महिला पत्रकारले ‘वास्तविक जीवनको रावण’ भनेपछि पल शाहले दिए कडा प्रतिक्रिया
काठमाडौं । पल शाह र पूजा शर्माले अभिनय गरेको चलचित्र ‘रावायण’ अहिले चर्चामा छ । हिजो ट्रेलर रिलिजपछि चलचित्रलाई लिएर विभिन्न किसिमका प्रतिक्रियाहरू आइरहेका छन् ।
चलचित्रको ट्रेलर हेर्दा मेकिङमा निकै खर्च गरिएको देखिन्छ । तर, चलचित्रको मौलिकतामाथि धेरैले प्रश्न उठाएका छन् । साउथ इन्डियन फिल्महरूको भद्दा कपि गर्न खोजिएको आरोप पनि लागेको छ । सबैलाई बिझाएको चिज चाहिँ पल शाहले लगाएको नक्कली कपाल र दाह्री हो । पलको अनुहारसँग दारी म्याच नगर्दा स्कुलको सांस्कृतिक कार्यक्रममा विद्यार्थीले टाँसेको जस्तो देखिएको छ । खैर, चलचित्र हेर्दा दर्शकले कसरी लिनेछन्, त्यो पछि नै थाहा हुन्छ ।
रावायण टीमले हिजो ट्रेलर रिलिजपूर्व सामाखुसीमा एक प्रेस मिटको आयोजना गरेको थियो । चलचित्रका निर्देशक सुदर्शन थापा, अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माले पत्रकारहरूसँग साक्षात्कार गरेका थिए ।
यस क्रममा उनीहरूले केही कडा प्रश्नहरूको सामना गर्नुपर्यो । खासगरी पल शाहलाई एक महिला पत्रकारले पल शाहलाई प्रश्न गरिन् । शान्त रूपमा बोलिरहेका पल उनको प्रश्नबाट तनावमा खाए । के प्रश्न थियो त्यो ?
निशा बजगाईँ नाम गरेकी युट्यूबरले सामाजिक सञ्जालमा आएको प्रतिक्रियाको हवाला दिँदै सोधेकी थिइन्, ‘रामायणमा स्त्रीको कारणले असल व्यक्ति पनि खराब हुन पुगे भन्ने चर्चा छ । तपाईँलाई धेरै दर्शकले वास्तविक जीवनको रावण भनेर कमेन्ट गरिरहेका छन् । तपाईँ आफूलाई रावण मान्नु हुन्छ कि मान्नुहुन्न ?’
प्रश्न सुनेर पलको अनुहारमा ग्रहण लाग्यो । यद्यपि, उनले आवेशमा नआईकन चतुरतापूर्वक प्रश्नको प्रतिवाद गरे ।
पलले आक्रोश लुकाउँदै प्रश्नकर्तालाई भने, ‘कसले त्यस्तो कमेन्ट लेखेको छ पहिला मलाई देखाउनुस्, अनि कुरा गर्छु । आउनुस् अहिले नै देखाउनुस् । पढौँ न पहिला । यत्तिकै त तपाईँले दश वटा कुरा पनि गर्न सक्नुहुन्छ । तपाईँको मनको कुरा हो कि अरूको कुरा हो, त्यो हेरौँ न पहिला ।’
महिला पत्रकारले कमेन्ट देखाउन सकिनन् । बरु विषयान्तर गर्दै अर्को प्रश्न फ्याँकिन् ।
प्रेस मिटमा पल शाहले लगाएको दारीको गुणस्तरमाथि पनि प्रश्न उठ्यो । यसको प्रतिवाद निर्देशक थापाले गरे ।
उनले भने, ‘मैले पनि कमेन्टहरूमा देखिरहेको थिएँ । हामीले पल शाहलाई यस्तो दारी र कपालमा देखेका छैनौँ । हामीलाई थाहा छ कि पल शाहको त्यस्तो दारी छैन । मान्छेको दिमागमा सेट भएकाले यस्तो कुरा आएको हो । दारीको लुक्स बनाउन धेरै मिहिनेत गरेका छौँ । तर कसैले रत्नपार्कबाट ल्याएर हालेको भनेका छन् । यदि ‘भोला’ भन्ने फिल्ममा अजय देवगणले रत्नपार्कको हालेको हो भने पल शाहले पनि रत्नपार्ककै हालेको हो ।’