गुल्मीको रूरूक्षेत्र बन्यो उत्कृष्ट गाउँपालिका, अध्यक्ष यदु ज्ञवालीलाई सरकारको सम्मान
गुल्मी । गुल्मी जिल्लाको रूरूक्षेत्र गाउँपालिकालाई सरकारले सम्मान गरेको छ । पालिकाले गरेको विकास निर्माणको कामलाई उच्च मूल्यांकन गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका अध्यक्ष यदु ज्ञवालीलाई सम्मान गरेको हो ।
स्थानीय सरकार संस्थागत क्षमता मूल्याङ्कन (लिसा)ले सार्वजनिक गरेको नतिजाको आधारमा मन्त्रालयले रूरूक्षेत्र गाउँपालिकासहित थप तीन वटा गाउँपालिका र तीन वटा नगरपालिकालाई समेत सम्मान गरेको छ । सरकारले विकास निर्माणमा गरेको उल्लेख्य कामको आधारमा स्थानीय सरकारलाई प्रोत्साहन स्वरूप सम्मान गरेको हो ।
नतिजाको आधारमा गाउँपालिका मध्ये धादिङ्गको बेनीघाट रोराङ्ग गाउँपालिका प्रथम, गुल्मीको रूरूक्षेत्र गाउँपालिका र सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका द्वितीय भएका छन् ।
त्यसै गरी नगरपालिकामा धादिङको नीलकण्ठ नगरपालिका प्रथम, रुपन्देहीको तिलोत्तमा नगरपालिका द्वितीय र चितवनको रत्ननगर नगरपालिका तृतीय भएको छ ।
मूल्याङ्कनको आधारमा बेनिघाट रोराङ गाउँपालिकाले ७८.२५ अंक, रूरूक्षेत्र गाउँपालिका र इन्द्रावती गाउँपालिकाले ८७ अंक प्राप्त गरेका छन् । त्यसै गरी नीलकण्ठ नगरपालिकाले ९२.५ अंक, तिलोत्तमा नगरपालिकाले ९२ अंक र रत्ननगर नगरपालिकाले ९१.५० अंक प्राप्त गरेका छन् ।
सरकारले गरेको यस्तो सम्मानले अझ राम्रो काम गर्ने ऊर्जा थपिएको र अझै नयाँ र उत्कृष्ट काम गर्न हौसला मिलेको पुरस्कृत रूरू गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले बताए ।