‘सक्किगोनी’ बाट ‘काकु’ बाहिरिएका हुन् ? जिग्री-पाँडे यसो भन्छन् – Nepal Press

‘सक्किगोनी’ बाट ‘काकु’ बाहिरिएका हुन् ? जिग्री-पाँडे यसो भन्छन्

काठमाडौं । हाँस्य टेलिश्रृंखला ‘सक्किगोनी’ का पछिल्ला एपिसोडहरूमा रक्षा श्रेष्ठको काकुको भूमिका रहेका दीपक आचार्य देखिएका छैनन् । उनी सक्किगोनी टीमबाटै अलग भएको हल्लासमेत चल्न थालेको छ ।

आचार्य ‘सक्किगोनी’ का कलाकार मात्र नभएर शृङ्खला निर्देशक समेत हुन् । हिजो प्रसारित ६६ औँ एपिसोडसम्म पनि कलाकार, क्रियटिभ टिम र शृङ्खला निर्देशक गरी तीन ठाउँमा उनको नाम छ । यद्यपि, उनी केही समयदेखि सक्किगोनीको सुटिङमा गएका छैनन् ।

सक्किगोनी टीमले नै अहिले ‘लाजशरणम’ नाम चलचित्र निर्माण पनि गरिरहेको छ । यो चलचित्रको तयारी र स्क्रिप्ट राइटिङमा आचार्य सुरुदेखि संलग्न थिए । तर, उनले यो चलचित्रमा पनि अभिनय नगर्ने बुझिएको छ । के साँच्चै सक्किगोनी टीमबाटसँग आचार्यको खटपट परेको हो ?

यस विषयमा सो टेलिश्रृंखलाका निर्देशकद्वय अर्जुन घिमिरे पाँडे र कुमार कट्टेल जिग्रीसँग जिज्ञासा राख्दा दुवैले इन्कार गरे ।

घिमिरेले आचार्य केही समय विदेशमा रहेकाले सक्किगोनीमा नदेखिएको बताए ।

उनले भने, ‘छोडेको भन्ने मलाई जानकारी छैन । उहाँ विदेश (कम्बोडिया) जानुभएको थियो । केही दिनअगाडि फर्किनुभएको सुनेको छु । भेट चाहिँ भएको छैन । हामी अहिले सुटिङका लागि काभ्रेमा छौँ ।’

सक्किगोनीको डिपोजिट एपिसोडका लागि अहिले सुटिङ भइरहेको छ । लाजशरणमको सुटिङ सुरु भएपछि यसमा लाग्न नभ्याइने भएकाले केही एपिसोडहरू खिचेर राख्न लागिएको घिमिरेले बताए । यी एपिसोडहरूमा पनि काकुको भूमिका हुने छैन ।

अर्का निर्देशक कट्टेलले पनि काकु सक्किगोनीबाट अलग नभएको दाबी गरे ।

उनले भने, ‘केही एपिसोडमा म पनि छैन । लाजशरणमको काममा व्यस्त भएकाले त्यसमा अभिनय गर्न नपाएको हो । उहाँको पनि केही एपिसोडमा रोल नभएकाले नदेखिनुभएको हो ।’

लाज शरणमका निर्देशक समेत रहेका जिग्रीले चलचित्रमा कथाको माग अनुसार कलाकारहरू छनोट भएको र ‘सक्किगोनी’ का सबैजना नपर्न सक्ने बताए ।

उनले भने, ‘सक्किगोनीमा भएका सबै कलाकारले लाजशरणमा खेल्नुहुन्न । कथामा को फिट हुनुहुन्छ उहाँहरुलाई लिने हो । उहाँ त्यसमा पर्नुभएको छैन ।’

त्यसो त आचार्य आफैँले पनि चलचित्र निर्माण र निर्देशनको तयारी गरेका छन् । लाजशरणम भन्दा पहिले नै उनले ‘परान’ नाम चलचित्र बनाउने बताएका थिए । तर, पछि लाजशरणमको तयारीमा उनी सक्किगोनी टीमसँग जुटे । सो चलचित्रको घोषणा समारोहमा आचार्य देखिएका थिए ।
सक्किगोनीमा काम गर्ने कसैलाई पनि बाहिर आआफ्नो काम गर्न स्वतन्त्रता दिइँदै आएको जिग्री बताउँछन् ।

उनले भने ,‘हामी कसैलाई पनि रोकटोक गरेका छैनौँ । बले र कक्रोचले पहिल्यैदेखि म्युजिक भिडिओ खेलिरहेका छन् । काकुले पनि म्युजिक भिडिओ डाइरेक्सन गरिरहनु भएको छ । उहाँले फिल्म बनाउने कुरा पहिल्यैदेखि थियो । सायद त्यसमै लाग्नुभएको पनि हुन सक्छ ।’

यो विषयमा बुझ्न काकुसँग बारम्बार सम्पर्क प्रयास गर्दा उनले फोन उठाएनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *