खेलप्रेमीकाे देशमा खेल पूर्वाधार दयनीयः फुटबल–क्रिकेटलाई रंगशालाको दु:ख, भलिबललाई कभर्डहलको – Nepal Press

खेलप्रेमीकाे देशमा खेल पूर्वाधार दयनीयः फुटबल–क्रिकेटलाई रंगशालाको दु:ख, भलिबललाई कभर्डहलको

काठमाडौं । भनिरहनु नपर्ला, नेपाल खेलप्रेमीहरूकाे देश हाे । खासगरि फुटबल र क्रिकेटकाे क्रेज त नेपालीहरूमा अतुलनीय नै छ । तर, देशमा खेल पूर्वाधारकाे अवस्था सम्झिने हाे भने दिक्दार लाग्छ ।

सन् २०१२ मा आयोजना भएको एएफसी च्यालेन्ज कप होस् या त्यसको एक वर्षपछि आयोजित साफ च्याम्पियनशिप, दशरथ रंगशालाको गेटसम्म पुगेका हजारौं दर्शक टिकट नपाएर फर्किए ।

खेल सुरु हुँदासम्म पनि छिर्न पाइने आशमा उनीहरु रंगशाला बाहिर बसिरहेका देखिन्थे । दर्शकको यो दृश्य मिडियामा आउँथ्यो । सरकारले भोलिपल्टै रंगशाला तयार हुने जसरी बोलेर छारो हाल्थ्यो । पर्सिपल्टै उनीहरु बिर्सन्थे ।

‘मैले ६ महिनासम्म दशरथ रंगशालामा कुनै कार्यक्रम हुन नदिएर एएफसी च्यालेन्ज कपका लागि तयार गरेको थिएँ । प्रतियोगिता भव्य रुपमा पनि आयोजना भयो । रंगशालाको माग बढेपछि हामीले विभिन्न ठाउँमा जग्गा पनि हेर्‍यौं । शिवपुरी छेउ नारायणथान, बालुवाखानी, कृषि अनुसन्धान केन्द्र, बलम्बुलगायत ठाउँमा गएर तत्कालीन एन्फा अध्यक्ष गणेश थापा, म र मन्त्रालयका सचिव गएका थियौं’, राखेपको ४ वर्ष नेतृत्व सम्हालेका युवराज लामा भन्छन्, ‘तर सबैले हुन्छ हुन्छ भन्ने मात्र, काम भने कसैले ठोस रुपमा निर्णय लिएर अगाडि बढ्न सकेन । विभिन्न निकायको नाममा रहेको सरकारी जग्गा आफ्नो नाममा ल्याउने काम झन्झटिलो हुने रहेछ ।’

उल्लेखनीय के छ भने सन् २०१२ मा एसियास्तरको दोस्रो श्रेणीको अन्तर्राष्ट्रिय फुटबल च्यालेन्ज कप नेपालले आयोजना गर्दा विश्व फुटबल महासंघ (फिफा) अध्यक्ष सेप ब्लाटर पनि यहाँ आएका थिए । त्यसयता दशरथ रंगशालामा भएका मैत्रीपूर्ण खेलमा समेत दर्शकहरु ‘हाउस फुल’ नआएका होइनन्, तर दोस्रो स्तरीय अन्तर्राष्ट्रिय रंगशाला कहिल्यै प्राथमिकतामा परेन । भएकै रंगशालाको अवस्था पनि बारम्बार दयनीय देखियो ।

कतिसम्म भने गत साता एएफसी च्यालेन्ज लिगको छनोट खेल्न नेपाल आएको भुटानको पारोलाई भद्रकालीस्थित आर्मीको मैदान तयारी गर्न दिइएको थियो । मैदानको अवस्था देखेर पारोका जापानी स्ट्राइकर केइसुके होन्डा मानेनन् । त्यसपछि तत्कालै उनीहरुलाई प्रशिक्षणका लागि प्रतियोगिताको खेल हुने दशरथ रंगशाला दिइयो । रंगशाला पुगेर होन्डाले भिडियो बनाए र भनें- ‘मेरो करियरकै खराब मैदान ।’

खेल हुने दिन पानी परेको थियो । खेल भइरहँदा दशरथ रंगशाला हिलाम्ये बन्यो । खेलाडीहरु रोपाइँ गरिरहेका ‘खेताला’ जस्ता देखिए । मैदानको अवस्थालाई फोटो भिडियोमार्फत ट्रोल बनाइयो । मैदान तयारीको जिम्मा लिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङ बल्लबल्ल अन्तर्राष्ट्रिय स्वीकृति पाएको रंगशालाको मैदानमा खेल हुने दिन पानी पर्नु दुर्भाग्यपूर्ण भएको बताउँछन् ।

‘रंगशाला बाहिरबाट राम्रै देखिएको थियो, तर पानी परेपछि अवस्था अर्कै बन्यो । हामीसँग रंगशालालाई माथिबाट ढाक्ने पूर्वाधार पनि त छैन’, सदस्यसचिव घिसिङले प्रतिरक्षा गरे ।

रंगशालाको मैदानको अवस्थालाई लिएर फुटबलको अन्तर्राष्ट्रिय निकायले खेल आयोजना गर्न अनुमति नदिएपछि राखेप आफैंले मैदान तयारीको जिम्मा लिएको थियो ।

फुटबलको राष्ट्रिय नियमनकारी निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीहरु भने राखेपले खटाएका प्राविधिकले मैदान राम्रोसँग तयारी नगरेको आरोप लगाउँछन् । प्रवक्ता सुरेश शाहले एन्फासँग प्राविधिक सल्लाह मागिए पनि मैदान जसरी तयार हुनुपर्ने हो, त्यसमा कमजोरी भएको बताए । यो खेललगत्तै दशरथ रंगशालामा साफ यू-२० च्याम्पियनशिपका खेलहरु हुनुपर्ने थियो, तर अहिले यो प्रतियोगिताका कम्तीमा समूहगत चरणका खेलहरु त्यहाँ नहुने पक्का भइसकेको छ ।

एन्फाले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा यी खेलहरु खेलाउँदैछ । एस्ट्रो टर्फ बिछ्याइएको एन्फा कम्प्लेक्समा उमेर समूहका अन्तर्राष्ट्रिय खेलहरु आयोजना हुने गर्छन् । खासमा यसलाई एकेडेमीको प्रयोगका लागि एन्फाले अन्तर्राष्ट्रिय संघको सहयोगमा तयार गरेको हो ।

सरकारले जग्गा उपलब्ध गराएपछि एन्फाले त्यहाँ कार्यालय, एकेडेमी र मैदान तीन वटै तयार गरेको छ । एन्फा कम्प्लेक्समा करिब २ हजार ५०० दर्शक अट्छन् । यता च्यासलमा एन्फाले महानगरपालिकासँग २५ वर्षका लागि लिजमा लिएर तयार गरेको च्यासल मैदान अभ्यासका लागि प्रयोग हुने गर्छ, तर वर्षाको समयमा यो रंगशाला पानीले डुब्छ ।

दशरथ रंगशाला ‘मल्टिपर्पोज’का लागि प्रयोग हुन्छ । यहाँ विभिन्न खेलका नियमित प्रशिक्षणदेखि प्रतियोगिताहरु पनि आयोजना हुन्छन् । राखेपले गैरखेलकुद कार्यक्रम गर्न पनि यसलाई भाडामा लगाउँछ । संघहरुले यसलाई कुनै प्रतियोगिताका लागि प्रयोग गर्न राखेपको अनुमति लिनुपर्छ । एन्फाको आफ्नै मैदान भएको च्यासल र एन्फा कम्प्लेक्स हो, जुन उसले आफ्नो सुविधा र आवश्यकताअनुसार प्रयोग गर्नसक्छ, तर यसमा सिनियर अन्तर्राष्ट्रिय खेलहरु आयोजना गर्न सम्भव छैन ।

एन्फा प्रवक्ता शाह आफ्नै सुविधा सम्पन्न अन्तर्राष्ट्रिय रंगशालाका लागि जग्गा खोज्ने क्रम अझै पनि जारी रहेको बताउँछन् । ‘हामीले आफैंले जग्गा किन्न सम्भव हुँदैन । काठमाडौं उपत्यकाभित्र सरकारले जग्गा उपलब्ध गरायो भने हामीले रंगशाला बनाउँछौं भन्दै आएका छौं’, उनले भने ।

उनले गोदावरी र मूलपानीमा स्थानीय निकायको स्वामित्वमा रहेका जग्गा हेर्ने काम भएको बताए । ‘हामीलाई एउटा प्राक्टिस ग्राउन्डसहितको रंगशाला चाहिन्छ र कम्तीमा पनि २० देखि ३५ वर्षको लिज अवधि हुनुपर्छ । कम्तीमा पनि ३० देखि ३५ हजार दर्शक क्षमताको रंगशाला बनाउने हाम्रो सोच हो । बाटोको सहज पहुँचलगायतका विषयलाई पनि हामीले हेर्नुपर्छ’, उनी भन्छन् ।

उनी यो मापदण्डको रंगशाला तयार गर्न २ अर्ब रुपैयाँ लाग्ने र त्यसको स्रोत एन्फाले जुटाउन सक्ने दाबी गर्छन् ।

क्रिकेटलाई पनि रंगशालाकै दुख

फुटबलपछि नेपालमा लाेकप्रिय खेल क्रिकेटले पनि रंगशालाकाे दुख झेल्दै आएकाे छ । नेपालले एक दिवसीय मान्यता पाइसक्दा, दुईपटक  विश्वकप खेलिसक्दा पनि सरकारले एउटै  अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण गर्न सकेको छैन ।

गत वर्षसम्म त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको त्रिवि क्रिकेट मैदान अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न एकमात्र विकल्प थियो । तर त्यहाँ दर्शकलाई कुनै सुविधा छैन । अर्काे मैदान भनेकाे मूलपानी हाे ।

सरकारले जग्गा उपलब्ध गराएपछि नेपाल क्रिकेट संघले मूलपानीमा तयार गरेको क्रिकेट मैदान पनि अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न योग्य बनेको छ । लामो समयसम्म मुआब्जा विवादका कारण क्यानले त्यहाँ रंगशाला बनाउन सकेको थिएन ।

विवाद समाधान भएसँगै क्यानले विदेशी फन्डको प्रयोग गरेर रंगशाला तयार गरेको थियो । लिजमा लिइएको त्रिवि क्रिकेट मैदानलाई पनि स्तरोन्नति गर्ने काम भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यभार सम्हालेलगत्तै त्रिवि क्रिकेट मैदानमा ३०० दिनभित्र फ्लड लाइट जडानको काम सक्ने घोषणा गरेका छन् । विश्वविद्यालयको स्वामित्वको यो रंगशालामा सरकारले नै चासो दिएकाले यो क्रिकेटको बलियो पूर्वाधार बन्ने आशा बढेकाे छ ।

भलिबलकाे छैन आफ्नै कभर्डहल

पछिल्लो समय लोकप्रिय बन्दै गएको र राष्ट्रिय खेलको मान्यता पाएको भलिबलको पनि आफ्नै पूर्वाधार छैन । कार्यालय बस्ने ठाउँसमेत नपाएको गुनासो भलिबल संघका पदाधिकारी गर्छन् ।

विभिन्न खेलका प्रतियोगिता आयोजना हुँदै आएको त्रिपुरेश्वस्थित राखेप कभर्डहलका लागि भलिबल संघले कुर्नुपर्ने अवस्था छ । नेपाल भलिबल संघका सचिव रोशन श्रेष्ठ सरकारले जग्गा उपलब्ध गराए आफूहरुले पूर्वाधार तयार गर्ने बताउँछन् ।

‘हामीले आफ्नै कार्यालय पनि रंगशालाको चेन्जिङ रुमजत्रो ठाउँमा राखेका छौं । सरकारलाई बारम्बार जग्गा दिनुस्, हामी कभर्डहल बनाउँछौं भनेका छौं, तर ठोस पहल हुन सकेको छैन’, उनले भने ।

गत वर्ष भलिबल संघले कागेश्वरी मनहरामा झन्डै ६५ रोपनी जग्गा पाएको थियो, तर त्यो ठाउँ टाढा र उपयुक्त नभएको भन्दै संघले अर्को ठाउँ खोजिरहेको छ ।

‘हामी त्रिभुवन विश्वविद्यालयमा बनाउने भनिएको मल्टिपर्पोज कभर्डहलको ठाउँ हामीलाई दिनुस्, हामी बनाउँछौं भनिरहेका छौं । पहल पनि भएको हो, तर स्थिति अलपत्र छ’, उनी भन्छन् ।

भलिबलका प्रशिक्षक जगदीश भट्ट राष्ट्रिय टोलीले तयारी गर्ने ठाउँ आफ्नो सुविधाअनुसार प्राप्त नगर्दा समस्या भएको बताउँछन् । भन्छन्, ‘आफ्नै कभर्डहल भए राष्ट्रिय टोलीले आफ्नो आवश्यक र सुविधाअनुसार त्यसलाई प्रयोग गर्ने थियो । अहिले हामी पालो कुरेर तयारी गर्नुपर्ने अवस्था छ ।

‘संघका महासचिव श्रेष्ठ भलिबलको लोकप्रियताका आधारमा ५ हजार दर्शक क्षमताको कभर्डहल आवश्यक भएको बताउँछन् । उनले भने, ‘भर्खरै काभा भलिबलमा पनि देख्नुभयो, कति दर्शक बस्ने ठाउँ नभएर फर्कनुभयो ।’

राखेपका पूर्वसदस्यसचिव लामा पूर्वाधारका लागि जग्गा उपलब्ध गराउन सरकारले नै ठोस पहल गर्नुपर्ने बताउँछन् ।

‘मन्त्रिपरिषद्ले नै निर्णय गर्नुपर्ने विषयहरु पनि छन् । त्यसले सरकारले नै दृढ इच्छाशक्ति देखाएर काम गर्नुपर्छ’, उनी भन्छन्, ‘तर हाम्रोमा हुन्छ भन्ने मात्र काम भयो ।’

नेपालमा अहिले केही संघको आफ्नो बेग्लै पूर्वाधार छ । तेक्वान्दो संघ र कराँते महासंघले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा छुट्टाछुट्टै पूर्वाधार पाएका छन् । राखेपले उनीहरुलाई कराँते एकेडेमी र तेक्वान्दो एकेडेमीका रुपमा छुट्टाछुट्टै पूर्वाधार तयार गरिदिएको छ । नेपाल लन टेनिस संघको पनि आफ्नै पूर्वाधार छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर