लुम्बिनीको मुख्य न्यायाधिवक्तामा यमलाल खनाल, मुख्यमन्त्रीको प्रेस संयोजकमा दशरथ घिमिरे
रुपन्देही । लुम्बिनी प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा यमलाल खनाल नियुक्त भएका छन् ।
मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले खनाललाई संविधानको धारा १६० को उपधारा २ अनुसार बिहीबार मुख्य न्यायाधिवक्ता पदमा नियुक्त गरेका हुन् ।
खनाल रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर–९ निवासी हुन् । उनी लामो समयदेखि कानून व्यवसायका क्षेत्रमा काम गर्दै आइरहेका छन् ।
मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले मुख्य न्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । मुख्य न्यायाधिवक्ता प्रदेश सरकारको कानूनी सल्लाहकार हो ।
यसैगरी मुख्यमन्त्री चेतनारायण आचार्यले आफ्नो प्रमुख स्वकीय सचिवमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१० का कुशल भुसाल र दाङ लमहीका दशरथ घिमिरेलाई प्रेस संयोजकमा नियुक्त गरेका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई नियुक्त गरेको हो । भुसाल नेपाल रेडक्रस सोसाइटी अर्घाखाँचीका सभापति, अर्घाभगवती यातायात प्रालिका महासचिव र एमाले वडासचिव हुन् ।
प्रेस संयोजकमा नियुक्त घिमिरे दाङमा डेढ दशकदेखि पत्रकारितामा सक्रिय छन् । शिक्षामा स्नातक उत्तीर्ण उनी नेपाल टेलिभिजन र दाङबाट प्रकाशित युगबोधु दैनिकमा कार्यरत छन् ।
घिमिरे एमाले निकट प्रेस चौतारी लुम्बिनी प्रदेश उपाध्यक्ष एवं पत्रकार महासंघ दाङ शाखाका सहसचिव पनि हुन् ।