शैक्षिक अभियन्ता अभिषेक घिमिरेले पाए ‘द बेस्ट एजुकेशन एक्टिभिस्ट’ अवार्ड
काठमाडौं । शैक्षिक अभियन्ता एवम् उत्प्रेरक वक्ता अभिषेक घिमिरेलले ‘द बेस्ट एजुकेशन एक्टिभिस्ट’को अवार्ड प्राप्त गरेका छन् । बुधबार साँझ ताहाचलस्थित ह्यायत प्यालेसमा भएको समारोहमा घिमिरेलाई उक्त अवार्ड प्रदान गरिएको हो ।
उनलाई समारोहका प्रमुख अतिथि कृषिमन्त्री रामनाथ अधिकारीले अवार्ड प्रदान गरेका हुन् ।
ग्यालेक्सी एक्सलेन्स अवार्ड सिजन ३ अन्तर्गत घिमिरे सम्मानित भएका हुन् । करिब डेढ दशकदेखि शिक्षा रुपान्तरणको क्षेत्रमा योगदान दिइरहेका घिमिरे राष्ट्रिय वृहत शिक्षा अभियानका संयोजक हुन् । त्यस्तै, शिक्षकहरु तथा अभिभावकको क्षमता र सीप विकासका लागि तालिमको डिजाइन गर्नेदेखि तालिम दिने उनी पूर्वसञ्चारकर्मी समेत हुन् ।
घिमिरले आफ्नो नेतृत्वमा विराटनगर महानगरपालिका अन्तर्गतका बन्द हुने अवस्थामा पुगेका तीन जीर्ण अवस्थाका विद्यालयको सुधारका लागि भूमिका निर्वाह गरेका थिए ।
गतवर्ष सर्लाही जिल्लाको बागमती नगरपालिकाभरिका सामुदायिक विद्यालयको उल्लेख्य सुधारमा प्रत्यक्ष नेतृत्व गरेका घिमिरे हाल सातै प्रदेशका ७ स्थानीय तहका सामुदायिक विद्यालय रुपान्तरण अभियानको नेतृत्व गरिरहेका छन् ।
३ वर्षमा ३० लाख अभिभावकलाई सचेतना कार्यक्रममा जोड्ने अभियानमा क्रियाशील घिमिरे शिक्षा रुपान्तरणका लागि सर्वपक्षीय क्षेत्रमा चेतना आउन जरुरी रहेको बताउँछन् ।
सार्वजनिक शिक्षा सबलीकरणका मुद्दामा स्थानीयदेखि राष्ट्रियस्तरका नियामक निकायलाई खबरदारी गरिरहेका उनले शिक्षाको नीतिगत संरचनामा पनि हस्तक्षेप गर्नुपर्ने आवश्यकता औंल्याउँछन् ।
सम्मान पाउँदा कस्तो लाग्या भन्ने जिज्ञासामा उनी आजकल आफूले पाउने सम्मानले खुशीभन्दा बढी डर लाग्ने गरेको बताउँछन् । यद्यपी यसरी आफ्नो कर्मको सम्मान गरेको अनुभूति हुँदा भने अविचलित भएर निरन्तर लक्ष्यमा अघि बढ्न हौसला मिल्ने घिमिरेले उल्लेख गरे ।
‘मलाई आजकल अवार्ड पाउँदा खुशीभन्दा बढी डर लाग्छ । आयोजकले कामको मूल्यांकन गरेर सम्मान गर्नुभएको होला, तर कहिलेकाहीँ त्यो विश्वास कायम गर्न नसकिएला कि भन्ने लाग्छ । अझ जिम्मेवार भएर लाग्न, अविचलित भएर निरन्तर लक्ष्यमा अघि बढ्न चाहिं हौसला मिलेको छ’, उनले भने ।