराइकन एकैपटक पुलिस लगाएर मलाई समाउने काम जीबी राईबाट भयो । सबै ममाथि थोपरेर उम्किन खोजे ।

कम्पनीमा मनपरी भइरहँदा २०७७ सालको साधरण सभामा जबरजस्ती म उपस्थित भएँ । किन सबै बिगारेको भनेर जीबीलाई सोधेपछि ९-१० दिनमा समाधान दिने सहमति भयो । सोहीअनुसार सभामा जानकारी भयो । तर त्यसपछि जीबीले फोन नलाग्ने बनाएको र हालसम्म पनि सम्पर्कमा आएर समाधान दिन नचाहेकोले मैले नेतृत्व छोडेपछिका सबै कारोबार चेक गरी नियम अनुसार गरी पाउँ ।

पुष्पराजले राखेका मागहरुः

–सबै कम्पनीहरुको हरहिसाब गर्न र हिसाबपछि ऋण धन व्यवस्थित गर्न जीबी राई र मेरो नाममा संगत ग्रुप प्रालि दर्ता भएर सम्झौता भएको थियो । तर, सम्झौता भएको मितिदेखि नै सम्झौता उलङ्गन गरेकोले सोही बमोजिम उल्लेखित रकम हिसाब गरी उपलब्ध गराइ पाउँ ।

–कामद सहकारीको पनि सञ्चालकहरुको शेयर आफूखुसी जिरो बनाएको, हाम्रो खाताको पैसा पनि आफूखुसी चलाएको, कतिपय बचतकर्तालाई मर्ज गरेपछि पनि पासबुक नबनाएको, शेयरधनी र बचतकर्ताको पनि छुट्याएर २/३ करोडको कारोबार नमिलाएको तर उनीहरुको स्वर्ण लक्ष्मी र प्रणोदयिनीको कानूनी समस्याहरु लुकाउन कामदको विधान प्रयोग गर्न एकतर्फी मर्ज गरेर हिसाब नदिएकोले सोही अनुसार कारबाही गरी सबैको वचत र सेयरको पैसा दिलाइपाउँ ।

–हर्बोको शेयर बिनापैसा गितेन्द्र बाबुराईको नाममा राखेको र हिसाब गरेपछि संगत ग्रुप प्रालिमा लैजाने निर्णय भएकोमा उक्त निर्णय लागू नगरी ठगी गरेकोले कारबाही गरी क्षतिपुर्तिसहित भराई पाउँ ।

–गोर्खा ग्रुप र हर्बोको नाममा जग्गा पास भनेर लालपुर्जा ल्याएर दिने र जग्गा किन्ने कार्यलगायत कम्पनीको कारोबार सबै गोकुल श्रेष्ठले गर्ने गरेको र जग्गा किन्न भनेर हर्बोको ४/५ करोड पैसा पनि लगेको तर अहिले आएर कम्पनीको नाममा जग्गा पनि नभएको भन्ने अपुष्ट कुरा सुन्नमा आएको छ । गितेन्द्र बाबु राई र गोकुल श्रेष्ठ दुबै जनाले कागजपत्र पनि नदिने, जानकारी पनि नदिने हरहिसाव पनि नगर्ने गरेकोले छानबिन गरी दोषीलाई कारबाही गरिपाउँ ।

–गितेन्द्रबाबु राई आएर सबै कम्पनी सम्पत्ति र सहकारी कब्जा गरेर पनि पछि अडिटमा हिसाब नदेखाएको तथा खिमानन्द कँडेल र मेरो नामबाट ऋण पनि नहटाएको भन्ने सुनिएकोले के कसो भएको हो छानबिन गरी हिसाब हेरेर कम्पनी जिम्मा लिनेलाई ऋण पनि जिम्मा लगाएर ऋणबाट हाम्रो नाम हटाई पाउँ ।

–जीबी राईले आफुखुसी कम्पनी चलाउन सेयरधनीबाट अवरोध भएपछि कानुनी झन्झटबाट बच्न आफ्ना कर्मचारीको नाममा शेयर पटक-पटक किनबेच र नामसारी गरेको तगा रिमोटबाट कम्पनी नियन्त्रण गरेको भन्ने पनि सुन्नमा आएकोले कारबाही गरिपाउँ ।

–पुराना सञ्चालकले सबै कम्पनीको घाटा पनि तिर्न तयार भएर कागज गरिएको थियो तर नयाँ सञ्चालकले विकल्प नखोजी पुलिस लगाएकोले कम्पनीको सबै लगानी जोखिममा हालेको र मौका छोपेर जिबी राईको टिमले सेयरधनीलाई गलत सूचना दिँदै १ लाखको शेयर ६०/७० हजारसम्ममा किन्ने गरेको देखिएकोले कारबाही गरिपाउँ ।

–नयाँ बानेश्वरमा भएको ७/८ सय हामी शेयरधनीको ८४ परिकार रेष्टुरेन्ट र कपास टेलरिङ नाटकीय चलखेल गरेर त्यो स्थानमा जीबी राईले आफ्नो निजी रेस्टुरेण्ट चलाएर हाल आएर बेचेको खबर छ, त्यसैले छानबिन गरी कारबाही गरी पाउँ ।

–तिनकुनेमा रहेको ९ आनामा बनेको २ वटा घर, काभ्रे र महवानपुर ठिङ्गनका लगभग २०० रोपनी जग्गा, संगत आश्रमको नाममा भएको गोदावरीको ६ रोपनी चानचुन जग्गा, बाँडीगाउँको १४ रोपनी जग्गा, बडिखेलको २० रोपनी जग्गा र भक्तपुरको ५ रोपनी चानचुन जग्गा लगायत अन्य सहयोगी सदस्यहरुको लगानी सम्पत्ति सबै विभिन्न नाममा नामसारी गरिदिएको, तर सम्झौताअनुसार कम्पनी र सम्पत्तिहरु लिएर पछि गोकुल श्रेष्ठ र जीबी राईको मिलेमतोमा हिसाब नगरेको र कम्पनी र सम्पत्ति लिएर भागेकोले कानूनअनुसार लगभग ५० करोड जतिको हरहिसाबमा ठूलो टीमलाई ठगी गरेकोले कारबाही गरिपाउँ ।

–गोकुल श्रेष्ठलाई भेटेर सोध्दा कम्पनिलाई दिएका जग्गा मैले ल्याएको हो, जग्गा ल्याएर कम्पनीको नाममा अभिलेख गरेपछि सबैलाई भेट्छु भन्दै भागेर हिँड्ने गरेको र फोन पनि बन्द गरेर सम्पर्कमा पनि नबस्ने गरेकोले कारबाही होस् ।

–हर्बोको २ लाख ५० हजार मान्छे भएको संगठनको सफ्टवयर नेचर हब्र्स भन्ने नीजि कम्पनिमा लगेर जीबी राईले प्रयोग गरेको र हरेक व्यक्तिबाट हर्बोको अपडेट भनेर गैरकानूनी रुपमा २५/३० हजार सामान पनि नदिइ २५/३० करोड पैसा उठाएको र उक्त कुरा समाचारमा आएपछि रातारात कर्मचारीको नाममा सेयर नामसारी गरेर सबै कम्पनीबाट सेयरधनीलाई सुचना नदिई भागेकोले कानुन अनुसार कारवाही गरीपाउँ ।

–समग्रमा जीबी राईको समुहले सहकारीको पैसा ऋण दिने, ऋण दिए बापत शेयर फोकटमा लिने, बिस्तारै सबै ऋणीहरुलाई धोका दिने र सम्पत्ति र कम्पनी सबै कब्जा गर्ने र ऋणीहरुलाई कुनै न कुनै कानूनी परिबन्द पारेर फसाउने गरेर मलगायत धेरैको कम्पनी र सम्पत्ति खाएकोले पिडितलाई न्याय हुने गरी कारबाही गरी पाउँ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर